‘ट्याक्सीचालक नसुध्रिँदा फष्टायो निजी प्लेटका सवारीसाधनको गोरखधन्दा !

‘ट्याक्सीचालक नसुध्रिँदा फष्टायो निजी प्लेटका सवारीसाधनको गोरखधन्दा !


ट्याक्सी व्यवसायीले धर्म, सेवा र आफ्नो कर्तव्य नै बिर्सिए । जसरी हुन्छ ठग्ने र लुट्नेतिर उनीहरू केन्द्रीत भए । ट्याक्सीचालक यात्रुबाट लाञ्छित बनेका छन् । ट्याक्सीको सिट अहिलेपनि त्यस्तै फोहोर छ, चालक पनि त्यस्तै ! अधिकांश चालकलाई बेलुका खाएकै रक्सीले छोडेको हुँदैन भन्दा अतिरञ्जना नठहरिएला ।
✍ अनुसा थापा

नेपालीको महान् चाड आँगन प्रवेश गरिसकेको छ । दशैँ लागेसँगै आ-आफ्नो थातथलो पुग्न सबैलाई हतारो छ । आफ्नो जिल्ला छोडेर अन्यत्र बसेका मात्रै होइनन्, विदेशबाट समेत नेपाली दशैँ मान्नका लागि मुलुक फर्किएका छन् । रोजगारी, पेशा व्यवसाय, पढाइको सिलसिलामा काठमाडौं उपत्यका र जिल्लाको सदरमुकाममा बस्दै आएका आम नागरिकहरू पनि धमाधम फर्किरहेका छन् ।

पैसा हुनेहरू प्लेनको टिकट काटेर घर फर्किएका छन् । जहाजको भाडा तिर्न नसक्नेहरू बसको धक्काधक्की खाएर घर गइरहेका छन् । तैपनि एक हजार रुपैयाँ भाडा तोकिएको बाटोमा पाँच हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । कतिपय सर्वसाधारण ट्याक्सी र निजी प्लेटका सवारी साधन रिजर्भ गरेर पनि गाउँ गइरहेका छन् । दशैँ भएकाले चालकले जति भन्यो त्यति भाडा तिर्न बाध्य छन्, सर्वसाधारण ।

लामो रोडमा चल्ने सवारी साधन वा हवाई कम्पनीले दशैँको मौका छोपेर ठग्नु नौलो कुरा होइन् । विगतदेखि चलेको ठग्ने क्रम जारी नै छ । दशैँ लागेसँगै सबैभन्दा धेरै भ्याइनभ्याइ हुने यातायात व्यवसायीलाई हो । झन् ट्याक्सीको आवश्यकता धेरै हुन्छ । कोठाबाट एयरपोर्टसम्म जान पनि ट्याक्सी, बसस्टपसम्म जान पनि ट्याक्सी । हातमा टन्न झोला हुन्छ अनि ट्याक्सी नचढिकन त सुःखै छैन ।

अहिले पठाओ पनि सञ्चालनमा छ । तर, पठाओको पनि मनोमानी चलेको छ । एक जना भए त पठाओमा गएपनि हुन्छ । पठाओ रातो प्लेटमा दर्ता भएकाले सरकारले यसको भाडादर कायम गरेको छैन । कुनैले ३६ त कुनैले २६ रुपैयाँ किलोमिटरको दरमा पठाओ चलाइरहेका छन् । पठाओमार्फत ट्याक्सी बुक गऱ्यो भने शुरुमै १७७ रुपैयाँ तिर्नुपर्छ । यो त सेवाशुल्क मात्रै हो । जबकि सरकारले फल्याक डाउनबापत ५० रुपैयाँ तोकेको छ ।

यता, पठाओ ट्याक्सीको भाडादर पनि सरकारले तोकेअनुरुप छैन । अन्य ट्याक्सीको त झन् कुरै नगरौँ । मान्छे हेरेर चालकले भाडा माग्छन् । मिटरमा जाऔँ भनेर सयौँ बिन्ती गरेपनि मान्दैनन । छोटो दूरीमा ट्याक्सी जाँदैन । चालकको जिब्रोले भाडा तोक्छ । भक्तपुर जिल्ला उपत्यकाभित्रै पर्छ । तर, सल्लाघारीस्थित पार्किङमा ट्याक्सी होइन, निजी प्लेटका कार पार्क गरिएको हुन्छ ।

यो त उदाहरण मात्रै हो । भक्तपुरका अन्य ठाउँमा पनि यही अवस्था छ । गाउँबाट सामान बोकेर आएकालाई निजी प्लेटका गाडी चालकले दिँउसै रात पारिदिन्छन् । एक किलोमिटर बाटोमै एक हजार रुपैयाँ लिन्छन् । सल्लाघारीबाट अनामनगर आएको २५ सय रुपैयाँ लिन्छन् । निजी प्लेटका सवारीले खुलेआम ठग्दासमेत ट्राफिक टुलुटुल रमिता हेरेर बसेको छ ।

यातायात तथा सवारी ऐन, २०४९ र नियमावली २०५४ मा निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था गरेको छ । भाडाको गाडीजस्तो निजी प्लेटको सवारी साधनले राजश्व तिर्नुपर्दैन । भाडाको गाडीले प्रत्येक ६ महिनामा रोड परमिट, जाँचपास र धुँवा पासको राजश्व तिर्नुपर्छ । यता, घरेलु र कम्पनीमा गएर पञ्जीकरण पनि हुनुपर्छ ।

तर, निजी प्लेटका सवारीको हकमा यो नियम लागु गरिएको छैन । एउटा सवारीमा गाडीधनीले तीन लाखदेखि करोडौँ रुपैयाँ लगानी गरेका हुन्छन् । त्यसबापतको राजश्व खोइ ? आयल निगमले पेट्रोल÷डिजेलको भाउ घटाउँदा श्रम, रोजगार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले भाडा घटाउने बढाउने गर्छ । निजी प्लेटमा यो पनि लागु हुँदैन । जनसंख्या बढेको छ ।

यातायातको खाँचो सबैलाई पर्छ । बिरामी हुँदा, आपतविपत पर्दा ट्याक्सी चाहिन्छ । तर, पर्याप्त ट्याक्सी नहुँदा निजी प्लेटका सवारीसाधन सञ्चालनमा आएका छन् । निजी प्लेटका सवारी साधनले यात्रुलाई ठगेर कमाइरहेको छ । यद्यपि, सरकारले राजश्वसमेत नपाएको अवस्था छ । सरकार न यातायात क्षेत्रमा वर्षौंदेखि भएको सिण्डिकेट हटाउँछ न त यात्रुलाई सेवासुविधा नै प्रदान गर्न सक्छ ।

ट्याक्सीको मात्रै नभइ अन्य सार्वजनिक सवारी साधनको समेत लामो समयदेखि दर्ता बन्द छ । फोस्टक टेम्पोको दर्ता पनि खोलिएको छ । ट्याक्सी व्यवसायीहरूले एउटै गुनासो गर्दै आएका छन्, ‘निजी प्लेटका सवारी साधनले यात्रु बोक्यो ।’ उनीहरूले यसको विरोध गर्दै आएका छन् । हामीले यात्रुलाई सेवासुविधा दिन सकेनौँ भन्ने कुरा ट्याक्सी व्यवसायीलाई राम्रोसँग थाहा छ ।

ट्याक्सी व्यवसायीले विगतदेखि नै यात्रुलाई दादागिरी देखाउँदै आएका छन् । अनि यात्रुले विकल्प नखोजेर के गर्नु ? ट्याक्सी चालकहरूकै कारणले रातो प्लेटका सवारी साधन चलनचल्तीमा आएको छर्लङ्ग छ । आफैं दादागिरी देखाउने अनि आफैं मर्कामा परे भनेर नौटङ्की देखाउन नमिल्नुपर्ने हो ! ट्याक्सीचालकहरू मिटरमा जान नमान्ने, छोटो दूरीमा जान नमान्ने र जसरी हुन्छ यात्रुलाई ठग्ने गरिरहेका छन् ।

पैसा तिरेपछि राम्रो सेवासुविधा पाउनु जनताको हक हो । जनताले समयसँगै परिवर्तन खोज्छन् । तर, ट्याक्सी व्यवसायीले परिवर्तन गर्न चाहेनन् । उनीहरूले आफ्नो मनोमानी सँधै चलिरहन्छ भन्ने सोचे । त्यसको फाइदा निजी प्लेटका सवारी साधनले लिए । आफ्नै मुर्खताका कारण ट्याक्सीचालक नाङ्गिँदै गए । अहिले ट्याक्सीभन्दा धेरै निजी प्लेटका सवारीसाधन छन् ।

सर्वसाधारण निजी प्लेटका सवारी साधनबाट सन्तुष्ट नै छन्, तर यसबाट राज्य र जनता दुवैलाई बेफाइदा भएको छ । राज्यले राजश्व पाएको छैन । यता, यात्रुले पनि मँहगो भाडा तिर्नुपरेको छ । ट्याक्सीले पाँच सय रुपैयाँ लिने बाटोमा निजी प्लेटका सवारी साधनले १५ सय रुपैयाँ लिइरहेको छ । यद्यपि, यात्रुलाई यसले फरक परेको छैन, किनकि उनीहरूले सेवा पाइरहेका छन् ।

ट्याक्सीचालकले आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेका छन् । ट्याक्सीचालकहरू आन्दोलन गर्नमै व्यस्त भए, निजी प्लेटका सवारीले बाटो लिइहाले । संगठन खोल्ने, राजनीतिक दलको झोले बन्ने, मिडियाबाजी गर्नेगरेको कार्यको दुष्परिणाम अहिले ट्याक्सीचालकहरूले भोगिरहेका छन् । ट्याक्सीचालक कहिल्यै सुध्रिन खोजेनन् । उनीहरूले सरकारको ऐनकानुन पनि टेरेनन् ।

ट्याक्सी आकस्मिक अवस्थामा चाहिने साधन हो । बिरामीसँग पैसा नभएपनि चालकले सित्तैमा अस्पताल पुऱ्याइदिनुपर्छ । मानवता सबैले देखाउनुपर्छ । ट्याक्सी व्यवसायीले धर्म, सेवा र आफ्नो कर्तव्य नै बिर्सिए । जसरी हुन्छ ठग्ने र लुट्नेतिर उनीहरू केन्द्रीत भए । ट्याक्सीचालक यात्रुबाट लाञ्छित बनेका छन् । ट्याक्सीको सिट अहिलेपनि त्यस्तै फोहोर छ । चालक पनि फोहोरी, अधिकांश चालकलाई बेलुका खाएकै रक्सीले छोडेको हुँदैन भन्दा अतिरञ्जना नठहरिएला ।

यसैगरी, ट्याक्सी पनि सबै थोत्रा, पुराना र कबाडी छन् । फोहोर ट्याक्सीका कारण यात्रुको कपडा नै बिग्रिन्छ । पैसाचाँहि लिने अनि सुविधा नदिने ! यो त दिँउसै लुटेको भएन् र ? निजी गाडी हेर्ने हो भने चिटिक्क बनाएर राखिएको हुन्छ । चालकहरूले यात्रुलाई त मख्ख पारिदिन्छन् तर ट्याक्सीचालक भने घरमा श्रीमतीसँगको झगडा यात्रुमाथि पोख्छन् । निजी प्लेटका चालकले हाँसीहाँसी यात्रुलाई ठग्छन् ।

निजी प्लेटका चालकले यति बाठा हुन्छन् कि ट्राफिकले सोधपुछ गऱ्यो भने आफ्नै गाडी हो भन्न यात्रुलाई सिकाउँछन् । विकसित मुलुकमा कम्पनीमार्फत ट्याक्सी सञ्चालन भएको हुन्छ । लक्जरी ट्याक्सी हुन्छन् । चालकले मिटरमा उठेभन्दा बढी भाडा लिँदैनन् । टिप्स दियो भनेपनि लिन मान्दैनन् । तर, हाम्रो मुलुकमा सबै ७९६ सिसीका थोत्रा ट्याक्सी चलेका छन् ।

चालकले टिप्स पाए के छोड्थे, दिँउसै ठगिदिन्छन् । यहाँ त जसरी हुन्छ, ठग्ने र लुट्ने हो । हामी सुध्रिनुपर्छ, जिम्मेवार हुनुपर्छ भन्ने यहाँ छैन । ट्याक्सीको लुटको धन्दाले सीमा नाघिसकेको छ । मिटरमा नहिँड्ने र २० वर्ष कटेका ट्याक्सीलाई ट्राफिकले कारबाही गरेको छैन । ट्राफिक प्रहरी ट्याक्सी व्यवसायीको अगाडि निरीह बनेको अवस्था छ । जय होस् ।