ट्रमा सेन्टरमा ब्यापक अनियमितता

ट्रमा सेन्टरमा ब्यापक अनियमितता


निजी अस्पतालका सञ्चालक नै प्रमुख रहँदा बढ्यो बेथिति !

✍ सुरेन्द्र सुवेदी, काठमाडौं

देशकै एकमात्र राष्ट्रिय ट्रमा सेन्टरमा ब्यापक घोटाला भइरहेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुुर बस्नेतसँगको मिलेमतोमा सेन्टर प्रमुख डा. बद्री रिजालले अनियमितता गरिरहेका हुन् ।

चिकिसा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको मातहत यो सेन्टरका प्रमुख डा. रिजाल निजी अस्पतालका सञ्चालक पनि हुन् । उनको काठमाडौं सामाखुसीमा अल नेपा अस्पताल छ । निजी अस्पताल सञ्चालकलाई देशकै एकमात्र सेन्टरमा प्रमुख जिम्मेवारी दिनु नै घातक भएको त्यहीका कर्मचारीहरु बताउँछन् ।

सेन्टले आकस्मिक विभाग र ओपिडीमा चोटपटक, सडक दुर्घटना, हाडजोर्नी, नशासम्बन्धीका गम्भीर बिरामीको उपचार गर्छ । तर, त्यस्ता बिरामीलाई बेडअभावको बहाना बनाएर इमर्जेन्सीमा राख्दै अन्ततः निजी अस्पतालमा जान बाध्य बनाउने गरेको एक स्वास्थ्यकर्मीले घटना र विचारलाई बताए । ती कर्मचारीका अनुसार सोर्सफोर्सबाट बेड पाएका बिरामीलाई अप्रेसन नगरी हप्तौँ राख्ने र अप्रेसन गर्दा आवश्यक औजार र उपकरणहरु नभएको भन्दै बाहिरका व्यापारी झिकाएर त्यस्ता सामान महँगोमा बिरामीलाई नै किन्न लगाउने गरिएको छ ।

‘उपचार र अपरेसनका लागि आउने बिरामीलाई ५/७ महिनापछि पालो आउने भन्दै अप्रेसनको २५ देखि ३० हजार र औषधि तथा औजारको ४० देखि ५० हजार रुपैयाँमा बार्गेनिङ गर्ने चलन छ’- स्वास्थ्यकर्मीहरु भन्छन् । बिरामीलाई औषधि खरिद गर्न कमिसन दिने ट्रमा सेन्टरपछाडिको पसलमा पठाउने गरिएको छ ।

डा. रिजालले सेन्टरमा नियुक्ति पाएपछि सेन्टरबाट बिरामी रेफर गर्दै उनकै अस्पतालमा पठाउने गरेका छन् । उनले कार्यालय समयमा पनि आफ्नो अस्पताल गएर बिरामी परीक्षण गर्दै आएका छन् । रोग पत्ता लगाउन प्रयोग हुने किट र अन्य सामान बोलपत्र आहन र सूचिकृत नै नगरी कमिसन पाउने पसलहरुलाई दिने गरिएको छ । बेथिति मौलाएपछि कर्मचारीहरुले प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्यमन्त्री बस्नेतलाई सम्बोधन गरेर उजुरी गरेपनि सुनुवाई भएको छैन ।

स्वास्थ्यमन्त्री बस्नेतको आडमा सबै अनियमितता गरेका प्रमुख डा. रिजालले सेन्टरमा भएका बेथितिको कुरा उठाउने करार र अस्थायी कर्मचारीलाई छानी-छानी कारवाही गरिरहेका छन् । डा. रिजाल र उनको अनियमितता गर्ने टिमलाई कारवाही नहुने देखेपछि कर्मचारीहरु आन्दोलनको तयारीमा जुट्न लागेको एक कर्मचारीले बताए ।

‘वीर’बाट २४० कर्मचारीको अवकास

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले २ सय ४० जना करारका कर्मचारीलाई सामूहिक अवकास दिएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको ठाडो निर्देशनमा कर्मचारीहरुलाई अवकास दिएको हो ।

कोरोनाको समयमा करारमा नियुक्त भएका कर्मचारीहरु बर्खास्तमा परेपछि वीरमा स्वास्थ्यकर्मीको अभाव सुरु भएको छ । विगतमा ६ सय बेड रहेको अस्पतालमा स्तरवृद्धिसँगै हाल ९ सय बेड पुऱ्याइएको छ । ३ सय बढी बेड थप गरेपछि स्वास्थ्यकर्मीको अभाव स्वतः भएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतले विकल्प पनि नदिएर कर्मचारीलाई हटाउन लगाएपछि बिरामीहरुले लामो समय पालो पर्खनु परिहेको छ । ‘स्वास्थ्यमन्त्री बस्नेतले विकल्प हुन्छ, भन्दै करारका कर्मचारी हटाउन निर्देशन दिएपछि बाध्य भएर उनीहरुलाई हटाउनु परेको अस्पताल श्रोत बताउँछ ।