चाडपर्व लक्षित गरेर सशस्त्र प्रहरी बलले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको छ ।
भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको हो । स्वास्थ्य कक्ष भारततर्फ ३० र चीनतर्फ ३ स्थानमा राखिएको छ ।
दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा आपत विपदमा परेका नागरिकको उद्वार कार्यमा सहयोग पुऱ्याउन दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

चाडपर्व लक्षित सहायता १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी मातहत २५, २ नम्बर बाहिनी छिन्नमस्ता मुख्यालय महोत्तरी मातहत ५३, ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत २, ४ नम्बर मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत २, र ५ नम्बर विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत १९ वटा कक्ष राखिएको छ । यस्तै ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत १ र ७ नम्बर बाहिनी बैद्यनाथ मुख्यालय कैलाली मातहत २० स्थानमा कक्ष स्थापना गरिएको हो ।
चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाटजस्ता घटना हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको सशस्त्रले जनाएको छ । सीमा नाकाबाट आवतजावत गर्ने क्रममा कुनैपनि नागरिकमा स्वास्थ्य समस्या देखिएमा हेल्थ डेस्कमा उपलब्ध श्रोत साधनको प्रयोग गरी स्वास्थयकर्मीले निःशुल्क उपचार गर्ने छन् ।
प्रतिक्रिया