के नेपालको राष्ट्रिय फल ‘ड्रागन फ्रुट’ हो ?

के नेपालको राष्ट्रिय फल ‘ड्रागन फ्रुट’ हो ?


अहिले घरको छत-छतमा ड्रागन फल लगाएको देख्दा लाग्छ- कतै भोलि गएर सरकारले यसैलाई नै राष्ट्रिय फल त घोषणा गर्ने होइन ? चिन्ताको विषय बनेको छ ।
✍ राजेन्द्र खनाल ‘क्षितिज’

ड्रागन फ्रुट (फल)को प्रचार नेपालमा दिन-प्रतिदिन यसरी किन गरिएको होला ? तपाईंं जब सामाजिक संजालभित्र पस्नुहुन्छ, एउटा न एउटा साथीले ‘आज मेरो छतमा पहिलोपल्ट फलेको ड्रागन फल’ भन्दै पोस्टाएको हुन्छ । कसैले मेरोमा त फलभित्र पूरै रातो छ, रातोवाला फलेछ, अनि कसैले सेतो भनेका हुन्छन् । यति खुसी भएर पोस्टाएको हुन्छ, मानौँ संसारै जितेजस्तो ।

अहिले त यो फेसन नै भएको छ, ड्रागन फल छत वा बारीमा फलाएर सामाजिक संजालमा पोस्टाउने । कुनैदिन भन्न बेर छैन यदि कसैको घरमा यो ड्रागन फल नरोपे त उ नेपाली नै होइन भनेर, के बेर !? अझ भन्लान्- कस्तो अहिलेसम्म नरोपेको, रोप्नुस्, गमलामा भइहाल्छ नि ! अब म सोध्न चाहन्छु- के ड्रागन फ्रुट नेपालको राष्ट्रिय फल हो ? तपाईं यो फलको नाम अर्थ्याउन लाग्नुभयो भने, सुन्दै आङ जिरिङ्ग हुन्छ । अथवा ड्रागन भनेको नेपालीमा अर्थ्याउँदा, हेर्दै तर्साउने जस्तो, ठुल्ठूला पखेटा, डरलाग्दो टाउको, नङ्ग्रा र बाहिर निस्केको दाँत, अनि मुखबाट आगो निकाल्ने आदि । अब यस्तो फलको पछाडि किन नेपालीहरू आप्mना रैथाने फलहरूलाई बिर्सेर लागेका होलान् ? जहाँसम्म सम्झना छ, यो फल २०५७ सालमा मात्र नेपाल भित्रिएको हो ।

जगन्नाथ राईले अमेरिकाबाट सायद यसको बिरुवा ल्याउनुभएको हो । २०७० सालबाट मात्र यसको व्यवसायिक खेतीको रूपमा बिस्तार हुँदै गएको हो । यसको उत्पत्ति सेन्ट्रल अमेरिकामा भएको हो भने सबैभन्दा बढी यसको खेती भियतनाममा हुन्छ र, संसारका कुना-कुनामा निर्यात गरिन्छ । यो एउटा क्याक्टस वर्ग वा परिवारको विरुवा हो, त्यसैले अरु क्याक्टस फूलहरू जस्तै फल फल्न अगि यसको फूल पनि राम्रो देखिन्छ । मैले धेरैअघि नेपालमा किन आजसम्म राष्ट्रिय फल छैन, किन सरकारले आजसम्म नेपालको राष्ट्रफल र राष्ट्रिय रुख यो हो भनेर घोषणा गर्न सकेको छैन । के नेपालमा फल र रुख नै छैनन् ? जबकि संसारका प्रायःजसो राष्ट्रहरूले आफ्नो देशको राष्ट्रिय फल र राष्ट्रिय रुख घोषणा गरिसकेका छन् । जस्तै फलको केहि उदाहरण दिँदा, पाकिस्तान र भारतको आँप, श्रीलंका र बंगलादेशको कटहर, जापान र दक्षिण कोरियाको हलुवाबेद, चाइना र न्यूजल्याण्डको किवी, भुटानको स्याउ अनि अन्य देशको पनि आ-आफ्नै राष्ट्रिय फलको रूपमा छन् । तर आजसम्म पनि नेपालको राष्ट्रिय फल घोषणा गरिएको छैन । राष्ट्रिय फलमा अधिक सम्भावना बोकेको लप्सीलाई राष्ट्रिय फल बनाउँ भनेर पनि लागेँ, तर हुन सकेन ।

अरु सम्भावना बोकेका राष्ट्रफलहरूमा सिबकथर्न (डालेचुक), बेल, रुद्राक्ष, अमला वा अरु कूनैपनि हुन सक्छन् । कतै-कतै ऐंसेलुलाई नेपालको राष्ट्रफल लेखेको पनि गुगलमा भेटिन्छ, तर आधिकारिकता छैन । लप्सी (लेटिनमा कोरोस्पोन्डीस अग्जीलरी, अंग्रेजीमा हग प्लम) नेपालमा मात्र पाइने रैथाने फल हो । हिजोआज सुन्छु यो प्रजातिको लप्सी भुटानमा पनि पाइन थाल्यो । हुनसक्छ, नेपालबाट नै यसको बिरुवा भुटान पुग्यो होला कुनै बेला !? तर हाम्रा सरकार र सम्बन्धित निकायको राष्ट्रफल घोषणा गर्नपटि कुनै ध्यान नै गएको देख्दिनँ । वास्तवमा हामीले आफ्नै रिजनमा र सिजनमा हुने फलहरू खाँदा नै स्वस्थकर होइन्छ । अरु बाहिरबाट आयातित फलहरू पनि लगाउन, खान सकिन्छ, तर रैथाने फलहरू सबै बिर्सिएर यसरी लागेको देख्दा अचम्मित छु ।

संसारभर प्रायः चार सिजन (मौसम, ऋतु) भएको पाइन्छ । तर नेपाल एउटा यस्तो देश हो, जहाँ हरेक दुई-दुई महिनामा ऋतु परिवर्तन हुन्छ । पर्यटकहरू प्नि नेपालको यी ६ वटा ऋतु र मौसम देखेर चकित पर्दछन् । वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त र शिशिर- यी ६ वटै ऋतको चक्रिय परिवर्तनले गर्दा विभिन्न किसिमका फलहरू तराईदेखि हिमालसम्म फलाउन सकिन्छ । झापाको केचना सबैभन्दा होचो भाग ६० मिटरदेखि ८८४८.८६ मिटरको सगरमाथासम्मको बीचको वनस्पतीय घेराभित्र के फलाउन सकिँदैन र ? संसारमा पाइने मुख्य १४ किसिमका हावापानीमध्ये नेपालमा ६ किसिमको फराकिलो हिसाबले हावापानी पाइने बर्णन गरिएपनि सुक्ष्मरूपमा हेर्ने हो भने ११ किसिमका हावापानी पाइन्छ । नपाइने हावापानीमा डेजर्ट, मेरिन र कोस्टल मात्र हुन् । हामीकहाँ मरुभूमि छैन र समुन्द्र पनि छैन । हुन त अहिले तराईका कति भागहरू बाढी, र नदी कटानले गर्दा मरुभूमि जस्तै देखिन थालेका छन् । त्यस्तो ठाउँमा बालुवामा हुनसक्ने बालीनालीहरू लगाउन थालिएका छन् ।

यी माथि भनिएका ११ किसिमका हावापानीमा तराईमा मुख्यतः आँप, लिच्ची, केरा, मेवा, अम्बा, भुइँकटहर, कटहर, आरुबखडा, तित्री, हलुवाबेद, फँडिर (जामुन), भोगटे, तरबुजा, खरबुजा, ताडी, सुपारी, नरिवलसमेत लगाउन सकिन्छ । पहाडमा धेरैजसो अमिलो वर्गका फलफल, सुन्तला, कागती, जुनार, भोगटे, हलुवाबेद, नासपाती, ऐंसेलु, काफल, बदामवर्ग आदि । अनि उच्च पहाडमा स्याउ, ओखर, खुर्पानी, डालेचुक, मयलको राम्रो खेति हुन्छ । यी प्रतिनिधि उदाहरणमात्र हुन् । धेरै यस्ता रैथाने फलहरू छन्, जुन हामीबाट ओझेलमा परेका छन् । ओझेलमा परेका र हाम्रा छतमा हुनसक्ने फलहरू प्नि हामीले वास्ता गरेका छैनौँ । ओझेलमा परेका केही रैथाने फलहरू उदाहरण दिँदा जस्तै- बयर, सरिफा, अभारो, अंगेरी, ऐंसेलु, भकिम्लो, विमिरो, पर्रो, चिउरी चुथ्रो, हर्रो, बर्रो, कटुस, खनाउ, मयल, निमारो, पानीअमला, अमला, तिमिलो, घंघारु, बेल, बडहर, रुखटमाटरसमेत छन् । तर थाहा छैन, हामी किन यी सबै फलहरूलाई लत्याएर ड्रागन फलको पछाडि लागेका छौँ । किन हामी किवी, एभोकाडो र स्ट्रबेरीको पछाडि लागेका छौँ ? किवी चाइनाबाट उत्पन्न भएको हो, एभोकाडो हजारौँ वर्ष पहिले मेक्सीको, सेन्ट्रल अमेरिकाबाट उत्पन्न भएको हो, अनि स्ट्रबेरी फ्रान्सबाट । किन हामीले स्थानीय फलहरूलाई बेवास्ता गरिरहेका छौँ । त्यही छतमा ड्रागन फलको सट्टामा ‘हेर.. मैले ऐंसेलु वा अन्य कुनै छतमा हुनसक्ने फल लगाएर फलाएर संरक्षण र सम्वर्द्धन गरेको छु’ किन भन्न नसकेको ? वा बारी हुनेले जे पनि लगाउन सक्छन्, तर किन गरिँदैन, अनि पश्चिमेलीकै पछाडि किन दौडन्छौँ ? कि त्यसो गर्दा सानो होइन्छ ? अनि के ड्रागन, किबी, एभोकाडो फल लगाउँदाचाहिँ पुरस्कार नै पाइने हो ? अहिले घरको छत-छतमा ड्रागन फल लगाएको देख्दा लाग्छ- कतै भोलि गएर सरकारले यसैलाई नै राष्ट्रिय फल त घोषणा गर्ने होइन ? चिन्ताको विषय बनेको छ ।

त्यसैले नेपालमा तराईदेखि मध्य पहाडसम्म पाइने लप्सीलाई ‘राष्ट्रिय फल’ घोषणा गर्न अब ढिला गर्नु हुन्न । यसको उत्पादन, बिस्तार, संरक्षण र प्रवर्द्धन गरी प्रचारप्रसार गरौँ । देश विदेशमा यसबाट बनिने अचार, मिठो क्याण्डी, पिरो क्याण्डी, तितौरा, माडा, जाम, पाउडर आदि परिकारको यथेष्ठ निर्यात गरेर आर्थिक लाभ गरौँ । उद्योगधन्दामा क्रमिक सुधार र विकाश गरेर कृषकहरूलाई सहुलियत दिऔँ । बजारमा यी ड्रागन फल, किवी, स्ट्रबेरी र एभोकाडोको मूल्य सुनेर आम नागरिकले किनेर खाने अवस्था देखिन्न । मान्छेहरूले भनेको सुन्छु- ड्रागन फल, किवी, स्ट्रबेरी, एभोकाडोमा त प्रशस्त भिटामिनहरू पाइन्छ र पोसिलो हुन्छ । अनि के हाम्रा फलफुलचाहिँ बिना भिटामिनयूक्त हन् ? नेपालमा पाइने सबै फलफुलमा प्रचुर मात्रामा भिटामिनहरू पाइन्छ, अझ जङ्गली फलफुलमा त झन् बढी हुन्छ र, रसिलो पनि । डालेचुकको उदाहरण दिनुपर्दा प्रचुर मात्रामा ओमेगा पाइन्छ, र झण्डै १५० बढी तत्व यसमा रहेको हुन्छ । त्यसैले यी पश्चिमेली र आयातित फलहरूको पछि नलागि आप्mनो क्षेत्रमा पाइने, आफ्नै स्वच्छ हावापानीमा हुने र सिजनमा फल्ने फलहरूलाई प्राथमिकता दिउँ, खाउँ, स्वस्थ्य बनौँ । साथै यसको संरक्षण, बिस्तार, देश-विदेशमा प्रचार र प्रवर्द्धन गरौँ । साथै जनमतको आधारमा नेपाल सरकारले चाँडै नेपालको ‘राष्ट्रिय फल’को घोषणा गरोस् ।

(लेखक वातावरणको क्षेत्रमा कार्यरत विज्ञ हुन् ।)