बुद्धि हुनेलाई माटोकै व्यापार

बुद्धि हुनेलाई माटोकै व्यापार


  • सुरेन्द्र सुवेदी, पाँचथर

सदरमुकाम फिदिम बजारबाट वर्षेनी करोडबढीको रातोमाटो किनबेच हुने गरेको छ । फिदिम-१ र २ का चारखम्बे र तुम्देन चोकमा संकलन गरेको रातोमाटो घर लिपपोत गर्न किनबेच भइरहेको हो । दैनिक करिव १ सय बोरा माटो बिक्री हुने ब्यापारीहरुको भनाइ छ । दशैं तिहारजस्ता पर्वका बेला त बिक्री ह्वात्तै बढ्छ ।

२५ किलोको बोरामा भरेको माटो १ सय रुपैयाँ दरमा बिक्री हुनेगरेको उशा लावतीले बताइन् । उनका अनुसार माटो संकलन गर्नेलाई प्रतिबोरा २५ रुपैयाँ दिने गरिन्छ । खालि बोरा २० रुपैयाँमा खरिद गर्ने र माटो भरेपछि प्रतिबोरा ५५ रुपैयाँ फाइदा हुने व्यापारी विरेन्द्र जबेगुले बताए ।

यहाँ संकलन गरेको माटो झापा, इलाम र ताप्लेजुसम्म पुग्ने गरेको छ । प्रायः दशैं र तिहारको समयमा माटो बढी बिक्छ । फिदिमको पहिचान नै रातो माटो हो । । माटो व्यापारी कृष्ण खवासका अनुसार घर घडेरी सम्याउँदा निस्कने माटोलाई ढुंगाहरु छानेर बोरामा भर्दै बिक्रीका लागि राखिन्छ । ताप्लेजु र उच्च पहाडमा रातोमाटो कम पाइन्छ । त्यही भएर फिदिम आवतजावत गर्नेहरु यहीँदेखि माटो लिएर घर फर्कन्छन् ।

घर लिपपोत गर्दा इनामेलको पनि प्रयोग गरिन्छ, तर इनामेल महंगो हुनाले मध्यमस्तरसम्मका परिवार रातोमाटो कै प्रयोग गरेर घरमा रंगरोकन गर्छन् । भदौदेखि कात्तिकसम्म माटोको कारोबार अधिक हुन्छ । चाडपर्वको समयमा घरमा चुना, इनामेल लगाउने चलन छ । यही समयमा माटोको खपत बढी हुने लावतीले बताइन् । चारखम्बे र तुम्देन चोकमा वर्षभरि नै माटो किनबेच भइरहन्छ ।

जसबाट ५–७ परिवारको गुजारा चलेको छ भने माटो संकलन गरेर दर्जनबढीले रोजगार पाइरहेका छन् । केही जग्गावालाले माटो बिक्री पनि गर्छन् । बोराको हिसाब र स्थानविशेषको मूल्य तोकेर एक वर्षसम्म बिक्री गर्दैआएका छन् ।