गैरआवासीय नेपालीमाझ महेश श्रेष्ठको चर्चा

गैरआवासीय नेपालीमाझ महेश श्रेष्ठको चर्चा


‘संघलाई विवादरहित बनाउन श्रेष्ठको उम्मेदवारी’

यतिबेला राजधानी काठमाडौंमा गैरआवासीय नेपालीको जमघट बढ्दो छ । महासंघको ११औँ अधिवेशनका क्रममा सम्पन्न हुने चुनावी माहोलले एनआरएनहरुलाई तताएको छ । यसै सिलसिलामा गैरआवासीय नेपाली महासंघको वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएपछि उनको पनि चर्चा चुलिएको छ ।

आगामी दुई वर्षको कार्यकालका लागि संघको नेतृत्व लिने अठोटका साथ अघिबढेका महेश श्रेष्ठले संघका अभियन्ताहरूसँग भलाकुसारी गर्ने क्रमलाई तीव्रता दिएका छन् । युरोप, मध्यपूर्व र अष्ट्रेलियालगायत मुलुकमा रहेका एनआरएनए अभियन्ताहरूसँगको भेट, साथ र समर्थन समेटेपछि उनी अहिले काठमाडौंमा आएर चुनावमा होमिएका छन् ।

त्यसो त, पदमा रहँदा होस् या नरहँदा, महेशकुमारले आफ्नो तर्फबाट निभाएको सामाजिक अभियानको भूमिका र सक्रियताको सधै चर्चा हुँदै आएको छ । गैरआवासीय नेपाली संघको आगामी ११औँ महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले आफू आगामी नेतृत्वका लागि जिम्मेवारी लिन उत्साहित रहेको बताए । एनआरएन वृत्तमा शालिन, भद्र र स्वच्छ छविको परिचय बनाएका श्रेष्ठको अध्यक्ष पदमा उम्मेदवारी रहेको चर्चाले बजारमा बेग्लै तरङ्ग पैदा गरेको छ ।

श्रेष्ठले कोषाध्यक्ष रहँदा संघलाई आर्थिक रूपमा सबल बनाउनुका साथै वित्तीय सुधारमा गरेको कामको आज पनि प्रशंसा हुने गरेको छ । उनी जापान र नेपालमा सफल व्यवसायी मानिन्छन् । सफल व्यवसायीको परिचय बनाएका श्रेष्ठले हाइड्रो, बैंकिङ, रेमिट्यान्स, कृषि, आइटी, इन्सुरेन्स, आयात–निर्यात, भौतिक पूर्वाधारलगायत विभिन्न व्यवसायिक क्षेत्रमा आफ्नो दह्रो उपस्थिति जनाउँदै आएका छन् । हल्ला र चर्चा भन्दा पनि काम, कर्तब्य र आफूले निभाउनुपर्ने भूमिका अनि पूरा गर्नुपर्ने कर्तब्यप्रति सजग रहँदै आएका श्रेष्ठको उम्मेदवारीलाई लिएर यतिबेला सही पद सही ब्यक्तित्वको रूपमा चरितार्थ गर्न थालिएको छ ।

‘कोषाध्यक्ष हुँदा उनले संघको सचिवालयमार्फत् हुने आय व्यय ३-३ महिनामा सार्वजनिक गरेर राम्रो काम गरेका थिए । ‘संस्थालाई कहिल्यै विवादमा ल्याउनुहुन्न र यस्तो संस्था विवादरहित हुनुपर्छ भन्ने उनको धारणाको सबैले खुलेर प्रशंसा गर्ने गरेका छन्,’ महेशकुमारको बारेमा उनीसँग सहकार्य गरेका अनआरएनए अभियन्ता तथा उपमहासचिवका उम्मेदवार सोमनाथ सापकोटाले भने ।

कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदा संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन गरेको प्रतिबद्धता पूरा गरेका उनले बोली र व्यवहारमा देखाएको कठिबद्धताको परिणाम उल्लेखनीय रहेको थियो । उनलाई सबैलाई समेटेर अनि सबै वर्ग, तह, तप्काका साथै विविध पेशा र क्षेत्रमा लागेकाहरूलाई संगठित गर्दै सबै पक्षसँग समन्वय र सहकार्य गर्न सक्ने अब्बल क्षमता र दक्षता भएको ब्यक्तिको रूपमा लिइने गरिन्छ ।