पशुपतिनाथमा घोटाला नै घोटाला !

पशुपतिनाथमा घोटाला नै घोटाला !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

पशुपति क्षेत्र विकास कोष भ्रष्टाचारको अखडा बनेको समाचार प्राप्त भइरहेका छन् । केहीअघि पशुपति मन्दिरको जलहरी बनाउँदा १ किलो ४ सय ९१ ग्राम ७ सय १८ मिलिग्राम सुन हराएको थियो । यो प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेर तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल, तत्कालीन कोषाध्यक्ष डा. मिलनकुमार थापा, तत्कालीन स्टोरकिपर अरुणकुमार श्रेष्ठ र हालका सदस्य सचिव डा. मिलनकुमार पाठकविरुद मुद्धा दर्ता गरिसकेको छ । हालका सदस्य सचिव पाठक निलम्बित छन् । हराएको सुनको हालको बजार मूल्य १ करोड १७ लाख रुपैयाँभन्दा बढी हुन्छ ।

केहीअघि पशुपति मन्दिरमा रहेको दानपेटिका २ घण्टासम्म गायब भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोषका कर्मचारीको कडा सुरक्षाबीच दानपेटिका गायव हुनु अचम्म नै हो । यो प्रकरणमा हल्ला चलेपछि कोषले छानबिन समिति बनायो । समितिले प्रतिवेदन पनि दियो । तर, त्यो अहिलेसम्म सार्वजनिक नभएको कोषकै कर्मचारीहरू बताउँछन् ।

पछिल्लो समय मन्दिरमा चढाएको दान र सुनको हिसावकिताव नै छैन । कर्मचारीहरूका अनुसार केही माडवारी व्यापारीले किलोका किलो सुन चढाएका छन्, तर त्यो सुन कहाँ छ, पत्तो छैन । आमा बुबा गुमाएका ठूला ब्यापारीले पशुपतिमा सुन र चाँदी ठूलोमात्रामा चढाउने गरेका छन् । तर, त्यसरी चढाएको सुन र चाँदीको कुनै रेकर्ड नभएको कोषका एक उच्च कर्मचारीले घटना र विचारलाई बताए । ती कर्मचारीका अनुसार पशुपतिमा विभिन्न शीर्षकमा वर्षेनी करोडौं रुपैंयाँ घोटाला हुने गरेको छ ।

‘सुरक्षामा खटिएका प्रहरी र सशस्त्र तथा मन्दिरभित्र काम गर्ने तल्लो तहका कर्मचारीलाई हातमा लिएपछि दान पेटिकादेखि चढाएका सुन, सुनका गरगहना र नगद हराइरहेको छ’- परिषद्कै एक कर्मचारीले भने ।

कर्मचारीहरूका अनुसार भरखरै एक जना मारवाडी ब्यापारीले एक किलो सुन चढाएका थिए, त्यो सुन कहाँ छ, पत्तो छैन । सुन, चाँदीमात्र होइन, नगदमा पनि ठूलो अनियमितता त्यहाँ छ । डिजिटल दान दिएको भने रेकर्ड रहने तर पशुपतिमा चढाएको नगदको कुनै हिसाव हुन्न । ‘२–४ रुपैयाँ हिसाव देखाएर लाखौं भ्रष्टाचार हुने गरेको छ’- कोषका कर्मचारीहरू भन्छन् । राजनीतिक दलका नेता र पर्यटन मन्त्रीहरूलाई ठूलो रकम बुझाएर राजनीतिक नियुक्ति लिने परम्पराकै कारण पशुपतिमा अनियमितताको जग बसेको हो । यो परम्परा तोड्न सदस्य सचिव, कोषाध्यक्ष र सदस्यमा खुल्ला प्रतिस्पर्धाको मार्ग अपनाउनु एकमात्र बिकल्प भएको पशुपति मन्दिर परिषरमा व्यापार गर्ने एक युवाले बताए ।

यहाँ दाहसंस्कार शुल्क, किरियापुत्री बस्ने कोठा भाडा, सटर भाडा, गाडी पार्किङसमेतका शुल्कमा अनियमितता भइरहेकोले छानविन गर्नुको बिकल्प नभएको कर्मचारीहरू नै माग गर्दै आएका छन् ।

पशुपति क्षेत्रभित्र गाडी पार्किङका लागि दिएको मासिक ३ लाख ४६ हजार रुपैयाँ ठेक्काको रकम करिव ४० लाख रुपैयाँ तत्व इन्भेष्टमेण्ट प्रालिले बुझाएको छैन । यो रकम उठ्नेमा कर्मचारीहरू नै शंका गर्न थालेका छन् । कोषले तत्वसित भएको पार्किङ सम्झौता रद्ध गरिसकेको छ । अहिले भने त्यहाँ गाडी पार्क गर्दा शुल्क तिर्नु पर्दैन ।