विद्युतीय सवारी : एक रुपैयाँमा पाँच किलोमिटर यात्रा

विद्युतीय सवारी : एक रुपैयाँमा पाँच किलोमिटर यात्रा


  • सुरेन्द्र सुवेदी, काठमाडौं

पछिल्लो समय विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दो छ । मुख्यतः सवारी सञ्चालनमा लागत कम पर्ने भएकोले विद्युतीय मोटरसाइकल, स्कुटर र साइकलप्रति आकर्षण बढेको पाइन्छ ।

विद्युतीय साइकल १ रुपैयाँ खर्चमा १० किलोमिटरसम्म गुडाउन सकिन्छ । एक युनिट विद्युतबाट १० किलोमिटरसम्म यात्रा गर्न सकिने भएपछि युवायुवतीको आकर्षण बढेको हो । यस्तै, स्कुटरमा भने १ रुपैयाँ खर्चमा ५ किलोमिटरबढी यात्रा गर्न सकिने अनामनगरको क्लिन इनर्जीका सञ्चालक भरत पौडेलले बताए । पौडेलका अनुसार बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक बढेपछि विद्युतीय सवारीमा आकर्षण थप वृद्धि हुँदै गएको छ ।

नेपालमा चीन, भारत, अस्ट्रेलिया, अमेरिकादेखि विद्युतीय मोटरसाइकल, स्कुटर र साइकल भित्रने गरेका छन् । त्यसमा सबैभन्दा धेरै चीनबाट आयात हुन्छ ।

हाल देशमा करिव ५० वटा कम्पनीले विद्युतीय सवारी साधन बिक्री गर्दै आएका छन् । करिव १० हजारको संख्यामा स्कुटर र साइकलमात्र बिक्री भइसकेको क्लिन इनर्जीका पौडेलले घटना र विचारलाई बताए ।

दैनिकजसो १० देखि २० वटासम्म विद्युतीय स्कुटर र साइकल बिक्री हुने गरेको व्यापारीहरूको भनाइ छ । एक पटक चार्ज गरेपछि न्यूनतम ५० किलोमिटरदेखि १ सय किलोमिटरसम्म यात्रा गर्न सकिने भएकोले युवादेखि वृद्धसम्म यस्ता साधानप्रति मोहित भएका हुन् । घर, कार्यालय जहाँ पनि चार्ज गर्न सकिने भएकोले र मर्मत तथा सम्भारमा ठूलो खर्च नआउँदा उपभोक्ताहरु लोभिएका हुन् । स्कुटरमा एक किलोमिटर यात्रा गर्दा पेट्रोलको मूल्य ६ देखि ७ रुपैयाँ खर्च हुन्छ । यस हिसाबमा विद्युतीय सवारीमा सञ्चालन खर्च अधिक सस्तो हुन्छ ।