चाडपर्वको समय नजिकिँदै गर्दा बजारमा बढेको महङ्गी र कालोबजारीलाई नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले सभामुखमार्फत बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
बजारमा व्याप्त महङ्गी नियन्त्रणका लागि सांसद रघुजी पन्तले ध्यानाकर्षण गर्नुभयो ।उहाँले गरिबको दसैँ यसपालि कसरी टर्छ भन्नेमा सबैलाई पीर परेको बताउनुभयो । उहाँले खल्तीमा तलब हालेर हिँड्दा बजारमा चामलको बोराको भाउ तीन हजार, रहर दाल किलोको दुई सय ५०, चिनीको आकाशिदो भाउसंगै कालाबजारीले गरेको कृतिम अभावका कुरा सुन्दा जोसुकैको पनि होसहवास उड्न थालेको बताउनुभयो।
चाडपर्वमा हुने कालोबजारी र महङ्गीको अनुगमन र मूल्याङकनमा तदारुकता देखाउन सांसद भगवती चौधरीले ध्यानाकर्षण गराउनुभयो । उहाँले मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांस्कृतिक पर्वहरु नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन सांसद माधव सापकोटाले माग गर्नुभयो । उहाँले बाढीपहिरोले बिग्रेको सडकको विस्तार मर्मतसम्भार गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले निर्माण व्यवसायीलाई बाँकी रहेको भुक्तानी तत्काल गर्न बताउनुभयो ।
सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले धार्मिक र सामुदायिक सद्भावलाई कायम गर्न अनुरोध गर्दै पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणको अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन माग गर्नुभयो ।
सांसद मेनुका पोखरेलले महङ्गी नियन्त्रणका लागि आग्रह गर्दै विभिन्न बहानामा विश्वविद्यालय बन्द गर्न नहुने बताउनुभयो । सांसदहरु मैना कार्की, लेखनाथ दाहाल र रञ्जुकुमारी झाले बजार अनुगमनसँगै सुरक्षित, सहज र सस्तो यात्राको व्यवस्था गर्नसमेत माग गर्नुभयो ।
प्रतिक्रिया