- सुरेन्द्र सुवेदी, काठमाडौं
पछिल्लो समय देशमा सुन तस्करी मौलाइरहेको छ । यसको मुख्य कारणको खोजी गर्दा सरकारले लिने कर नै तस्करीको मुख्य कारण देखिन्छ । एक किलो सुनमा ८५ दशमलव ७३ तोला हुन्छ । सरकारले प्रतिकिलो १५ प्रतिशतले सुनमा कर लिँदै आएको छ । जसकै कारण सुन तस्करी मौलाएको जानकारहरू बताउँछन् ।
हाल सुन प्रतितोला एक लाख सात हजार रुपैयाँ र चाँदी एक हजार ९ रुपैयाँ हाराहारीमा किनबेच भइरहेको छ । ‘सुनमा एक किलोमा १४ लाख रुपैयाँ कर तिर्नुपर्दा तस्करी मौलाइरहेको हो ।’ नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भने, ‘करको दायरा कम गरेमा तस्करी केहीमात्रामा घट्छ ।’
सरकारले कर समायोजन गरेर ५ प्रतिशत हाराहारीमा ल्याउन सकेमा वैधानिक बाटो भएर सुन आयात हुने बाग्लुङका युवा व्यवसायी धन मगरको बुझाइ छ । उनी करको दायरा कम गर्दा वैधानिक बाटो भएर सुन आयात बढ्ने र त्यसले राजश्व वृद्धि हुँदा समग्रमा राजश्व संकलन समान हुने बताउँछन् ।
सरकारले अहिले नेपाल राष्ट्र बैंकमार्फत सुन वितरण गर्दै आएको छ । दैनिक २० किलो सुन राष्ट्र बैंकले बाणिज्य बैंकहरूलाई वितरण गर्छ । यो कोटा भदौसम्म दैनिक १० किलोमात्र थियो । जसले पनि तस्करीमा सहजता ल्याएको पाइन्छ । ‘मागअनुसार उपलब्ध हुन नसकेपछि तस्करी स्वभावैले बढ्ने महासंघका अध्यक्ष शाक्यले घटना र विचारलाई बताए ।
देशमा हालको आर्थिक मन्दीका कारण अहिले दैनिक २० किलो हाराहारीमा सुन खपत हुने गरेको छ । दशैँ, तिहार, छठजस्ता चाडपर्व र विवाहको सिजन मंसिर, माघ, फागुन र बैशाख महिनामा सुनको माग उच्च हुन्छ । त्यो समयमा दैनिक ४० किलोसम्म सुन खपत हुने व्यवसायीहरू बताउँछन् ।
सुृन तस्करीको अर्काे कारण नेपालको चीन र भारतसित भएको खुला सीमा पनि हो । उत्तरी चीनबाट नेपालका संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोला, रसुवाको रसुवागढी नाका, सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अवैध रुपमा सुन नेपाल भित्रन्छ । यीबाहेकका जंगलको बाटो हुँदै पनि तस्करहरूले स्थानीयलाई भरिया बनाएर सुन नेपाल भित्र्याउने गरेका छन् । दोलखाबाट केहीअघि ११ किलो सुन नाकाबाहिरका भूभागबाट नेपाल भित्रिएको र त्यो सुन बरामद भइसकेको छ ।
खुला सीमामा सुरक्षा संयन्त्र चुुस्त नहुनु, सुरक्षामा खटिने सुरक्षाकर्मी र भन्सारका कर्मचारी दक्ष नहुनुले पनि सुन तस्करलाई सहज हुने गरेको छ । खुला सीमामा तारबार वा पर्खाल लगाउनु र भारत-नेपाल आवतजावत गर्दा राहदानी अनिवार्य बनाउन सकेमा तस्करीलाई न्युनिकरण गर्न सकिने महासंघको दाबी छ । ‘आवतजावत खुला भएकोले पनि तस्करलाई सहज भएको हाम्रो बुझाइ हो’, महासंघ अध्यक्ष शाक्यले भने ।
सरकारले सुनबाट वार्षिक १० अर्ब रुपैयाँ बढी राजश्व संकलन गर्दै आएको छ । यति ठूलो मात्रामा राजश्व संकलन गरेपनि सुन आयातमा सहजता नअपनाउँदा तत्काल तस्करी न्यूनिकरण हुने अवस्था देखिन्न ।
प्रतिक्रिया