- सुरेन्द्र सुवेदी, काठमाडौं
देशका ठूला हिमतालमध्ये १० वटा उच्च जोखिममा छन् । ती ताल जुनसुकै बेला फुट्न सक्ने भन्दै सजगता अपनाउन सरोकारवालाले आग्रह गर्दै आएका छन् ।
जोखिम उच्च रहेका २१ हिमताल छन् । तीमध्ये १० अति जोखिममा र बाँकी ११ जोखिममा छन् । पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबिए २) राष्ट्रिय कार्यक्रमका प्रमुख टोपबहादुर खत्रीका अनुसार सरोकारवाला निकायले समयमै ध्यान नदिए जोखिम उच्च देखिन्छ ।
आयोजना प्रमुख खत्रीका अनुसार मर्स्याङ्दीको मुहानको ठुलागी, दुधकोशी क्षेत्रमा रहेको लुिम्डङ चो, चाम्दाङ चो, मकालु क्षेत्रको तल्लो बरुण, हेङ्गू १ र २ समेतका हिमताल अति जोखिममा छन् । दोलखाको ४ हजार ८ सय मिटर उचाइमा रहेको च्छो रोल्पा र सोलुखम्बूको ५ हजार १० मिटर उचाइमा रहेको इम्जा ताललाई भने जोखिमबाट मुक्त गरिएको छ । तालको पानीको सतह घटाएर निकाश दिएपछि ती ताल अब जोखिममा छैनन् ।
सरकारले अति जोखिममा रहेका तीन वटा तालको पानी निकाश गर्दै सतह घटाउन अध्ययन गरिरहेको छ । जल तथा मौसम विज्ञान विभाग र युएनडिपी मिलेर तीन वटा तालको अध्ययन भइरहेको प्रमुख खत्रीले घटना र विचारलाई बताए । च्छो रोल्पा र इम्जाबाट पानीको सतह घटाएजस्तै अब तीन वटाको पनि त्यही सिकाइअनुसार क्यानलबाट पानी बाहिर निकाश गरेर जोखिम न्यूनिकरण गरिनेछ । योजना बनिरहेकोले कार्यान्वयन चरणमा आउन भने केही समय लाग्ने छ ।
देशमा १ हजार ४ सय ४० साना र ठूला हिमताल छन् । हिमताल आसपासका बस्तीमा रहेका बासिन्दा अधिक वर्षातको समयमा ताल फुट्ने भयले रातको समयमा पनि जागा बस्ने गर्छन् ।
प्रतिक्रिया