आतङ्कवादी समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ, एक जनाको अवस्था अझै अज्ञात रहेको तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले आक्रमणमा ज्यान गुमाएकाहरुको शव व्यवस्थापनबारे इजरायल सरकारका सम्बद्ध अधिकारीहरुसँग छलफल गरिरहेको र नेपाल ल्याउने सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ ।
हमासको आक्रमणमा परी कैलालीको घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी-६ का गणेशकुमार नेपाली कैलालीको बौनिया-३ का आशिष चौधरी, दार्चुलाको लेखम-५ का दीपेशराज विष्ट, सोही जिल्लाको मल्लिकार्जुन-४ का लोकेन्द्रसिंह धाँमीको मृत्यु भएको दूतावासले पुष्टि गरेको छ ।
त्यसैगरी धनुषाको सपही–६ का आनन्द साह, सुनसरीको मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटीको पाञ्चाली-३ का राजन फुलारा तथा सोही जिल्लाको लमिखाल-८ का पद्म थापा, सल्यानको शारदा-३ का प्रवेश भण्डारीको मृत्यु भएको छ ।
नेपाली दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका छ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का विपीन जोशी हराइरहेका छन् ।
- रासस
प्रतिक्रिया