नेपालगञ्जमा भएको झडपमा तीन सुरक्षाकर्मीसहित १३ जना घाइते

नेपालगञ्जमा भएको झडपमा तीन सुरक्षाकर्मीसहित १३ जना घाइते


बाँकेको नेपालगञ्जमा जारी निषेधाज्ञाका क्रममा मंगलबार केही स्थानमा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । उनीहरुको विभिन्न स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्नका लागि जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी प्रभावकारी एवं समन्वयात्मक रुपमा परिचालन भएको जनाएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाका क्रममा सुरक्षाकर्मीबाट सामान्य बल प्रयोग भएको जनाउँदै स्थिति नियन्त्रणमा रहेको उल्लेख गरेको छ ।

अहिलेको परिस्थितिमा जिल्लाका सबै राजनीतिक दल, नागरिक समाजलगायत आम नागरिकबाट सामाजिक सदभाव र शान्ति कायम गर्न महत्वपूर्ण भूमिकाको स्थानीय प्रसासनले अपेक्षा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐनको दफा ६ (२)बमोजिम नेपाली सेनाको सहयोग लिएको जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।