- नारद कोहार, तौलिहवा
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र सत्ता छोड्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले यस्तो धारणा राखेका हुन् ।
कोइरालाले वर्तमान सरकार रहिरहे सबै रुपमा राष्ट्र कमजोर हुने बताएका छन् । नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकार रहिरहे मुलुक थप बर्बादीतर्फ जाने उनको तर्क छ ।
कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य रहेको उल्लेख गर्दै भने, ‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ ।’
वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र सत्ता छोड्नैपर्ने चेतावनी उनले दिए । चर्को महँगीले जनताको चुलो नबल्ने अवस्थामा सिर्जना भएको परिवेशमा जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्नु राम्रो संकेत नभएको कोइरालाले बताए ।
यस्तै, गठबन्धनको सरकारले सोचेजस्तो काम गर्न नसकेको नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले बताए । अगामी निर्वाचनमा कांग्रेस कसैको बैशाखी ठेकेर होइन एक्लै लड्ने हिम्मत राख्नुपर्ने उनको सुझाव छ ।
प्रतिक्रिया