काठमाडौँ, राष्ट्रिय राजमार्गमा वर्षाका कारण खाल्डाखुल्डी भएका स्थानमा सडक विभागले खाल्डाखुल्डि पुर्नेलगायतका मर्मत कार्य सुरु गरेको छ ।
विभागले वर्षाका कारण धेरै स्थानका सडकमा खाल्डाखुल्डी भएकामा मर्मत कार्य सुरु गरेको जनाएको छ ।सडक सम्भार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर (सिडिइ) नातिबाबु खड्काले मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको बताउनुभयो । उहाँले साउनबाट नियमित मर्मतका लागि असार महिनामा नै ठेक्का गरेर तयारी अवस्थामा बस्न निर्देशन समेत दिइएको बताउनुभयो ।
विभागले बर्सेनि वर्षा सकिनासाथ मर्मत गर्ने गरेको छ । वर्षा सकिनासाथ र अर्को वर्षा सुरु हुनु पहिले मर्मतको काम बढी हुन्छ । उहाँले वर्षा सकिनासाथ दसैँ पनि पर्ने तर मौसमका हिसाबले पनि वर्षा सकिएपछि मर्मत गर्नु उपयुक्त हुने जानकारी दिनुभयो ।
उहाँले यसवर्षको दसैँ केही ढिला गरी परेको र मर्मतको काम बर्सेनि गर्ने समयमा गर्दा पनि दसैँमा सडक राम्रो अवस्थामा पुग्ने गरेको बताउनुभयो । मर्मतको काम सुरु भइसकेकोले सबैतिर काम भइरहेको रिपोर्ट आइरहेको हुँदा दसैँ अघि सबैतिर भइसक्नेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय राजमार्गमा सडक बोर्डले बजेट व्यवस्थापन गर्ने र सडक विभागअन्तर्गत रहेका ३५ डिभिजनले नियमित मर्मत गर्छन । सोहीअनुसार यो वर्ष पनि असार महिनामै ठेक्का भएको थियो । यो वर्ष बोर्डका लागि सरकारले रकम विनियोजन नगरेका कारणले अहिले बजेटको समस्या रहेको सिनियर डिभिजनल इञ्जिनियर खड्काले बताउनुभयो । कतिपय काममा खर्च तुरुन्त हुने र भुक्तानी तुरुन्त दिनुपर्नेमा पनि पुरानो दायित्व नै सबै भुक्तानी भइनसकेको अवस्थामा काम गर्न केही असहज हुने बताउनुभयो ।
सडक विभागले मातहतका डिभिजन सडक कार्यालयलाई तुरुन्त गर्न निर्देशन दिइएको र कार्ययोजना पनि बनेको थियो । काम सुरु भए पनि भने जस्तो प्रगति भइनसकेको उहाँले बताउनुभयो ।
वर्षाको समयमा देशभरका धेरै सडकमा क्षति भए पनि अहिले ती सबै चालु भइसकेको विभागले जनाएको छ । कतिपय सडकमा ठूलो क्षति रहेकामा तीनमा सडक खुलाइसकिएको र सडक मर्मतको काम गर्दै जाने विभागको योजना रहेको पाइन्छ ।
प्रतिक्रिया