विदेश पलायन रोक्न मौरीपालन उपयुक्त विकल्प : मौरीपालक किसान बराल

विदेश पलायन रोक्न मौरीपालन उपयुक्त विकल्प : मौरीपालक किसान बराल

घ.वि. सम्वाददाता
0
Shares

गण्डकी, पोखरा महानगरपालिका–३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरुका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । जीवनको साढे दुई दशक मौरीपालन व्यवसायमा खर्चिनुभएका उहाँको मौरीपालन व्यवसायले अरुमा समेत प्रेरणा जगाउन थाल्नुभएको हो । लामो समयको मौरीपालन अनुभवले खारिनुभएका उहाँ मौरीपालनबाट राम्रो आम्दानीसँगै अहिले विभिन्न ठाउँमा पुगेर तालिम समेत प्रदान गर्न थाल्नुभएको छ ।

यतिबेला पोखरा आसपासका क्षेत्रमा मौरीपालन तालिम दिन साकुरा एपियारी फार्मका सञ्चालक बराललाई भ्याइनभ्याइ छ । तालिमका लागि विभिन्न स्थानहरुबाट माग भएकाले उहाँले हालसम्ममा धेरै ठाउँमा तालिम दिएको बताउनुभयो ।

बरालको फर्ममा हाल एक सयभन्दा बढी मौरीका घार छन् ।उहाँ जिल्ला मौरीपालक महासङ्घका अध्यक्षसमेत रहनुभएको छ । उहाँले मौरीपालनबाट वार्षिक रु १० लाखसम्म आम्दानी गरेको बताउनुभयो।

उहाँले सुरुवातमा दुईवटा घारबाट मौरीपालन सुरु गर्नुभएको थियो भने हालसम्म विभिन्न तालिम लिएर घारको संख्या पनि वृद्धि गर्दै गएको बताउनुभयो ।आफूले विगतमा लिएको तालिमबाट सिकेको ज्ञान, सीप तथा मौरीपालनको अनुभवका आधारमा यतिबेला तालिम दिन सक्षम समेत भएको उहाँको भनाई छ। उहाँलाई कास्की, स्याङ्जा, तनहुँलगायतका स्थानबाट तालिमका लागि निम्तो आउने गरेको छ ।

बरालका अनुसार फार्ममा उत्पादित महप्रति केजी रु एक हजार आठ सयसम्म बिक्री हुन्छ । यहाँ उत्पादित महका लागि बजारको कुनै समस्या नभएको उहाँको भनाइ छ । तर बाहिरबाट आयात हुने कम गुणस्तरको महका कारण बजारलाई प्रभावित बनाउने गरेको उहाँको अनुभव छ ।

मौरीपालनमा मौसमी व्यवस्थापनको ठूलो महत्व हुने बताउँदै उहाँले वर्षा, जाडो र गर्मी मौसमअनुसार घारको व्यवस्थापनलाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मौरीको भित्री भागमा कीरा लाग्ने सम्भावना हुने बताउँदै बरालले बाहिरी रुपमा सत्रु कीराले पनि आक्रमण गर्ने भएकोले त्यसलाई ध्यान दिनुपर्ने बताउनुभयो । मौरीलाई अरिङ्गाल, माउसुली, पहेँले, माकुरा, वन साङ्लोआदिबाट जोगाउन चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।

मौरीको सङ्ख्या बढाउनका लागि किसान सचेत बन्नुपर्ने उल्लेख गर्दै उहाँले सुरुमा सात वटा फ्रेमभरी सकेपछि सुपर कक्ष राख्न सकिने र छाउरा कक्ष भरेपछि सुपरकक्षमा मह उत्पादन हुने बताउनुभयो । भाले, कर्मी र रानी मौरी सबैका आ–आफ्ना भूमिका रहेको उहाँको भनाइ छ । मौरी विभिन्न बाली, फलफूलका लागि पनि उपयोगी हुने बताउँदै उहाँले मौरीले गर्ने परागशेचनले बाली उत्पादनमा समेत वृद्धि हुने जानकारी दिनुभयो । जङ्लमा फूल्ने फूलबाट औषधीय गुण भएका रस मौरीले सङ्कलन गर्ने र यसबाट उत्पादन पनि बढ्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वन जङ्गलबाट आर्थिक लाभ लिनका लागि पनि मौरीपालन आवश्यक छ, मौरीबिना वन जङ्गलमा उत्पादित पुष्परस सङ्कलन गर्ने कुनै अर्को उपयुक्त विधि र प्रविधि देखिन्न ।”

बरालले एपि सेरेना जातको मौरीपालन गरिरहनुभएको छ । समुद्री सतहको आठ सयदेखि अधिकतम तीन हजार मिटरको उचाइमा पनि मौरीपालनको व्यावसायिक खेती गर्न सकिने उहाँको भनाइ छ । बढ्दो बेरोजगारीसँगै भइरहेको विदेश पलायनलाई रोक्नका लागि मौरीपालन उपयुक्त विकल्प हुनसक्ने बरालले बताउनुभयो ।

“मोरीपालन स्वरोजगार बन्नका लागि पनि उपयुक्त विकल्प हो, कम्तीमा ५० वटा मौरीका घारबाट व्यवसाय सञ्चालन गर्न सके मासिक रु ४० देखि ५० हजारसम्म आम्दानीका लागि भौतारिनुपर्दैन”, उहाँले भन्नुुभयो ।

सहरीभन्दा पनि ग्रामीण क्षेत्र मौरीपालनका लागि उपयुक्त हुने बताउँदै उहाँले यसले गाउँबाट सहरतर्फ भइरहेको बसाइँसराइ रोक्न पनि योगदान गर्न सक्ने धारणा राख्नुुभयो ।

पोखरामा वार्षिक ९० टन मह उत्पादन हुने गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाको भनाइ छ । उहाँका अनुसार महानगरपालिकाभित्रका वडा नं १६, २०, २८ र ३० लाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ । महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा वडा नं १६ मा मौरीसहितका एक सय ९२ वटा घार वितरण गरेको छ भने वडा नं २० मा मौरीसहितका एक सय ८५ घार वितरण गरेको छ ।

महानगरपालिकाले वडा नं २८ मा मौरी सहितका दुई सय ५० घार र वडा नं ३० मा मौरीसहित एक सय ८३ घार वितरण गरेको उहाँले बताउनुुभयो । उहाँका अनुुसार व्यक्तिगत रुपमा एक दुुई घार राख्नेको सङ्ख्या पनि पोखरा महानगरभित्र ठूलो छ । मौरीपालन तोरी, फापरजस्ता कृषिजन्य उत्पादनका लागि पनि उपयोगी हुने बताउँदै उहाँले मौरीपालन गरेका स्थानमा १० देखि १५ प्रतिशत बढी उत्पादन पाइएको उहाँको भनाइ छ ।