आकासियो जिराको मूल्य,महङ्गो बन्दै नेपालीको भान्छा

आकासियो जिराको मूल्य,महङ्गो बन्दै नेपालीको भान्छा

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौँ, बजारमा जिराको मूल्यमा एक वर्षको अवधिमा तेब्बर दरले वृद्धि भएको छ । गतवर्ष मात्र प्रतिकेजी ४५० रुपैयाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपैयाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ ।

भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने मसला हो । विगत छ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव आम उपभोक्तालाई पर्न गएको हो। भारतमा नै जिराको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको थोक बिक्रेता सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताउनुभयो ।

उहाँले भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने गरेको बताउनुभयो । उहाँले नेपालमा जीरा खेती नहुने र अन्य मुलुकबाट आयात गर्दा त्यस मुलुकमा भएको मुल्यको आधारमा नेपालमा मूल्य समायोजन हुने हुँदा प्रत्यक्ष असरपर्ने बताउनुभयो । नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र आठ प्रतिशत टर्कीबाट, बाँकी दुई प्रतिशत कतार र बेल्जियमबाट आयात हुने उहाँको भनाई छ। नेपाल जिरामा भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालीको भान्छामा पर्ने उहाँको भनाइ छ ।

स्वादका लागि मसलाका रूपमा प्रयोग गरिने जिराको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगो हुँदै गएको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला खपत पनि धेरै हुने गर्दछ । भारतमा उत्पादन कम हुँदा मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।

हाल बजार माग धान्न चीनबाट समेत जिरा आउन थालेको व्यवसायीको भनाइ छ । टर्की र इरानबाट समेत जिरा आउने गरेको छ । जिरा उत्पादनमा भारत पहिलो मुलुक हो, विश्वबजारमा जिराको मूल्य अत्यधिक बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ ।

व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा विभिन्न मुलुकबाट नेपालमा ४८ करोड ५६ लाख ५० हजार रुपियाँ बराबरको जिरा आयात भएको छ । मुलुकमा जिरा उत्पादन गर्न सक्ने सम्भावना भए पनि स्थानीय उत्पादन नहुँदा आयातमै भर पर्नु परेको छ ।