लामो दूरी यात्राको पीडा : जीर्ण सडक र झन्झटिलो सुरक्षा जाँच

लामो दूरी यात्राको पीडा : जीर्ण सडक र झन्झटिलो सुरक्षा जाँच


  • सुरेन्द्र सुवेदी, काठमाडौं

आजबाट लामो दूरीका सवारीसाधनमा अग्रिम बुकिङ खुला भएको छ । राजधानीबाट दशैं, तिहार र छठ पर्व मान्न घर फर्कनेहरू बस, मिनीबस, हाइस र सुमो गाडीको अग्रिम बुकिङ पर्खेर बसिरहेका थिए ।

यातायात व्यवस्था विभाग र राष्ट्रिय यातायात व्यवसायी महासंघको ढिलाइका कारण यस वर्ष अग्रिम बुकिङ एकसाता पछि धकेलिएको छ । विगत वर्षमा सोह्रश्राद्ध नलाग्दै अग्रिम बुकिङ खुला हुन्थ्यो ।

यो वर्ष करिव १६ लाख जनाले चाडपर्व मान्न राजधानी छोड्ने आँकलन छ । ३, ४ र ६ पाङग्रे गाडीमा लामो यात्रामा जानेहरूका लागि करिव ३ लाख ५० हजार सवारी साधन प्रयोग हुने महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताए । उनका अनुसार गत वर्ष करिव १३ लाख जनामात्र चाडपर्व मान्न घर फर्किएका थिए ।

यातायात व्यवसायीका अनुसार वर्षातले र लामो समय मर्मत नगरेर जीर्ण बनेका सडक यस वर्षको चाडपर्वको समयमा पनि मर्मत नभए यातायात सञ्चालन कठिन हुनेछ । सरकारले समयमै सडक मर्मत गर्नुपर्ने उनीहरुको माग छ । महासंघका उपाध्यक्ष सिटौला सरकारले चाहेको खण्डमा दशैंअघि नै खाल्डाखुल्डी भएका, पहिरो खसेका, खोलाले असर पुऱ्याएका सडक मर्मत गर्न सकिन्छ, तर त्यसतर्फ सरोकारवाला निकायले ध्यान दिइहाल्नुपर्छ ।

प्रहरीले गौडागौडामा चेकिङका नाममा यातायात व्यवासायी, कर्मचारी र यात्रुहरुलाई अनावश्यक दुःख दिने गरेको छ । ‘चेकिङका नाममा अनावश्यक दुः ख दिनु हुँदैन, यसतर्फ पनि सरकारको ध्यान जानु जरुरी छ’- उपाध्यक्ष सिटौलाले घटना र विचारलाई भने ।

राजधानीको महानगरीय प्रहरी र ट्राफिक प्रहरीले यात्रुको सहजताका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा ११ वटा नागरिक सहायता कक्ष सञ्चालन गर्दैछ । राजधानीबाट सवारी साधन बाहिरिने नाका कोटेश्वर, बल्खु, गौशाला, नयाँ बसपार्क, थानकोटसमेतका स्थानमा सहायता कक्ष राखिने ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र भट्टले जानकारी दिए । उनका अनुसार लामो दूरीमा यात्रा गर्ने सर्वसाधारणका लागि टिकट दर, सवारी साधन छुट्ने समयदेखि यात्रुलाई आवश्यक सबै जानकारी सहायता कक्षबाट पाउन सकिन्छ ।

कालो बजारीका लागि अग्रिम टिकट लिएर बढी रुपैयाँ लिएर बिक्री गर्ने, टिकट लुकाएर सर्वसाधारणलाई नदिने र महँगोमा बेच्नेदेखि यातायात सञ्चालनमा नियमविपरीत काम गर्ने सबैलाई कानुनको दायरामा ल्याउने महानगरीय प्रहरीका अधिकारीहरु बताउँछन् ।

यातायात व्यवसायीहरू राजधानीबाट छुटेका गाडी जिल्ला सदरमुकामसम्म पुग्ने र त्यहाँबाट स्थानीय गाडीमा घर पुग्नु पर्ने यात्रीहरु ग्रामीण सडकहरु जीर्ण भएकोले थप समस्यामा पर्ने गरेको बताउँछन् । जिल्लाका ग्रामीण सडकहरु पनि तत्काल मर्मत संभार गर्न उनीहरुले यातायात व्यवस्था विभागसित माग गरिहेका छन् । तर, वर्षातमा बगेका, पुरेका र खाल्डाखुल्डी भएका स्थानीय सडक तत्काल मर्मत हुने अवस्था भने देखिन्न ।