जन्मदिवसकै दिन जापानमा दीपकको प्राणान्त

जन्मदिवसकै दिन जापानमा दीपकको प्राणान्त


  • विशेष प्रतिनिधि, नागोया, (जापान)

तनहुँ दमौलीका दीपककुमार श्रेष्ठको अक्टोबर १२ तारिखका दिन जन्मदिन थियो । बिहानैदेखि शुभकामनाका सन्देशहरु पाइरहेका दीपक अध्ययन र कामले राति अबेरसम्मै व्यस्त थिए ।

पढाइपछि काम गएर बिहीबार राति १० बजे स्कुटरमा नागोया स्टेशन नविक नागोया बिवाजिमामा रहेको कोठातर्फ फर्कंदै थिए । दैवको लेखान्त कसलाई थाहा.., जन्मदिवसकै दिन २२ वर्षका दीपकलाई सडक पार गर्ने क्रममा उनले चलाएको स्कुटरलाई ट्रकले ठक्कर दिँदा जीवन चुँडेर लग्यो ।

जन्मदिनको दिनमा निधन भएका दीपकको दुःखद खबर जसरी नेपालका परिवारलाई बज्रपातसरह भयो, उनीसँगै बस्ने रुम पार्टनरलाई समेत दुःखद सरप्राइज बन्यो । दीपक समयमै घर नआउँदा फोन गरेका उनको साथीको फोन प्रहरीले उठाएर सडक दुर्घटनामा निधन भएको सुनाउँदा उनले नचाहिँदो मजाक गरेको सम्झिएर उल्टै गाली गर्दै फोन राखिदिए । शुक्रबार बिहान पुनः फोन गर्दासमेत उस्तै जवाफ पाएपछि दीपकसँगै बस्दै आएका साथीलाई समेत यो खबर सत्य लागिरहेको छैन ।

घटना राति १० बजेर १० मिनेटमा भएको र उद्दार गरि उपचारको लागि अस्पताल पुर्‍याइएपनि निधन राति १ बजे भएको प्रहरीले बताएको नागोयाबाट दामोदार न्यौपानेले जानकारी दिए ।

सेनमोन गाक्कोउ अध्ययनरत दीपक लसन कोम्बिनीको कामबाट घर फर्कंदै गर्दा दुर्घटना भएको हो । स्कुटरलाई सामान बोक्ने ट्रकले सडकको चोक पार गर्ने क्रममा ठक्कर दिएको थियो ।

हाल दीपकको शव प्रहरी नियन्त्रणमै रहेको छ । नेपालस्थित परिवारले शव नेपाल पठाउन आग्रह गरिरहेकाले जापानमै दाहसंस्कार गर्ने वा नेपाल पठाउने भन्ने विषयमा छलफल भइरहेको न्यौपानेले जानकारी दिएका छन् ।

सडक दुर्घटनामा कसको गगल्ती भएको हो भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।