अझै सात वर्षमा पनि पूरा हुँदैन मध्यपहाडी राजमार्ग

अझै सात वर्षमा पनि पूरा हुँदैन मध्यपहाडी राजमार्ग


सुरेन्द्र सुवेदी, काठमाडौं

राष्ट्रिय गौरवको आयोजना घोषित गरिएको मध्यपहाडी राजमार्ग सरकारी बेवास्ताका कारण अबको सात वर्षमा पनि पूरा नहुने देखिएको छ । सुदूरपूर्वको पाँचथर चेवा भञ्ज्याङदेखि बर्दियाको झुलाघाटसम्म १ हजार ८ सय ७९ किलोमिटर लामो यो लोकमार्ग निर्माणमा सरकारले बजेट कट्टा गरेपछि यो वर्ष करिव ६० किलोमिटरमात्र सडक कालोपत्रे हुने देखिन्छ ।

गत वर्ष ९ अर्ब २२ करोड रुपैयाँ यो लोकमार्गमा विनियोजन भएको थियो । चालु वर्षभने घटाएर ३ अर्ब ९० करोड रुपैयाँमात्र विनियोजन भएकोले करिव ६० किलोमिटरमात्र सडक कालोपत्रे गर्न सकिने लोकमार्गका कर्मचारीहरूको भनाइ छ ।

‘गत वर्ष १ सय ५० किलोमिटर सडक कालोपत्रे गरिएको थियो, यो वर्ष भने मुस्किलले ६० किलोमिटर होला’– एक इन्जिनियरले भने । यो राजमार्गमा हालसम्म भौतिक प्रगति ७३ प्रतिशत र लगानी भने ७७ प्रतिशत भइसकेको राजमार्गका प्रवक्ता इन्जिनियर सुरजहरि अधिकारीले घटना र विचारलाई बताए । प्रवक्ता अधिकारीका अनुसार यो लोकमार्गमा पर्ने १ सय ३७ पक्की पुलमध्ये १ सय २ निर्माण पूरा भएका छन् ।

यो लोकमार्ग भूबनोटका आधारमा त्यति उत्तम छैन, जसकै कारण निरन्तर मर्मत र सम्भार गरिरहनु पर्ने हुन्छ । प्रवक्ता अधिकारीका अनुसार स्थानीय तहले सर्भे र नाप नक्साविना जथाभावी सडक खन्नेक्रमकै कारण लोकमार्गमा बाढी, पहिरोले दैनिकजसो सडक खण्डमा क्षति भइरहेको छ । लोकमार्गमाथिबाट जथाभावी सडक खन्दा वर्षात, बाढी र पहिरोले लोकमार्गमा भेल पस्ने, गेग्य्रान थुप्रने र केही खण्ड भने बगाउने नै गरिरहेको छ । त्यसतर्फ सरोकार निकाय र स्थानीय तहले समयमै ध्यान नदिए लोकमार्गमा थप खर्च बढ्ने देखिन्छ ।

यस्तै, लोकमार्गलाई जोडेर स्थानीय तहका वडा र उपभोक्ता समितिहरुले शाखा सडक निर्माण गर्नेक्रम बढेको छ । यसबाट लोकमार्गमा थप क्षति भइरहेको छ । त्यसरी खनिएका कच्ची सडकबाट भेल, बाढी र गेग्य्रान थुप्रिँदा मर्मत र सभ्भारमा थप खर्च जुटाउनु पर्ने समस्या बढ्दो रहेको छ ।

पूर्व र पश्चिमका झण्डै २ सय १५ वटा बस्ती अर्थात ग्रामीण गाउँ जोड्ने लक्ष्यका साथ यो राजमार्ग निर्माण थालिएको हो । र, सकेसम्म बस्तीहरु जोड्दै जानेक्रममा सडकको दूरी पनि बढी भएको हो । नत्र, यसको समग्र दूरी करिव १ हजार ३ सय किलोमिटर हाराहारी हुने बाग्लुङका युवा धनबहादुर मगरले अनुमान सुनाए ।

यो राजमार्गको फिदिमदेखि बर्दियासम्म १० वटा नमूना शहर निर्माणको योजना पनि छ । भवन निर्माण विभागले जिम्मा लिएको ती शहरको निर्माणका लागि पनि काम भइरहेको लोकमार्गका अधिकारीहरू बताउँछन् ।