सरकारद्वारा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध, आतङ्कवादी हमलाको निन्दा

सरकारद्वारा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध, आतङ्कवादी हमलाको निन्दा


नेपाल सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार आतङ्कवादी आक्रमणमा नेपाली पनि परेका छन् ।

आक्रमणमा परेका नौ जना नेपालीमध्ये दुई जनाको अवस्था गम्भीर छ । यससम्बन्धी थप विवरण अद्यावधिक गरिने मन्त्रालयले जनाएको छ ।

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ ।

इजरायलको वर्तमान स्थितिलाई दृष्टिगन गरी त्यहाँ सहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरशः पालन गर्न सरकारले अनुरोध गरेको छ ।

इजरायलस्थित नेपाली दूतावासको सम्पर्क विवरण पनि सरकारले उपलव्ध गराएको छ ।

टेलीफोन : +९७२(०)३५१६८०८५

राजदूत कान्ता रिजाल : ९७२५४५८६४४२३
प्रथम सचिव अर्जुन घिमिरे : +९७२५४५८६४४२३

इमेल : [email protected]