साधारणसभाको अवसरमा पाँचताराद्वारा जेष्ठनागरिकलाई दशैँभत्ता

साधारणसभाको अवसरमा पाँचताराद्वारा जेष्ठनागरिकलाई दशैँभत्ता


पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १६औँ साधारणसभा सम्पन्न भएको छ । संस्थाले यस वर्ष अतिथि र खादामालारहित साधारणसभा सम्पन्न गरेको हो । सभाको उद्घाटन संस्थाका अध्यक्ष भोला नाथ पाठकले गरेका थिए ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पाठकले सहकारी ऐनले बचत तथा ऋण सहकारी संस्थालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न बन्देज गरेकाले जगेडा लगायतका अन्य कोषलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्न नपाएको धारणा राखे । हरेक नेपालीमा स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा देशव्यापी बनाउन सके मुलकबाट परनिर्भरता अन्त्य हुने उनको भनाइ थियो । यसका लागि कृषिजन्य तथा उपभोग्य वस्तुको उत्पादन बढाउन आवश्यक रहेको पाठकको भनाइ छ ।

२५ वटा संस्था मिलेर व्यवसाय गर्न त्यति सहज नभएको भन्दै उनले कोषको सामर्थ्य हेरी पाँच वटासम्म संस्थालाई व्यवसायिक कार्य गर्न सक्ने गरी सहजिकरण गर्न उअध्यक्ष पाठकले माग गरे । सहकारी, सदस्य र सरकारको सहभागिता रहनेगरी उत्पादनमा जान सके शहरको पुँजी गाँउसम्म पुग्ने र शहरमा नै रहेका सरकारी खाली जग्गामा पनि उत्पादन गर्न सकिने तर्क उनले दिए ।

पाँचताराले विगत २ वर्षदेखि सदस्यहरुलाई उद्यमशील बनाउन र संस्थागत रुपमा पनि उद्यमशीलता विकासको लागि उद्यम खाता सञ्चालनमा ल्याएको र उक्त खातामा ४५० सदस्यको सहभागिता रहेको पाठकले जानकारी दिए । उद्यमशीलताबाटै व्यक्ति र देशको आर्थिक अवस्था मजवुत बनाउन सकिने भएकाले सदस्यहरुलाई संस्थाबाट ऋण लिएर उद्यमी बन्न पाठकले आग्रह गरे । उनले सदस्यहरुलाई क्षणिक ब्याजको प्रलोभनमा परेर आफ्नो संस्थामा कारोबार नछोड्न आग्रह गर्दै उनले जुनसुकै संस्थामा कारोबार नगर्न पनि सुझाव दिए ।

साधारणसभामा जानकारी दिइएअनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म ८ करोड ११ लाख शेयरपुँजी, ५ करोड ८६ लाख साधारण जगेडा कोष र ५२ करोड ५३ लाख ७९ हजार बचत संकलन गरी ६५ करोड ५६ लाख २३ हजार ऋण लगानी गरेको छ । गत आ.व.मा खुद नाफा १ करोड २२ लाख २५ हजार गरेको छ । सभाले शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट समेत गरी सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । पाँचतारामा २११४ सदस्य आवद्ध रहेका छन् । संस्थामा आवद्ध कुल सदस्यमध्ये १५२० जनाले मासिक बचत गर्दै आएका छन् ।

सभामा पाँचताराका लेखा सुपरीवेक्षण समिति संयोजक सुशीला प्रसाईंले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७९∕८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ७५ वर्षमाथिका ज्येष्ठ सदस्यहरुलाई २ हजारका दरले दशैँ भत्ता उपलब्ध गराइएको थियो ।