नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइट बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री दाहाललाई भेट्न अल्ब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दुईजनाबीच नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयामबारे छलफल भएको थियो । त्यस्तै एमसीसी परियोजनाबारे पनि दुईजनाबीच छलफल भएको छ ।
नेपाल भ्रमणमा रहनुभएकी सीईओ अल्ब्राइटले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो । एमसीसी परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अल्ब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौँ आइपुगेको हो ।
नेपाल र एमसीसीबिच २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौता संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीस्थित अमेरिकी विदेशमन्त्रालयमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशले हस्ताक्षर गर्नुभएको थियो। यस कार्यक्रम अन्तरगत विद्युत् प्रशारण लाइन निर्माण तथा सडक मर्मतसम्भारसम्बन्धी दुईवटा आयोजना रहेका छन् ।
प्रतिक्रिया