को हुन् एनआरएनए युरोप महिला संयोजकमा उम्मेदवारी दिएकी प्रसुना ?

को हुन् एनआरएनए युरोप महिला संयोजकमा उम्मेदवारी दिएकी प्रसुना ?


अक्टोबर १७ (३० असोज) देखि शुरु हुन लागेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अधिवेशनअन्तर्गत हुने एनआरएनए आइसीसी निर्वाचनमा बेलायतनिवासी सक्रिय युवा अभियन्ता प्रसुना कँडेलले युरोप क्षेत्रीय महिला संयोजकमा उम्मेद्वारीको घोषणा गरेकी छन् । यसअघि एनआरएनए यूकेको महिला संयोजकके भूमिका सफलतापूर्वक निर्वाह गरिसकेकी कँडेलले आफ्ना अग्रज तथा सहकर्मीहरूको सल्लाह र उत्प्रेरणाका कारण आफू युरोप महिला संयोजकको दायित्व उठाउन तत्पर रहेको बताएकी छन् ।

युरोप क्षेत्रका मुद्धाहरुलाई आइसीसीको फोरममा प्रभावकारी रुपमा मुखरित गर्ने योजना बनाएकी प्रसुनाले युरोप महिला संयोजकको उम्मेद्वारी घोषणा गर्दै भनेकी छन्- ‘चुनावअघि धेरै प्रतिवद्धताभन्दा व्यक्त गर्ने भन्दा पनि निर्वाचित भएपछि समय र आवश्यकताअनुसार गतिलो काम गरेर देखाउने छु ।’

सशक्त उम्मेदवारको रूपमा चर्चामा रहेकी प्रसुनाले अगाडि भनिन्- ‘युरोपमा नेपाली महिलाका धेरै समस्या छन् । पहिला ती समस्या कस्ता छन्, कसरी समाधान हुन सक्छन् भन्ने बुझ्न आवश्यक छ, सबै एनसिसीमा महिला संयोजक र उपाध्यक्षहरु हुनुहुन्छ । उहाँहरूसँग मिलेर महिलाका समस्यालाई केन्द्रीय तहसम्म पुऱ्याउने तथा उहाँहरू र आइसीसीबीच सहकार्य, समन्वयका लागि पुल बनेर काम गर्ने सोच बनाएको छु ।’

नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी पूर्वअध्यक्ष प्रसुनाले महिला सशक्तिकरणदेखि आफू पेशागत रुपमा विशेष जानकार रहेको स्वास्थ्य क्षेत्रमा एनआरएनएले सञ्चालन गर्न सक्ने हेल्थ क्याम्प, परामर्श कार्यशालाजस्ता कार्यक्रमहरुमा पनि योगदान गर्न तत्पर रहेको बताएकी छन् । बेलायतस्थित स्वास्थ्य क्षेत्रका विज्ञहरुलाई समेत समावेश गराइ उनीहरुको दक्षता नेपालमा प्रयोग गर्ने एवं नेपालको स्वास्थ्य क्षेत्र समुन्नत बनाउन आवश्यक नीति नियमका लागि पहल गर्ने समेत उनको अठोट छ ।

सामाजिक कार्यमा हरदम अग्रसर रहने प्रसुनाले नेपलिज वुमन एसोसिएसन यूके र नेपलिज ब्लड डोनर्स यूकेको महासचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छन् । सन् २००५ देखि बेलायत बस्दै आएकी उनले नर्सिङ, च्यारिटी काम, मोडलिङ र अभिनयमा लामो अनुभव सँगालेकी छन् । पेशाले क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट प्रसुना रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलप्मेन्ट एण्ड हेल्थ एण्ड सेफ्टी प्रतिनिधि पनि हुन् । नेपालमा महाभूकम्पपछि नेप्लिज नर्सिङ एसोसिएसन यूकेको टोलीलाई नेतृत्व गर्दै प्रसुना बढी प्रभावित विभिन्न ९ जिल्ला पुगेर घाइतेहरुको उपचारमा अहोरात्र खटिएकी थिइन् ।

लन्डनको बकिङहमशायर युनिभर्सिटीमा प्रसुना एशोसिएट लेक्चररका रुपमा पनि कार्यरत छन् भने युनिभर्सिटी अफ लन्डनबाट हेल्थ केयर लिडरसीपमा एमएस्सी पूरा गरेकी उनी हाल मनोविज्ञानमा मास्टर्स गरिरहेकी छन् । प्रसुनाले एनआरएनए यूके ग्लोवल हेल्थ कमिटीअन्तर्गत नर्सिङ कमिटीको सहअध्यक्षका रुपमा पनि काम गरिसकेकी छन् ।

बेलायतस्थित परोपकारी संस्था अक्सफामसंग आवद्ध रहेर विभिन्न परोपकारी कामका लागि फन्ड रेज पनि गरेकी प्रसुनाले हेल्प नेपाल नेटवर्कको रु १० करोडको अक्षयकोषका लागि एकजना संयोजकको रुपमा पनि काम गरेकी छन् । उनी माइती नेपाल, पवित्र समाज नेपाल, रत्न आश्रम, रेन्बो चाइल्ड फाउन्डेसन लगायतका थुप्रै परोपकारी संस्थामार्फत् मानवीय सहायतामा जुटिसकेकी अभियन्ता हुन् ।

सामाजिक कामहरूको कदरस्वरूप लन्डनस्थित नेपाली दूतावासबाट ‘इन्स्पायरिङ युथ पर्सानालिटी’ को सम्मान पाएकी उनले अन्य विभिन्न संस्थाबाट कयौँ अवार्ड समेत प्राप्त गरेकी छन् । बेलायतस्थित परोपकारी संस्था अक्सफामसंग आवद्ध रहेर विभिन्न परोपकारी कामका लागि फन्ड रेज गरेको अनुभव पनि प्रसुनासँग रहेको छ ।