जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ ।
सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहारलगायतका गतिविधि भएको तथा सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एव शान्ति भङ्ग हुने स्थिती देखिएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिएका छन् ।
जिल्लाको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु आदेश जारी भएको हो । उक्त चार किल्ला सीमाभित्र कसैले भेला हुन सभा समारोह गर्न, जुलुस तथा र्याली गर्न र हिँडडुल गर्न समेत नपाइने गरी निषेधाज्ञा जारी भएको प्रजिअ आर्चायले जानकारी दिनुभयो । ओमकार परिवार र हिन्दु समाजलगायतका सङ्घ, संस्थाले आज नै नेपालगञ्जमा सदभाव र्याली निकालेका थिए । सो आदेशको उल्लङ्घन भए कानूनअनुसार कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।
सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जवराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम अपिल गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले बाँकेको नेपालगञ्जमा ‘कर्फ्यू’ लागिरहेको भन्दै त्यस्ता घटना तत्कालै नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद जवराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग गरे । उनले भने, ‘नेपालगञ्जमा दुई समुदायबीच हिंसा फैलिएको छ । यो सबै कुराको जड मोबाइल हो । चाहे मधेस प्रदेश होस् वा विभिन्न भागमा भएका घटना हुन् । त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गरिनुपर्छ ।’
नेपालगञ्जलाई सद्भावको शहर बनाउन लागिपरेको भन्दै सांसद जवराले सहरमा शान्तिसुरक्षा र सदभाव कायम राख्न संयम भएर लाग्न नेपालगञ्जवासीलाई अनुरोध गरे ।
प्रतिक्रिया