मैत्रिय सहकारी सोह्रौँ वर्षमा

मैत्रिय सहकारी सोह्रौँ वर्षमा


मैत्रिय बचत तथा ऋण सहकारी संस्था लि. १६औँ वर्षमा प्रवेश गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा रहेको यो संस्था सहकारीको ऐन-नियम एवम् वित्तिय अनुशासनमा रही सदस्यहरूलाई सेवा प्रदान गर्ने कार्यका लागि जिल्लाकै उत्कृष्ट सहकारीमध्येको एकको रूपमा सुपरिचित छ ।

संस्थाको सोह्रौँ वार्षिक साधारणसभाको प्रमुख अतिथिका रूपमा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक एवम् नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का पूर्वअध्यक्ष डीबी बस्नेतले पछिल्लो वर्ष सहकारीका लागि विषम परिस्थितिको समय भएको उल्लेख गर्नुभयो । देशभरका करिव पैंतिस-चालिस हजार सहकारीमध्ये करिव तीन सय सहकारी सक्रिय हुन नसकी समस्यामा परेको जानकारी दिँदै उहाँले अत्तलिएर बचतकर्ताहरू एकसाथ रकम फिर्ता माग्न आएमा कुनै पनि बैंक तथा वित्तिय संस्थाले रकम प्रदान गर्न नसक्ने तथ्य मनन गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । लाइन लागेर बचतकर्ताले रकम माग्दैमा त्यो सहकारी समस्यामा परेको भन्न नमिल्ने उहाँको तर्क थियो ।

समारोहलाई सम्बोधन गर्दै मैत्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले सदस्यहरूको आर्थिक सशक्तिकरणको लागि शेयर सदस्यहरूले देखाउनुभएको विश्वास र अपनत्वलाई सदैव आत्मसात गर्दै सहकारी संस्थाहरूबीचको अस्वस्थ प्रतिष्पर्धाबाट टाढै रही मितव्ययिता, पारदर्शिता, कानुनको पालना र संस्थागत सुशासनको लागि प्रतिबद्ध रहेको बताउनुभयो । संस्थाले छिट्टै डिजिटल प्रविधि अवलम्बन गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो ।

सफलतापूर्वक पन्ध्र वर्ष पूरा गरी सोह्रौँ वर्ष प्रवेश गरेकोमा मैत्रिय संस्थालाई शुभकामना दिँदै सूर्यविनायक नपा सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठ, स्थानीय मेरिगोल्ड स्कुलका संस्थापक अध्यक्ष एवम् सहकारी संस्थाका सल्लाहकार उद्धव सिलवाल, रा.वा. बैंकका कानुन अधिकृत सानुभाइ खड्काले आ-आफ्नो मन्तव्य दिनुभयो भने संस्थाका उपाध्यक्ष कुवेर श्रेष्ठले स्वागत मन्तव्य दिनुभयो ।

यसैगरी संस्थाका सचिव सुमन सिलवालद्वारा आ.व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष दिवाकर सिलवालले शेयर सदस्यहरू समक्ष आ.व. २०७९/०८० को वार्षिक वित्तिय प्रतिवेदन पेस गर्नुभयो । कार्यक्रमको सञ्चालन राजेन्द्र पराजुलीले गर्नुभएको थियो ।

करिव चौध सय शेयर सदस्यहरू रहेको सो संस्थाले वार्षिक साधारणसभाको अवसरमा जेष्ठ सदस्य, नियमित बचतकर्ता, बालबचत, दैनिक बचत र असल ऋणी शीर्षकमा सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।

संस्थाले निर्वाचनको सर्वसम्मत विधि अपनाइ आगामी नेतृत्वको लागि अध्यक्षमा बालमुकुन्द उपाध्याय, सचिवमा सुमन सिलवाल, कोषाध्यक्षमा दिवाकर सिलवाल र सञ्चालक सदस्यहरूमा हरिबोल न्यौपाने, आरती केसी र नवीन उप्रेतीलाई चयन गरेको छ । यस्तै, लेखा समितिमा भाइकाजी खत्रीको संयोजकत्वमा सविन सिलवाल र शुक्रवीर जोशी सदस्य रहेको लेखा समिति पनि गठन गरिएको छ ।

१६औँ वार्षिक साधारणसभाकै अवसर पारेर मैत्रिय सहकारी र नेपाल रेडक्रस सोसाइटी बालकोटको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।