चट्याङसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा २० शोधपत्रमाथि छलफल

चट्याङसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा २० शोधपत्रमाथि छलफल

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौँ, नेपालमा जारी विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ ।

सम्मेलनमा कूल ४४ वटा शोधपत्र प्रस्तुत हुँदैछन् भने विदेशी विज्ञहरुले १२ वटा शोधपत्र प्रस्तुत गर्नुभएको चट्याङविद् प्रा.डा श्रीराम शर्माले बताउनुभयो । आज बिहिबार जलवायु परिवर्तन र यसले पारेको असरका साथै त्यसबाट उत्पन्न हुने चट्याङलगायत विपद्जन्य परिस्थिति र चट्याङबाट हुने क्षति न्युनिकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुत शोधपत्रमाथि छलफल भएको पनि उहाँको भनाइ थियो ।यस्तै चट्याङको पूर्वसूचना प्रणालीका विषयसमेतमा प्रस्तुत सोधपत्रमाथि पनि छलफल भएको छ ।

यही १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल भइरहेको छ । मुख्यगरी यो सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा शर्माले जानकारी दिनुभयो ।

चट्याङका दृष्टिकोणले नेपाल उच्च जोखिमयुक्त मुलकुमा पर्छ । अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो जोखिमयुक्त मुलुकमा पर्ने पनि उहाँले बताउनुभयो । औषत वार्षिक १०० जनाले चट्याङमा ज्यान गुमाउने र ३०० भन्दा बढी घाइते हुने गरेको पाइन्छ ।

बुधबार सम्मेलन उद्घाटन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले चट्याङजस्तो जटिल विषयमा नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिकको सहभागितामा सम्मेलन हुुनु महत्वपूर्ण भएको बताउनुभएको थियो । सम्मेलन सफलताका लागि कामना गर्दै उहाँले मन्त्रालयबाट हुने आवश्यक साथ सहयोग र योजना निर्माणलाई प्राथमिकता दिइने पनि उल्लेख गर्नुुभयो ।

हिजोदेखि सुरु भएको तीन दिने सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत देशका विज्ञहरुको सहभागिता रहेको छ ।ललितपुरको पुल्चोकमा जारी सम्मेलनमा करिब १०० प्रतिनिधिको सहभागिता छ ।