परिवर्तनले रित्तिएका गाउँघर

परिवर्तनले रित्तिएका गाउँघर


सरकारको यहीँ नीति र बाहिरिने नेपालीको यस्तै स्थित रहे आगामी दिनमा तराई र शहरको बस्ती पनि गाउँका युवा, नरनारीविहीन बस्तीजस्तै हुने निश्चितप्रायः नै छ ।
✍ काशी पौडेल ‘आयुष’

प्रभातकालिन मिर्मिरेमा जन्मस्थलको यात्रामा निस्किएको म नारायणघाट हुँदै बागलुङको गन्तव्य पछ्याउँदै अनवरत थोत्रा गाडीमा सवार हुँदा शारीरिक रूपमा असहजता भएपनि मन-मस्तिष्कमा भने छुट्टै आनन्दको अनुभूति हुँदै थियो । सडक किनाराका कंक्रिटले भरिएको घर (शहर)को चेपबाट देखिने लहलही झुल्ने धानका फाँट अनि, हरियाली वनजंगलले ढाकेका डाँडापाँखा, झरना र घाँसे मैदानको दृश्यले माथिङ्गलमा नयाँ उमङ्ग प्रवाह गरेको झैँ लाग्थ्यो । आहा ! मेरो मातृभूमि संसारकै उत्कृष्ट छ । हरेक ऋतुमा वातानुकुलित मौसम सायदै अरु मुलुकमा रहने मानवले अवलोकन, उपयोग गर्न पाउँछन् ।

यी तमाम कुरालाई मनमा खेलाउँदै, मस्तिष्कमा उर्जा भर्दै, जन्मस्थलको निम्ता स्विकार्दै यात्री बनेको छु भन्ने, लाग्यो । भरतपुर, नारायणघाट (चितवन), गोर्खा, तनहुँ, कास्की, पर्वतका मानव निर्मित गाउँबस्ती, शहरका गल्ली नियाल्दै सुन्दर प्रकृति छटाको अनुभूति बटुल्दै बागलुङको शेरासम्मको यात्रा गर्दा छुट्टै उमङ्ग, आनन्दसहित कठिन, वियोगको पनि संगम मिलेको थियो । जसै म आफ्नो जन्मगाउँ पुगेँ- आफन्त, छिमेकीको स्नेही स्पर्शमा खुशी हुनुभन्दा पनि वैदेशिक रोजगारले रित्तिएका घर, नयाँ सपना बुनेर परदेशिएकाले युवाविहीन समाज, सुख खोज्न शहर छिरेको कारण बाझिएको जमिन, अनि चेतनाको ढक्कन नखुलेको जनप्रतिनिधिको विकासे लहडले भिरालो जमिनमा डोजर उधिन्दा भू-क्षयले राताम्मे भएका डाँडापाखा देख्दा मन खिन्न र भावविभोरले रसाएका मेरा ओसिला आँखा र दुखित मन, थकित मस्तिष्कमा बेचैनीका तरङ्ग सम्हालेर सामाजिक परिवेशविहीन वासस्थानमा विश्राम लिनुको विकल्प थिएन ।

सिंगो पालिकामा फाट्टफुट्ट जनहरू भेटिँदा, सयौँको संख्यामा नरनारिरहित घरमा माकुरोको जालोले घेरिएका बन्द ढोका ! झार-झाडिले ढाकिएका आँगन र भत्केको छानाले यो राज्यको ब्यवस्थालाई कुरुप बनाएको थिए । नागरिक ठगेर आफ्नो पेट पाल्ने खेती गर्ने जनप्रतिनिधिलाई कुरिकुरी गरेको भान हुन्थ्यो । सामाजिक परिवेशलाई नियाल्दा जन्म, न्वारान, पास्नी, विवाह, जस्ता कार्यमा सघाउने आफन्त भेटिँदैन भने मृत्युमा घाटसम्म पुग्ने आफ्ना आफन्त र गाउँले भेटिँदैन । सुखसयलका निम्ति नेपाली रंगीन संसारमा हराउँदै जाँदा बुढेसकालमा साहाराविहीन प्रौढ र अभिभावकविहीन सन्ततिले कस्तो भविष्यको निर्माण गर्लान् ? आफ्ना नागरिकलाई गाउँ (स्वदेश)मा रोक्न नसक्ने, आर्थिक उन्नति, शिक्षा, स्वास्थ, कृषिमा नवीनतम विकास गर्न नसक्ने जनप्रतिनिधिले कस्तो राजनीतिक परिवेश खडा गर्लान् ?? के खोक्रा भाषण ठोक्ने विदेशी मिसनका किताबका वाक्य नारा घोकाउने र जनतालाई मानसिक दास बनाउने उनीहरूको नियति हो ?? के आफ्ना सन्ततिलाई विदेशी भूमिमा स्थापित गर्दै राज्य दोहन गर्ने र जनतामारा नीति अवलम्बन गर्ने राजनीति गर्नु नै अग्रगमन परिवर्तन हो ?? यस्तै अनुरत्तरित प्रश्न आफूले आफैलाई सोधेर घोत्लिनुको विकल्प रहेन ।

खासगरी नेपालमा बसाइँसराइको आँकडा केलाउदा विभिन्न कालखण्डमा जनसंख्यामा वृद्धि र घटबढ हुने गरेको देखिन्छ । इस्टइन्डिया कम्पनीले नेपाली जंगल कटानी गर्दै इण्डियन रेल्वेको पटरी बनाउने कार्य गर्दा इन्डियनहरूलाई नेपालको तराईमा कामदारको रुपमा भित्राएका थिए । ती कामदार कालन्तरमा यहीँ नेपाली भूमिमा बसोबास गरेको पाइन्छ । त्यस्तै कुनै कालखण्डमा तिब्बत चीन युद्ध हुदा पनि कयौँ तिब्बतीहरू आफ्नी देश छाडेर नेपाली भूमिमा स्थापित भएको थिए । यी त भए विदेशी भूमिबाट आएको प्रतिनिधि घटना । तर विस्तृतमा भन्नुपर्दा नेपालको आफ्नै राष्ट्रिय नीतिअनुसार जनसंख्या थपघट र बसाइँसराइ बढेको थियो । जस्तै, २००७ सालको प्रजातान्त्रिक ब्यवस्था, २०१५/१७ को औलो नियन्त्रण कार्यक्रम, महेन्द्रको भुमिसुधार नीति २०२१ सालको ब्यवस्था साथै २०३६ सालको राजनीतिक घटना २०४६/४७ सालको परिवर्तन २०५२ साल देखि ६२ सालसम्म चलेको द्वन्द्वलगायत शान्तिप्रक्रिया हुँदै हाल सम्मका घटनालाई ग्रहण गर्नुपर्ने हुन्छ ।

यावत कुराले बसाइँसराइको गोरेटो खनेपनि गाउँ नै रित्तो हुनेगरी बसाइँसराइ गर्ने प्रवृत्ति भने बहुदलीय ब्यवस्थाले निम्त्याएको माओवादी द्वन्द्व नै मुख्य जड हो भनेर सबैलाई स्वीकार्न कर लाग्छ । तथापि सबै दोष अरुलाई थोपर्ने र जनता उम्कने कदम कदापि स्वीकार छैन । जनताको काम नगरी खाने अल्छिपना युवा जमातले वैदेशिक रोजगारमा जाने र उन्का जहान केटाकेटी आधुनिक शिक्षाको निम्ति शहर भासिएर उतै हराउने नविनतम धन्दाले पनि गाउँ रित्तै बनाउनमा उत्तिकै भूमिका खेलेको छ ।

गाउँ नै रित्तिने परिवर्तन, द्वन्द्वको बिजारोपण विदेशी हिफाजतको लागि नेपालीद्वारा नेपालीकै उठिबास लगाउनको निम्ति गरिएको थियो भन्ने मेरो मान्यता छ । किनकि भारतीय प्रणव मुखर्जी, रन्जित रे र अमर भुषण लगायत युरोपेली युनियनका पदाधिकारी र अमेरिकी ऱ्याण्डीबेरीहरूले नै विभिन्न पुस्तकमार्फत वा प्रत्यक्ष परोक्ष रुपमा खुलस्त परेर गणतन्त्रका हिमायतीलाई नाङ्गै बनाइएको दृष्टान्त हामीमाझ छर्लङ्ग छ । विभिन्न देशमा रहेको बहुराष्ट्रिय कम्पनीको कामदार परिपुर्ति गर्ने (अधिकरूपमा खाडी र मलेसिया) नेताका आफन्तले खोलेका म्यानपावर कम्पनी र पहुँचवालाहरूले खोलेका कन्सल्टेन्सी जो बिदेशी कलेजसँग कमिसन लिएर उच्च शिक्षाको लागि नेपाली विद्यार्थी विदेश पठाउने खेती गर्छन् । यी उल्लेखित तथ्यांक र विवरणलाई केलाउँदा यो देशमा जतिसुकै परिवर्तनका रेखा कोरेपनि १२बुँदे दिल्ली सम्झौता इन्डोपश्चिमा दस्तावेजलाई स्विकार्दै संविधान निर्माण गर्ने नेताका चर्का नारा देश र जनताको हितमा कदापि देखिँदैन ।

यदि राज्यको नीति देश र जनताको हितमै हुन्थ्यो भने, तीन तहको सरकारी निकायले पहाडी, भिरालो जग्गाको कृषिमा बृहत जनसहभागितामुलुक फलफूल, जडिबुटी दैनिक उपभोग्य बस्तुमा सामुहिक खेती, घरेलुु साना उद्योग, साना जलविद्युतमा लगानी गर्न प्रशिक्षण साथै लगानीको सुरक्षा प्रतिबद्धता देखाउने थियो । पालिका हुँदै जिल्ला प्रदेशका समथर स्थल हुँदै तराईको फाँटमा सामुदायिक चक्लाबन्दी गर्दै सिंचाइको सुविधाजनक बहुबालीयुक्त खेतीको योजना बनाउन सक्नुपर्थ्यो । किसान कृषिजन्य बस्तुमा सहुलियत र उत्पादन गरेको वस्तुको बजारीकरणको सहज प्रबन्ध वा ग्रहण गर्न सक्ने वातावरणको सुनिश्चितता गर्थ्यो । नेपालका नदीमा ठुला जलाशययुक्त विद्युत् परियोजना बनाउँदै स्थानीय जनतालाई साझेदारी बनाएर हजारौँ कोलोवाट विद्युत उत्पादन गर्न सकिन्थ्यो ती परियोजना सरकारले आफ्नो प्राथमिकतामा राख्दैन ।

विदेशी भूमिमा पढ्न जाने विद्यार्थीलाई रोक्न जडिबुटी खेती र आयुर्वेदिक औषधिको उत्पादन, विभिन्न कलकारखानामा लगानी गर्दै रोजगारी सुनिश्चित गर्न सक्नुपर्छ, तर यो राज्य भएको कलकारखाना वैद्यखाना नै बन्द गरेर परिवर्तन ल्याउने अनि त्यसैलाई अग्रगामी छलाङ मारेको भन्दै कटवाली गर्दैछ । सरकारको यहीँ नीति र बाहिरिने नेपालीको यस्तै स्थित रहे आगामी दिनमा तराई र शहरको बस्ती पनि गाउँका युवा, नरनारीविहीन बस्तीजस्तै हुने निश्चितप्रायः नै छ । यही कुराले मलाई झकझकाइरहेको छ । कस्तो देश थियो ? बैरीको मिसन बोकेर परिवर्तनको लहडमा कस्तो बनाइयो ?

जय मातृभूमि !