- सुरेन्द्र सुवेदी, काठमाडौं
यस वर्षको वर्षातमा १ सय १० जनाको मृत्यु भएको छ भने ३० जना अझै बेपत्ता छन् । बेपत्ताहरू फेला पर्ने सम्भावना अति न्यून छ । चट्याङ, बाढी-पहिरोले अर्बाैं रुपैयाँ क्षति पुगिसकेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिए पनि अन्य पाँच प्रदेशबाट बाहिरिएको छैन, जसले थप क्षति हुनसक्ने आँकलन प्राधिकरणको छ ।
प्राधिकरणका प्रवक्ता उपसचिव ध्रुवबहादुर खड्काका अनुसार चट्याङबाट २९, पहिरोमा परेर ४५, बाढीले बगाएर १६, भारी वर्षाले २, सर्पदंश १८ जनाको ज्यान गएको हो, जसमा महिलाको संख्या अधिक छ । महिला ६६ जना र पुरुष ४४ जना छन् । वर्षातकै कारण १ सय ८४ जना घाइते भएको प्रवक्ता खड्काले बताए ।
गत जेठदेखि असोज तेश्रो सातासम्ममा ६ हजार १ सय ६२ परिवार प्रभावित भएका छन् । ९ सय ७१ घर भत्केका र ५ सय ६२ वटा चौपाय मरेका छन् । प्राधिकरणले संकलन गरेको क्षतिअनुसार करिव ३३ करोड ६० लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ ।
ताप्लेजु पाँचथरको तमोर र हेवाखोलामा आएको बाढीले तमोर करिडोरमा पर्ने ३ पुल बगाएको छ भने डुम्रे बेशीसहर चामे सडक खण्डमा ठूलो क्षति पुगेको छ । २९ वटा राजमार्गका २ सय ९६ स्थान, खानेपानीका २८ वटा मुहान र ट्यांकीमा करिव १ अर्ब रुपैयाँ क्षति भएको प्रवक्ता खड्काले घटना र विचारलाई जानकारी दिए ।
निर्माणाधीन ३ सय २७ मेगावाट विद्युतका संरचना ध्वस्त भए भने सञ्चालनमा रहेका ३३ मेगावाट विजुलीका पावरहाउस, पाइपलाइनमा क्षति पुगेको छ । साना जलविद्युततर्फ १ मेगावाट ५ सय किलोवाट क्षमताका ३१ वटा आयोजनामा बाढी र पहिरोले क्षति गरेको प्राधिकरण जनाउँछ ।
वर्षात अझै केही समय रहने मौसमविद्हरुले अनुमान गरिरहेकोले थप क्षति हुने भन्दै सजग रहन प्राधिकरणले आह्वान गरेको छ । विगतमा असोज १५ तिर मनसुन रोकिने गर्दथ्यो । यो वर्ष सदाको जस्तो नभएर एक साता बितिसक्दा पनि मनसुन सक्रिय नै छ । केही वर्षअघि मनसुन काक्ति २ गतेसम्म सक्रिय रहेको थियो । यो वर्ष पनि त्यस्तो हुन सक्ने आंकलन गरिएको छ । किनकि ५ प्रदेशबाट मनसुन बाहिरिएको छैन । मौसमविद्हरू आगामी दशैँको समयमा पनि वर्षात् हुने अनुमान गरिरहेका छन् ।
प्रतिक्रिया