स्वास्थ्य परीक्षणसम्बन्धी सेवामा मनलाग्दी लिएको गुनासो बढेपछि…

स्वास्थ्य परीक्षणसम्बन्धी सेवामा मनलाग्दी लिएको गुनासो बढेपछि…

घ.वि. सम्वाददाता
0
Shares

नयाँ सवारी चालक अनुमतिपत्र, नवीकरण तथा वर्ग थप गर्ने प्रयोजनका लागि स्वास्थ्य परीक्षणसम्बन्धी सेवा दिन इच्छुक फर्म तथा कम्पनीलाई प्रस्ताव पेश गर्न यातायात व्यवस्था कार्यालय चितवनले आह्वान गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले यातायात कार्यालयको अनुगमन गरेपश्चात् कार्यालयले प्रस्ताव आह्वान गरेको हो ।

निरोगिताको प्रमाणपत्रको ३५० रुपैयाँ लिने गरेको भन्ने सेवाग्राहीको गुनासो आएपछि लामिछाने यातायात कार्यालय पुगेका थिए । उनले यातायात कार्यालयका प्रमुखलाई व्यवसायीले मनलाग्दी शुल्क असुलेकाले त्यसको नियन्त्रण गर्न आग्रह गरेका थिए ।

कार्यालयले प्रतिस्पर्धाको माध्यमबाट स्वास्थ्य परीक्षणसम्बन्धी सेवा उपलब्ध गराउन प्रस्ताव आह्वान गरेको छ । स्वास्थ्य परीक्षण गरेबापत सेवाग्राहीसँग लिने शुल्क स्पष्ट खुलाइ असोज २८ गते दिउँसो १२ बजेभित्र प्रस्ताव पेश गर्न कार्यालयले सूचना जारी गरेको छ । सोहि दिन दिउँसो २ बजे प्रस्ताव खुलाइने कार्यालयले जनाएको छ ।

देशका अन्य यातायात कार्यालयमा स्वास्थ्य परीक्षण गरेको १५० रुपैयाँ लिने गरेकोमा चितवनका व्यवसायीले ब्रह्मलुट गरिरहेको खबर पाएपछि लामिछाने असोज १० गते यातायात कार्यालय पुगेका थिए । त्यसपश्चात् कार्यालयले असोज १४ गते १५ दिने सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो ।