राष्ट्रियसभा सदस्य निर्वाचन मध्यमाघमा, सङ्घ र प्रदेशका वैशाखमा

राष्ट्रियसभा सदस्य निर्वाचन मध्यमाघमा, सङ्घ र प्रदेशका वैशाखमा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यको निर्वाचन आगामी मध्य माघमा गर्ने तयारी गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार आगामी माघ १० देखि १५ गतेभित्र निर्वाचन गर्न आयोगले सबै तयारी गरिरहेको छ ।

राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल पूरा गरेर रिक्त हुने ती पदमा निर्वाचन हुने भएको हो । यस्तै संघीय संसदमा रिक्त इलाम क्षेत्र नम्बर २ र प्रदेशसभामा सुदूरपश्चिम प्रदेशमा बझाङ १ (क) छन् । इलामका संघीय सांसद सुभाषचन्द्र नेम्बाङ र बझाङको प्रदेश सांसद पृथ्वीबहादुर सिंहको निधनपछि ती स्थान रिक्त भएका हुन् ।

स्थानीय तहामा भने १९ पद रिक्त छन् । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष र दोलखाको गौरीशंकर पालिकाका उपाध्यक्षको निधनपछि ती स्थान रिक्त भएका हुन् । यस्तै देशभर १७ वटा वडामा वडाअध्यक्ष छैनन् । मृत्युका कारण रिक्त रहेका ती स्थानमा पनि संघीय र प्रदेश सांसदको निर्वाचनकै समयमा चुनाव गराउने तयारी छ ।

संघ र प्रदेश सांसद रिक्त हुँदा प्रतिनिधिविहीन अवस्था हुन्छ । पालिकाहरूमा भने निमित्त दिनेअवस्थाले कार्यसम्पादनमा असर पर्दैन । प्रमुख रिक्त रहे उपप्रमुखले र वडा अध्यक्ष रिक्त रहे वडा सदस्यले कार्यवहाक भएर काम गर्न सक्नाले कार्य वा सेवा प्रवाहमा असर नपर्ने प्रमुख आयुक्त थपलियाले घटना र विचारलाई बताए । प्रमुख आयुक्त थपलिया भन्छन्, ‘आयोग रिक्त रहेका सबै पदमा समयमै निर्वाचन गराउन तयारीमा जुटेको छ ।’