उच्च पहाडमा टिम्मुर खेती मौलाउँदै, मूल्य किलोकै हजार रुपैयाँ

उच्च पहाडमा टिम्मुर खेती मौलाउँदै, मूल्य किलोकै हजार रुपैयाँ


  • सुरेन्द्र सुवेदी

पाँचथर जिल्लाको फिदिम-३ का धनबहादुर गुरुङले यो सिजनमा सिलटिम्मुर बिक्री गरेर करिव ४० हजार रुपैयाँ आय गरे । उनले व्यवसायिक रुपमा टिम्मुर रोप्दै आएका छन् । आफ्नो जग्गामा रैथाने रुपमा उम्रिएको सिलटिम्मुरले उनलाई वर्षेनी नगद हात परिरहेको छ ।

धनबहादुरजस्तै स्थानीय गंगाबहादुर र गंगादेवी राईले ३५ किलो उत्पादन गरेका छन् । सिता मुखियाले १० किलो फलाइन् । यसमा उनीहरुको ठूलो मिहेनत छैन ।

आफ्नो जग्गामा रैथाने रुपमा उम्रने र फल्ने गरेको यो टिम्मुर पाँचथरको उच्च पहाडी क्षेत्रका बासिन्दाको नगद आर्जनको राम्रो माध्यम बनेको सिलौटी साना किसान कृषि सहकारी संस्था फिदिम-३ का प्रवन्धक महेन्द्र लुइँटेलले बताए । उनका अनुसार फिदिम-३, ८, १३, १४ वडाका सुम्निमा, सिलौटी, साधुटार, तमाखे, फेजुङसमेतका गाउँमा व्यवसायिक रुपमा टिम्मुर उत्पादन भइरहेको छ ।

यो सहकारीले पाँचथरमा मात्र करिव ४ सय किलो टिम्मुर संकलन गरेको छ । संकलन र बजारिकरण गर्दै आएको सहकारीले ५ प्रतिशत रकम लिएर टिम्मुर बिक्रीमा सहयोग गरिरहेको सहकारीका अध्यक्ष गंगाबहादुर राईले बताए ।

टिम्मुर खरिद गर्न काठमाडौंदेखि व्यापारी आउने गरेका छन् । यहाँ प्रतिकिलो एक हजार रुपैयाँमा खरिद गरेर लाने ब्यापारीहरूले काठमाडौं पुऱ्याएपछि प्रतिकिलो २ हजार रुपैयाँमा बिक्री गर्छन् ।

सिलटिम्मुर उच्च क्षेत्रमा उत्पादन हुन्छ भने तल्लो क्षेत्रमा बोकेटिम्मुर उत्पादन गरिन्छ । टिम्मुरबाट राम्रो आय हुने भएपछि तल्लो क्षेत्रका किसान पनि बोकेटिम्मुर रोप्न थालेका छन् । जिल्ला वन कार्यालयका अनुसार वन कार्यालयले उत्पादन गरेको बोके टिम्मुर फिदिम नगरपालिकाको तल्लो क्षेत्रका किसानले लगेर रोपिरहेका छन् । करिव ५ सय बोकेटिम्मुरका बिरुवा वन कार्यालयको नर्सरीबाट वितरण गरिसकेको कार्यालयका अधिकृत लीला बिष्टले बताए । बोकेटिम्मुर भने यहीँ किलोको २ हजारदेखि ३ हजार रुपैयाँमा बिक्री हुन्छ ।