एनआरएनए चुनाव : अध्यक्षका पाँचमध्ये चर्चामा तीन उम्मेदवार

एनआरएनए चुनाव : अध्यक्षका पाँचमध्ये चर्चामा तीन उम्मेदवार


  • राजन घिमिरे

गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव जति नजिकिँदै छ यसको चर्चा र चासोले पनि उत्तिकै चुलिएको छ । विशेष गरेर अध्यक्ष पदको दौडमा रहेका उम्मेदवारहरूका कारण पनि यस पटकको चुनावी सरगर्मीले बजार तताएको छ । आफ्नो पक्षमा पल्ला भारी पार्न अध्यक्षका उम्मेदवारहरुबीच राम्रै प्रतिष्पर्धा चलेको छ । सम्मेलन यही असोज ३० देखि कत्तिक ३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ।

अध्यक्षको मैदानमा यसपटक पाँच जना देखिएता पनि कड़ा प्रतिष्पर्धा भने तीन जनाबीच हुने देखिएको छ । एनआरएनएको यस महाविधेशनमा हालसम्म अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्मा एवं उपमहासचिव विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यसरी घोषणा गरेकामध्ये आजसम्मको आँकडाअनुसार महेशकुमार श्रेष्ठ, डा. बद्री केसी र आरके शर्माबीच कडा प्रतिस्पर्धा देखिएको कुरा जानकारहरू बताउँछन् । यी तीन जनाले तयार पारेको चुनावी नारा, प्रचारप्रसारमा देखाएको ब्यवस्थित माहौल र एनआरएनहरूबीचको घुलमिलले यस पटक यी तीन जनाबीचबाटै संघले अध्यक्ष पाउने निर्क्योल गर्न थालिएको छ । गैरआवासीय नेपालीहरू माझ यी तीन जनाको उपस्थितिले पनि बजारमा राम्रै प्रभाव पारेको देखिन्छ ।

यसैबीच एनआरएनएको महाधिवेशन उद्घाटन राष्ट्रपतिबाट असोज ३० गते बिहान हुने तय भएको छ । सोही दिन अपराह्नदेखि कात्तिक १ गतेसम्म विश्व ज्ञान सम्मेलन हुने एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिएका छन् ।

सन् २००३ अक्टोबर ११ मा स्थापना भएको एनआरएनएले हालसम्म डा. उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरी आठ जना अध्यक्ष पाइसकेको छ ।