उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंको गोकर्णेश्वरमा पेस्तोल र त्यसमा प्रयोग हुने ७ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । स्थानीय जगडोलमा लुटेरा समूहबाट उक्त हतियार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका लुटेरा समूहको पिछा गर्दैजाँदा प्रहरीलाई नै लुटेराले आक्रमण प्रयास गरेका थिए । प्रहरीले २ राउण्ड गोली चलाएको थियो । जसमा सिन्धुलीको कमलामाई-२ का ३६ वर्षीय अमर घलान घाइते भएका छन् । समूहका सर्लाहीका ३६ वर्षीय सन्त लामा र सिन्धुपाल्चोकका ३० वर्षीय जितेन लामालाई प्रहरीले पक्राउ गरेको छ ।
जगडोलमा लुटेरा समूह आएको सूचना पाएपछि त्यहाँ प्रहरी पुगेको थियो । फरार रहेका समूहका अन्य सदस्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार प्रहरीमाथि आक्रमण प्रयास भएपछि प्रतिरक्षामा गोली चलाउँदा घलान घाइते भएका हुन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । अन्यलाई प्रहरी वृत्त वौद्धमा राखिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया