दशैँका लागि पोखरामा भित्रिए भेडाच्याङ्ग्रा

दशैँका लागि पोखरामा भित्रिए भेडाच्याङ्ग्रा

घ.वि. सम्वाददाता
0
Shares

कास्की, पोखरामा चाडपर्व लक्षित भेडाच्याङ्ग्रा भित्रिएका छन् । साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै रहेका छन् । नवदुर्गाको अघिल्लो दिनदेखि नै बझाङ, बाजुराका व्यापारीले बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ ।

शुक्रबार बझाङबाट भेडाच्याङ्ग्रा पोखरा ल्याउनुभएका व्यापारी राजेन्द्रबहादुर धामीले अरूले भन्दा पहिला ल्याए चाँडो बिक्री हुने बताउनुभयो । दसैँ लागेसँगै पोखरामा भेडाच्याङ्ग्राको माग बढ्न थाल्ने र नबिक्ने डर नहुने भएकाले छिटै ल्याएर बिक्रि गर्न थालेको बताउनुभयो । एक सय २७ च्याङ्ग्रा लिएर आउनुभएको उहाँले २० वटा बिक्री गरिसकेको बताउनुभयो ।

राजेन्द्रबहादुरले रू २५ हजारदेखि रू ४५ हजारसम्ममा च्याङ्ग्रा बेचिरहेको बताउनुभयो । रोजेर लैजानेहरुसँग रू ४५ हजारसम्म लिने गरेका उहाँले घाटा पर्छ कि भन्नेहरुका लागि जिउँदै जोखेर एक किलोको रू आठ सय ८० का दरले हिसाब गरेर बेचेको बताउनुभयो ।

अर्का व्यापारी सर्पलाल थापाले रोज्जा च्याङ्ग्राको मूल्य बढीमा रू ५७ हजारसम्म पर्ने बताउनुभयो । उहाँले आफूकोमा रू ३५ देखि रू ५७ हजारसम्मका च्याङ्ग्रा रहेका जानकारी दिनुभयो । गोठमा खरिद दर नै रू ५३ हजार परेकाले बेच्ने भाउ बढेको उहाँले बताउनुभयो ।

थापाले एक महिनाअघि देखि जम्मा भेडाच्याङ्ग्रा संकलन ,पालिकालाई कर र ट्रक भाडा लगायतको खर्च जोडेर आफ्नो आम्दानीको हिसाव गरेर बेच्ने गरेको बताउनुभयो । उहाँले ७२ वटा भेडाच्याङ्ग्रा पोखरासम्म ल्याउँदा ट्रक भाडा, ड्राइभरको खाना, खाजा, भत्ता तिर्दा तीन दिन तीन रातको रू एक लाख ५० हजार खर्च भएको बताउनुभयो ।

दसैँका बेला हिमाली भेगबाट झारिने भेडाच्याङ्ग्रा पछिल्लो समय भाउ बढ्न थालेको पोखरा महानगरपालिका–१ सिम्पनीका स्थानीय कृष्णप्रसाद भण्डारीले बताउनुभयो । सुरुमा ल्याउँदा महँगो भने पनि पछि सस्तो हुने उहाँको भनाइ थियो । विगतको सालमा पनि सुरुमा रू ४० देखि ५० हजार भन्नेगरेकोमा पछि रू १८ हजारसम्ममा किनेर लगेको उहाँले बताउनुभयो । यसपटक पनि सुरुमा ५७ हजारसम्म भनेकाले साह्रै महँगो भएको बताउनुभयो ।

दसैँमा धेरैले सिङ्गै घर लगेर काट्छन् भने सिङ्गै लैजान नसक्नेहरु मिलेर काटेर बाँड्छन् । केहीले फ्रेस हाउसबाट किनेर खान्छन् । दसैँमा च्याङ्ग्राको मासु खानुपर्छ भन्ने मानसिकता बसिसकेको बताउँदै कृष्णप्रसादले केहीले एउटा सिङ्गै लिएर जाने र कोहीले मिलेर लैजाने गरेको बताउनुभयो । पछिल्लो समयमा भेडाच्याङ्ग्राको भाउ बढेको भए पनि माग उस्तै रहेको उहाँको भनाइ थियो ।