- सुरेन्द्र सुवेदी, काठमाडौं
सबै नेपालीले राष्ट्रिय परिचयपत्र पाउन अझै तीन वर्ष कुर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आगामी ३ वर्षभित्र सबै नेपालीलाई परिचयपत्र वितरण गर्ने दाबी गरेपनि त्यो सम्भव हुनेमा शंका छ ।
२०७५ सालदेखि परिचयपत्र वितरण गर्न थालेको विभागले यो अवधिसम्म २२ लाख प्रति मात्र छाप्न सफल भएको छ । करिव २ करोड नेपालीलाई वितरण गर्नु पर्ने परिचयपत्र ५ वर्षको अवधिमा २२ लाख प्रतिमात्र छपाइ भएकोले बाँकी १ करोड ७८ लाख प्रति छपाइ हुनेमा शंका व्यक्त भएको हो । ‘५ वर्षमा २२ लाख प्रति छपाइ गर्ने विभागले आगामी ३ वर्षमा १ करोड ७८ लाख प्रति छाप्छ भनेर कसरी विश्वास गर्ने ?’ बागलुङका धनबहादुर मगरले प्रश्न गरे ।
विभागका सूचना अधिकारी उपसचिव नवराज जैसीका अनुसार हालसम्म १ करोड ३० लाख जनाको विवरण संकलन भएको छ । २ लाख नेपालीले परिचयपत्र प्राप्त गरेका छन् भने १० लाख प्रति राजधानीबाहिरका जिल्लामा पठाइएको छ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउने युवायुवतिलाई त्यहीँ फोटो खिचेर विवरण संकलन गरिन्छ ।
विभागले आगामी १ वर्षमा सबै नेपालीको विवरण संकलन गर्ने लक्ष्य राखेको छ । अहिले पनि अफ लाइन विवरण संकलन ७ लाख जनाको भइसकेको छ ।
वैदेशिक रोजगारमा जाने युवाहरू गएको ३/४ वर्षमा मात्र फर्कने भएकोले बनेका केही परिचयपत्रको चाङ विभागमा थन्किएर रहेको सूचना अधिकारी जैसीले घटना र विचारलाई बताए । उनका अनुसार परिचयपत्र पाउन भनसुन, दबाब दिने युवायुवति नै परिचयपत्र बनेपछि लिन नआउँदा बनेका परिचयपत्र राख्न नै समस्या भइरहेको छ ।
सरकारी तथ्याङ्कअनुसार वैदेशिक रोजगार, व्यवसाय र अध्ययन गर्न ५७ लाख नेपाली बिदेशिएका छन् । अवैध मागहुँदै गएकाहरूको अनुमानित संख्या करिव ४० लाख जना रहेको । विदेशिएका नेपालीहरूको यहाँ परिचयपत्र बनेपनि उनीहरू लिन नआउँदा अझै ५/७ वर्षमा पनि सबै नेपालीले परिचयपत्र पाउने अवस्था देखिन्न ।
राष्ट्रिय परिचयपत्रका लागि डिजिटल एप बनाएर सबै विवरण एकीकृत गर्दै पूर्ण विवरण परिचयपत्रबाट नै हेर्न सकिने योजना आवश्यक छ । सामाजिक सुरक्षा भत्ता, पेन्सन, लाइसन्स, जग्गाधनी प्रमाणपूर्जाजस्ता अत्यावस्यक कागजात लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने हो भने सबै नेपालीले परिचयपत्र बनाउन बाध्य हुन्छन् । तर, त्यसो गर्दा विभागले विवरण संकलनदेखि छपाइसम्म गर्न नभ्याउने भएर परिचयपत्र अनिवार्य गर्न नसकेको विभागका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार निकट भविष्यमा परिचयपत्र अनिवार्य भने गरिन्छ नै ।
प्रतिक्रिया