सिजनमै हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायी निराश

सिजनमै हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायी निराश


  • सिबी अधिकारी/काठमाडौं

मनसुन सकिएर पर्यटकीय सिजनको सुरुआतमा शनिबार भएको हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायीमा निराशा छाएको छ । कोरोना महामारीलगायतका कारणले घट्दो क्रममा रहेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कने प्रयास भइरहेका बेलामा हेलिकोप्टर दुर्घटनाले व्यवसायीलाई निराशा बनाएको छ ।

व्यवसायीहरू असोज-मङ्सिरमा पदयात्रा र आरोहणका लागि पर्यटक बढ्ने भएकाले यसअवधिलाई ‘पिक सिजन’का रूपमा लिन्छन् । ‘सिजनमै भएको हेलिकोप्टर दुर्घटनाले यात्रुको सङ्ख्या पक्कै पनि कम हुन्छ’, सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले भन्नुभयो, ‘विशेषगरी यस समयमा हेलिकोप्टरको प्रयोग उद्धार उडानका लागि हुन्छ, यो घटनाले व्यवसायमा पक्कै पनि असर पर्छ ।’

उहाँका अनुसार हेलिकोप्टरको वर्षभरी हुने कूल आम्दानीको ३० प्रतिशत यही सिजनमा हुन्छ । ‘वैशाख–जेठमा ३० प्रतिशत र यस सिजनमा ३० प्रतिशत बिजनेश हुन्छ’, उहाँले भन्नुभयो, ‘बाँकी बिजनेश अफ सिजनमा हुन्छ ।’ यस सिजनमा सगरमाथा क्षेत्रमा पदयात्रा र पर्वतारोहण गर्ने पर्यटकले हेलिकोप्टर बढी प्रयोग गर्ने उहाँको भनाइ छ ।

सिजनमै भएको हेलिकोप्टर दुर्घटनाले मुलुकको हवाई क्षेत्रमा नकारात्मक असर परेको हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘मुख्य पर्यटकीय सिजन सुरु भएकाले यतिबेला हेलिकोप्टर पाउनै मुस्किल छ । मौसम सफा भएकाले हेलिकोप्टरको ‘मुभमेन्ट’ बढी भइरहेको समयमा भएको हेलिकोप्टर दुर्घटनाले नकारात्मक सन्देश गएको छ ।’

यतिखेर लुक्लाबाट हिमाली क्षेत्रमा जाने यात्रुको मुख्य साधन नै हेलिकोप्टर बनेको छ । सगरमाथा, अन्नपूर्ण, लाङ्टाङ, मनास्लुलगायत क्षेत्रमा हेलिकोप्टरको प्रयोग भइरहेको छ । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक एवं हेली एभरेष्टका उपाध्यक्ष मिङ्मा शेर्पा पनि सिजनमा हेलिकोप्टर दुर्घटनाले पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताउनुहुन्छ ।

सोलुखुम्बुको लुक्लाबाट लोबुचेका लागि उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकोप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा शनिबार बिहान ७ः२४ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा हेलिकोप्टर पाइलट प्रकाशकुमार सेढाईं घाइते भएका छन् ।

दुर्गम क्षेत्रमा सामान ढुवानी गर्न तथा हिमाली क्षेत्रमा पर्यटक ओसारपसारमा समेत हेलिकोप्टरको प्रयोग बढ्दो छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार नेपालमा हाल निजी क्षेत्रका १२ वटा हेलिकोप्टर कम्पनीका ३० वटा हेलिकोप्टर व्यावसायिक उडानमा छन् । पर्यटकीय गतिविधि बढेको तथा पर्वतारोहणका लागि आरोहीको सङ्ख्या बढिरहेकाले हेलिकोप्टरको विजनेस राम्रो हुन्छ । दसैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वको सङ्घारमा हेलिकोप्टर दुर्घटनाले एकखालको त्रासदी पैदा भएको व्यवसायीको भनाइ छ ।

तीन महिनामा दुई हेलिकोप्टर दुर्घटना

पछिल्लो तीन महिनामा मनाङ एयरका दुई हेलिकोप्टर दुर्घटनाग्रस्त भएका छन् । संयोग नै ती दुवै दुर्घटना सोलुखुम्बुमा भएका छन् । गत असार २६ गते मनाङ एयरको कलसाइन ९एन–एमभी (एएस–५०) कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित हेलिकोप्टरमा सवार ६ जनाको मृत्यु भएको थियो ।

सोलुखुम्बुको सुर्केबाट बिहान काठमाडौँका लागि उडान भरेको उक्त हेलिकोप्टर दिउँसो जिल्लाकै लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

६ महिनामा तीन हेलिकोप्टर दुर्घटना

विसं २०८० को छ महिनामा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेका छन् । गत असार २६ गते भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको तीन महिनामै सोही कम्पनीको अर्को हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

यस्तै गत वैशाख २० गते सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभा दुर्घटना भएको थियो । अरुण तेस्रो आयोजनाको सामान ढुवानीका क्रममा भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । त्यसअघि सन् २०१८ र २०१९ मा सोही कम्पनीको समान एक हेलिकोप्टर दुर्घटनामा परेको थियो । मनाङ एयरको छ वर्षमा चार हेलिकोप्टर दुर्घटना भएका छन् ।

प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट २०२३ का अनुसार नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । ती दुर्घटनाबाट ९० जनाभन्दा बढीको मृत्यु भएको छ । आजको दुर्घटनासहित नेपालमा हेलिकोप्टरतर्फ मात्रै ४० वटा दुर्घटना भएका छन् ।

मनाङ एयर निलम्बनमा

पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकोप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो । ‘मनाङ एयरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकोप्टर दुर्घटना भएका छन् । अब उक्त कम्पनीसँग हेलिकोप्टर पनि छैनन्’, प्रवक्ता भुलले भन्नुभयो, ‘प्राधिकरणले मनाङ एयरको वस्तुस्थितिका समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुनेछ ।’

प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकोप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली भोलि आइतबार हेलिकोप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ ।

  • rss