यही हो त हामीले खोजेको गैरआवासीय नेपाली सङ्घ ?

यही हो त हामीले खोजेको गैरआवासीय नेपाली सङ्घ ?


विश्वभर रहेका ७० लाख नेपालीको प्रतिनिधित्व गर्ने संस्था आज सीमित पार्टीको भातृसङ्गठन बन्ने अवस्था आउँदा भविष्यका पिँढीले यसलाई कसरी अपनाउलान् भन्ने चिन्ता एकातर्फ छ भने सङ्घमा क्षेत्रगत रूपमा नेतृत्व गर्ने प्रतिनिधि पदलाई मात्र समन्वय गर्ने बनाउँदा सङ्घका आगामी कार्यक्रममा ब्यवधान पुग्न सक्नेतर्फ मेरो दृष्टि रहेको छ ।
सागर सुवेदी

पहिलो र दोश्रो विश्वयुद्धका दौरान नेपालीहरू आफ्नो मातृभूमि छोडेर परदेश जाने चलन चल्यो । त्यसैको कारण विश्वमा गोर्खाली सेनाका रूपमा तथा श्रम गर्न गएका नेपालीहरू विदेशमै बस्ने प्रचलन बढ्दै गयो । पछिल्लो समय नेपालमा माओवादीले सञ्चालन गरेको युद्धसँगै नेपाली युवाहरू सुरक्षित भविष्यको लागि विदेशिने लर्को लाग्यो नै ।

९० को अन्तिम दशकदेखि नै नेपाललाई जोड्ने कुनै जात, धर्म, आस्था, विचार, क्षेत्र, वर्ण, लिङ्गभन्दा माथि उठेको एक संगठन आवश्यक छ भन्नेमा विविध बहस भइरहेका थिए । सोही आवश्यकतालाई मुर्तरूप दिँदै गर्दा सङ्घको स्थापना गर्न योगदान दिएका अग्रजहरूको जोडबलमा तत्कालिन युवराज पारस शाहले थाइल्याण्डबाट विधिवत शुभारम्भ गरेपश्चात सन् २००३ को अक्टोबरमा नेपालीहरूको बाक्लो बसोबास रहेको बेलायतमा पहिलो बैठकसँगै सङ्घको सुरुवात भयो । बेलायतपछी सङ्घको दोश्रो एनसीसी मेरो कर्मभूमि अष्ट्रीयामा स्थापाना गरियो।  

सङ्घको सुरुवाती अवस्थामा विश्वभर रहेका गैरआवासीय नेपालीको सङ्ख्या करिब पाँच लाखको सङ्ख्यामा रहेको अनुमान गरिएको थियो भने आज परदेसिएका नेपालीहरू करिब ७० लाखको आसपास छन् भनिन्छ ।

पछिल्लो समय सङ्घमा स्थापनाको उद्देश्य भन्दा अमिल्दो पार्टीगत राजनीति घुसेको र त्यसैको कारण समाज विभाजित भैरहेको गुनासो यत्रतत्र सुनिन थाल्यो । झन् त्यसैमा सबैभन्दा बृहत जनचासोको विषय भनेको गैरआवासीय नेपाली नेताहरूले आफू निर्वाचित हुनका लागि गर्ने अस्वाभाविक लगानीले चाहिँ एक प्रकारको भुइँचालो ल्यायो । त्यो लगानी आज पनि जस्तोको तस्तै रहेको देखिन्छ।  यहाँ प्रश्न आउछ येतिका छर्ने पैसा गैर आबासीय  नेपाली संघमा उठ्ने उमेद्वार हरुसंग कहाँ बाट आउछ ? 

सङ्घसँगको मेरो सम्बन्ध आज दशक नाघिसकेको छ । सङ्घमा हुँदा या नहुँदा यसलाई डायस्पोराको एक मात्र छाता सङ्गठन मान्दा आज सङ्घ नेपालका राजनीतिक दलहरूको भातृसङ्गठन जस्तो बन्ने बाटोमा छ भन्दा मात्र नभएर सरोकारवालाहरूको पनि चिन्ता यहाँ प्रस्ट देखिन्छ । हुन त पछिल्लो समय नेपाली कांग्रेसको भात्रीसंगठन जनसम्पर्क समितिले सङ्घमा  उठेका उमेद्वारको पक्षमा भारी  बोकेर प्रचारमा लागोस भन्ने उर्दी लाइ इन्कार गरिरहेको अवस्था देखिएको छ।  यस्तै नेकपा माओबादीको भात्रीसंगठनले पनि सङ्घमा  नेपाली राजनीतिको छाया आबश्यक छैन भन्ने हिसाबले लबिङ्ग गरिरहेको देखिएको छ।  यस अर्थलाई गहिरिएर हेर्ने हो भने सङ्घमा राजनीतिक भातृसंगठन प्रयोगमा हुनु हुदैन भन्ने बिषय स्थापनाको सुरुवात हुने आभास देखिन्छ। 

सङ्घमा राजनीतिक भारी बोक्नेहरुले राम्रो संग काम गर्न सक्दैनन भन्ने आज प्रमाणित भैसकेको छ।  त्यसको उदहारण अहिलेको कार्यसमिति र यो भन्दा पहिलाको कार्यसमितिलाई नजिक बाट हेर्दा प्रस्ट देखिन्छ।  

हामीले स्वीकार गर्नैपर्ने हुन्छ, हामी कुनै आस्था अथवा विचारबिना समाजमा जोडिएको हुँदैनौँ तथापि सङ्घलाई Non Profitable/Non Political सङ्घ भनिएको छ भने कम्तिमा निर्वाचनमा जाँदा र निर्वाचित भएपश्चातको समयलाई हाम्रो आस्थासँग जोडिएको ‘जुत्ता’ खोलेर सङ्घभित्र प्रवेश गरियो भने सबैले अपनत्व गर्ने खालको सङ्घ निर्माणमा सहयोग पुग्नेछ भन्ने मेरो धारणा हो । युरोप क्षेत्रबाट सङ्घमा आउने प्रयास गर्दैगर्दा मैले यसैलाई प्रमुख विषय बनाएको छु । कम्तिमा सङ्घलाई नेपालको पार्टीगत राजनीतिबाट अलग मात्र गर्न सकियो भने गैरआवासीय नेपाली सङ्घमा देखिएका विद्यमान जर्जर समस्याको आधा हल हुनेछ भन्नेमा म विश्वस्त छु ।

विश्वभर रहेका ७० लाख नेपालीको प्रतिनिधित्व गर्ने संस्था आज सीमित पार्टीको भातृसङ्गठन बन्ने अवस्था आउँदा भविष्यका पिँढीले यसलाई कसरी अपनाउलान् भन्ने चिन्ता एकातर्फ छ भने सङ्घमा क्षेत्रगत रूपमा नेतृत्व गर्ने प्रतिनिधि पदलाई मात्र समन्वय गर्ने बनाउँदा सङ्घका आगामी कार्यक्रममा ब्यवधान पुग्न सक्नेतर्फ मेरो दृष्टि रहेको छ ।

गैरआवासीय नेपाली सङ्घलाई मैले विगत १०  वर्षदेखि धेरै नजिक रहेर हेरिरहेको छु । वृहत्तर विवाद सङ्घको केन्द्रमा संग संगै  एनसिसीहरूमा बढ्दै गइरहेको छ । हिजो विविध सामान्य मनमुटाव तथा व्यक्तिगत इगोबाट उम्मेदवारी हुने अवस्था आज सम्पूर्ण रूपमा पार्टीगत आस्थासँग जोडिएर आएको देखिन्छ । यस्तै अवस्था रहिरहने र यसलाई समयमा ब्यवस्थापन नगर्ने हो भने सङ्घको भविष्यमाथि ठुलो चुनौती सिर्जना हुन सक्ने देखिन्छ, साथै सङ्घ विदेश स्थित सबै नेपाली संघ संस्थाहरुको छाता नरहन सक्ने देखिन्छ ।

मैले उठान गर्न खोजेको अर्को विषय भनेको संस्थागत अनुशासनको हो । सङ्घको केन्द्रीय विधानले स्पष्ट गरेका विषयहरूलाई अतिरञ्जित पार्दै गलत बाटोबाट एनसीसीहरू केन्द्रसँग जोडिएको अवस्था छ, चाहे सङ्घ, समाज या विवादसँगका विषयहरू किन नहुन् त्यसका समाधानका केही प्रक्रियाहरू छन्, ती प्रक्रियाहरूलाई धोती लगाइदिने काम भएको छ । एकातर्फ एनसीसी स्वायत्ता को मुद्दा हरेक उमेद्वारले उठाएको देखिन्छ भने यस्तो संबेदनशील बिषयमा कसैले कार्ययोजना बनाएको देखिएको छैन।  आज ,सम्बन्धित मुलुकका एनसीसीहरू आफ्ना देशबाट निर्वाचित भएका आइसीसी सदस्यहरूमार्फत क्षेत्रिय संयोजक/उपसंयोजक हुँदै केन्द्रमा पुग्नुपर्नेमा कुनै एनसीसीको कार्यसमितिको सदस्य आइसीसीको महासचिव/अध्यक्षलाई प्रत्येक्ष एप्रोच गरिरहेको छ । आइसीसी सदस्य भन्ने पद डेढ लाख भन्दा बढी रकम तिराएर पद मात्रको बनाइएको छ।  

झन् अघिल्लो बिबादित समयमा  सङ्घलाई नेपाल सरकारको निकायसँग लगेर हस्तक्षेप गराइने पद्दतिमा लगिएको थियो , भलै आज यस्तै दबाब हरुको कारण परराष्ट्र मन्त्रालय तटस्थ बसेको देखिएको छ  । मैले यो भन्दा आगाडी पनि नेपाली  सरकारी निकायबाट हस्तक्षेप गराउँदै लगियो भने बनिरहेका सरकार स्थिर नहुँदा भोलि अर्को पक्षले पनि यसको दुरुपयोग गर्न सक्नेतर्फ सजग हुनुपर्ने विषयलाई उठान गर्न खोजेको थिए  ।

सङ्घमा भएका आन्तरिक  विवादका विषयलाई प्रक्रियागत प्रणालीमा गएर विधिवत गर्न सकेको खण्डमा सङ्घमा स्वस्थ तवरले कार्यसम्पादन गर्ने सहज बाटो खुल्ने मेरो बुझाइ हो  । हिजो  हरेक सदस्यको आग्रहलाई परराष्ट्र मन्त्रालयले लिँदै सङ्घलाई पत्र काट्न थाले जस्तो बिकृतिको सुरुवात गराईयो  भने यो सङ्घलाई यही सङ्घको रूपमा अगाडि बढाउन अत्यन्त गाह्रो हुने मेरो बुझाइ हो  ।

विवाद तथा फरक मतहरू सामान्य हुन्छन् तर यस्ता विवाद र फरक मतहरूलाई उपयुक्त समयमा विधानअन्तर्गत रहेर समाधान गर्ने बाटो अवलम्बन गरिएन भने त्यसको असर सङ्घसँग जोडिएको दोश्रो पुस्तालाई पर्नेछ । सङ्घको आवश्यकता आज नेपालको माटोमा हुर्केर आएका वर्तमान व्यक्तित्व भन्दा पनि हामीभन्दा पछि आउने पिँढीको लागि अझ महत्वपूर्ण छ । यस्ता गम्भीर विषयलाई निर्वाचनको पूर्वसन्ध्यामा विषयगत कुरा उठाउने र त्यसपछिका दिनमा बिर्सने बानी विकास भएको देखिन्छ, यसलाई गम्भीरतापूर्वक लिएर ठोस कार्यविधि बनाएर काम गरिएन भने नयाँ पुस्ता गैरआवासीय नेपाली सङ्घप्रति आकर्षित हुने कुनै विषय बन्ने देखिँदैन ।

पछिल्ला समयमा सञ्जालहरूमा सङ्घको रुपान्तारणका विषयहरूले प्रवेश पाएको देखिन्छ । तर कस्तो रुपान्तरण भन्ने ठोस कार्यविधि कसैले प्रस्तुत गरेको देखिँदैन । सङ्घलाई आजै रुपान्तारण गर्नुपर्ने खास के छ ? महँगो निर्वाचन नगर्ने सवालमा अनलाइन भोटिङ यो कार्यकालबाट सुरु गरिँदैछ । सदस्यता शुल्क निःशुल्क भनिएको छ, तर यो निशुल्क सदस्यता शुल्कले संघको कार्यालय चलायमान बनाउन गाह्रो बनाएको छ।  यसबाहेक सङ्घमा आज रुपान्तरण गर्नुपर्ने आवश्यकता के हो भन्ने प्रस्ट नहुँदै रुपान्तरण भन्ने शब्द मात्र चर्चित बनाउन खोजिएको छ । प्रकृति जसरी परिमार्जित हुने नियम छ सोहीअनुरुप सङ्घ सँगका हरेक विषय स्वतः रुपान्तरण हुँदै जान्छन् नै, जसलाई हामीले सङ्घको कार्यविधिको शीर्षक लिस्टेड गरिदिए मात्र पुग्छ । किनकि, सङ्घले आफ्नो स्थापनाकालदेखि उठाएका विविध मुद्दा आज पनि जहाँको त्यहीँ छन् । प्रथमतः ती मुद्दाहरूमा काम गर्न आवश्यक देखिन्छ ।

सङ्घले उठाएको मुद्दामा दोहोरो नगरिकता पनि एक थियो , जसमा संसदबाट एन बनाएर यसलाई कार्यनन गरिसकेको छ , तर सो नागरिकता अहिले गैर आबासीय कार्ड भन्दा कुनै कोणमा फरक छैन।   तर, विश्वमा कतिपय देश छन् जसले दोहोरो नागरिकतालाई स्वीकार गर्दैनन्, तथापि दोहोरो नागरिकता स्वीकार गर्ने मुलुकमा बसोबास गर्ने नेपालीहरूको हकमा चाहिँ उपयुक्त नै देखिन्छ । हामीले काम गर्नुपर्ने विषय भनेको दोश्रो पुस्ता र तेश्रो पुस्ता हुँदै गर्दा उनीहरूले नेपालसँग सदैव जोडिने आधार तय गर्नु एक प्रमुख चुनौती हो ।

सङ्घको माध्यमबाट डायस्पोराको सीपलाई नेपालसँग जोड्ने भन्ने विषयलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने देखिन्छ, केही क्षेत्रिय बैठकहरूमा जोडिएका/उठाएका विषयले मातृभूमिलाई कति फाइदा गऱ्यो भन्ने विषयलाई मुल्याङ्कन गर्नुपर्ने देखिन्छ । स्वास्थ्यसँग जोडिएको विषय पनि त्यही नै हो । डायस्पोराको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सीपलाई मातृभूमिमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयलाई पावरपोइन्ट प्रस्तुतिबाट माथि उकालेर कार्यान्वयन भयो या भएन भन्ने हेर्नुपर्ने हुन्छ ।

पेशाले म आफै अति अत्याबशक  नर्श रही मेडिसिन विश्वविद्यालयमा कार्यरत  भएको हुनाले पनि स्वास्थ   क्षेत्रमा बिशेष गरी नर्सिङसम्बन्धी सीपलाई फरक बाटोबाट सम्बोधन गरेर डायस्पोरामा काम गरिरहेका नर्सलाई मातृभूमिका लागि दिने योगदानका विषयमा छुट्टै कार्ययोजना बनाउनुपर्ने देखिन्छ । साथै नेपालमा रहेका हाम्रा नर्शहरुलाई युरोपियन स्तरको नर्शिङ्ग  तालिम दिएर यहाको शिप लाई ट्रान्सफर्मको योजना लिएर अगाडी आएको छु। युरोप क्षेत्रको संयोजकले सङ्घको नीति निर्माणमा कुनै ठुलो उथलपुथल ल्याउन सामर्थ्य नराखेता पनि, क्रमिक रूपमा मैले गर्न सक्ने विषयगत ज्ञानको दायरामा रहेर सङ्घलाई स्पस्ट मार्ग प्रदर्शनमा मेरो देन हुनेछ  । 

म अहिले युरोप क्षेत्रको संयोजकको उम्मेदवारमा उठ्दै गर्दा आफ्ना केहि गर्न सकिने विषयहरुलाई मेरा मतदाता समक्ष राखिसकेको छु ।  मलाई आशा छ मैले अगाडी सारेका गर्न सक्ने एजेण्डाका पक्षमा युरोप बासी गैरआबासीय नेपाली हरुले बिश्वास गर्नुहुनेछ। 

अन्त्यमा, विश्वकै सभ्य र भब्य मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले नेपालमा जाँदा होस् या विदेशकै समाजमा बसोबास गर्दा होस्, एकै व्यवहार प्रदर्शन गरेको खण्डमा मातृभूमिबाट गैरआवासीय नेपालीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ भन्ने मेरो बुझाइ छ ।

(सुवेदी गैरआवासीय नेपाली सङ्घ २०२३-२०२५  कार्यकालका लागि युरोप क्षेत्रका संयोजकका प्रत्यासी रहेका छन् ।)