काठमाडौँसहित ३३२ स्थानिय तहले बिजुली महसुल नतिरेपछि….

काठमाडौँसहित ३३२ स्थानिय तहले बिजुली महसुल नतिरेपछि….

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौँ, नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने स्थानीय सरकारलाई ४५ दिनको समय दिएको छ । प्राधिकरणले सूचना प्रकाशन गर्दै सडकका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन समय दिएको हो । जस्मा ६ महानगरपालिकासहित देशभरका ३३२ स्थानीय तह रहेका छन् ।

सूचना अनुसार काठमाडौं महानगरपालिकाको मात्रै १ अर्ब ३१ करोड ६२ लाख ९८ हजार ७७२ रूपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ।जसमा काठमाडौं महानगरपालिकाको बालाजु वितरण केन्द्रमा ३९ लाख २० हजार ९०२, वानेश्वर वितरण केन्द्रमा ४५ करोड ४२ लाख २८ हजार ६९, रत्नपार्क वितरण केन्द्रमा ८५ करोड ८१ लाख ४९ हजार ८०१ रूपैयाँ बक्यौता छ।

यस्तै, सूचनामा उल्लेख भए अनुसार ललितपुर महानगरपालिकाले २४ करोड ४१ लाख ३० हजार ३४७ रूपैयाँ, वीरगञ्ज महानगरपालिकाले १७ करोड २८ लाख ६९ हजार ४६५ रूपैयाँ, पोखरा महानगरले १३ करोड ३५ लाख १४ जार ७१२ रूपैयाँ , भरतपुर महानगरपालिकाले १० करोड ६२ लाख ४१ हजार ३३० रूपैयाँ र विराटनगर महानगरपालिकाले ८ करोड ६६ लाख ८ हजार ७०७ रूपैयाँ सडक बत्ती प्रयोग गरेबापतको महशुल नबुझाएको प्राधिकरणले जनाएको छ।

यसरी सडक बत्तीका लागि विद्युत् प्रयोगवापत ती स्थानीय तहबाट कुल ६ अर्ब ८ करोड ९४ लाख ३११ रूपैयाँ उठ्न बाँकी छ। यो रकम गत आर्थिक वर्षको बक्यौता रहेको प्राधिकरणले जनाएको छ। तर, तोकिएको समयसीमाभित्र बक्यौता महशुल नबुझाए नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल संकलन विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ।