एनआईसीएशिया बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न

एनआईसीएशिया बैंकको २६औँ वार्षिक साधारणसभा सम्पन्न


एनआईसी एशिया बैंक लि.को २६औं वार्षिक साधारणसभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आइतबार सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) समेत गरी कुल ३०.५२६३ प्रतिशत लाभांश (रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

साधारणसभाले २९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पूँजी रू. १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ पुगेको जनाएको छ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६३१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।