- सुरेन्द्र सुवेदी, काठमाडौं
ट्रमा सेन्टरका प्रमुख डाक्टर बद्री रिजालविरुद्ध अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा उजुरी परेको छ । प्रधानमन्त्री प्रचण्डलाई समेत बोधार्थ दिएर गरिएको उजुरीमा करिव १० करोड रुपैयाँबढी हिनामिना गरेको दाबी छ ।
सेन्टरमा मिलेमतोमा करोडौँको ल्याबको टेन्डर मिलाएको, लेनदेनमा कर्मचारी भर्ना गरेको, प्रतिष्ठानको सहमति बेगर कर्मचारी भर्ना गरिएको, बोलपत्र आह्वानमा सेटिङ, मोडुलर ओटीमा करोडौँ अनियमिततासमेत उजुरीमा उल्लेख गरिएको छ ।
यस्तै, आफूनिकट व्यापारीसँग कमिसन लिँदै कोटेशनमा सामान खरिद गर्ने, रोग पत्ता लगाउन प्रयोग हुने (रगत जाँच) ल्याब (प्रयोगशाला) को कीट, रिएजेन्टहरू मिलेमतोमा आफूनिकट व्यापारी र कर्मचारीलाई खरिद गर्न लगाएर मासिक रुपमा १ करोड रुपैयाँबढी हिनामिना भइरहेको त्यहीँका कर्मचारीहरू बताउँछन् ।
रगत जाँच ल्याव प्रयोगशालाको कीट ओम सर्जिकललाई दिने गरी गत भदौ २० मा बोलपत्र माग गरेका थिए । यही असोज १९ मा ३४ किसिमको ल्याब किट्स विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भनेर मागिए पनि अन्ततः भारतबाट ती सामान ल्याउन पाउने मापदण्डविपरीत निर्णय गरेको उजुरीमा उल्लेख छ ।
सेन्टरका निर्देशक डा. रिजालले उक्त टेन्डर आफूनिकट डाइसोभन र ओम सर्जिकललाई दिएर करोडौँ कमिसन लिने तयारीमा रहेको बुझिएको छ । डा रिजालको यस्तो हर्कत देखेपछि अन्य ब्यापारीले विरोध जनाए पनि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको नाम लिँदै यो टेन्डर अरुलाई नदिने बताइरहेका छन् ।
रोग पत्ता लगाउने गम्भीर प्रकारका औषधि र कीटहरू निम्न गुणस्तरका झिकाएर मानव स्वास्थ्यमा गम्भीर खेलबाड गरेको कर्मचारीहरू बताउँछन् । यहीका कर्मचारीले आवाज उठाउँदा पनि सुनुवाइ नभएपछि प्रधानमन्त्री कार्यालय, अक्तियार, सार्वजनिक खरिद अनुगमन कार्यालय र स्वास्थ्य मन्त्रालयले छानबिन गर्नु पर्ने उजुरी परेका छन् ।
बिरामीलाई निजि अस्पताल पठाउने, अस्पतालका बेडमा नै व्यापारी बोलाएर अपरेसन सामान खरिदबिक्री गराउने, महँगो सर्जिकल समान फार्मेसीमा राख्ने नगरेको, मन्त्रालयले खरिद एकाई र स्टोर परिवर्तन गर्ने निर्देशन दिए पनि पुरानै खरिद एकाई र स्टोर हालसम्म परिवर्तन नगरेको भन्दै ट्रमा सेन्टरका ल्याव, एक्सरे, ओटी र न्याम्स पदाधिकारी पनि उनीसँग रुष्ट भइरहेका छन् । तर, उनी स्वास्थ्यमन्त्रीको आडमा नियमविपरीत काम गर्न पछिपरेका छैनन् । श्रोतका अनुसार स्वास्थ्यमन्त्री बस्तेतलाई उनले लाखौँ रुपैयाँ बुझाइसकेका छन् । त्यही आडमा सेन्टरमा अनियमितता गर्न उनलाई छुट भइरहेको एक कर्मचारी बताउँछन् ।
प्रतिक्रिया