जङ्गी अड्डामा युएन डे शान्ति पदयात्रा

जङ्गी अड्डामा युएन डे शान्ति पदयात्रा


नेपाली सेनाले बुधबार (१ कात्तिक) सैनिक मुख्यालय जङ्गी अड्डामा शान्ति पदयात्रासहित विभिन्न कार्यक्रम गरी संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन-डे) मनाउँदैछ ।

राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोबर २४ भएकामा त्यस दिन यस पटक नेपालमा बडादशैँ पर्व परेकाले बुधबार नै ‘युएन-डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा ‘युएन डे’ विशेष कार्यक्रम आयोजना हुनेछ ।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने मुख्य उद्देश्यले संयुक्त राष्ट्रसङ्घको स्थापना भएको हो । राष्ट्रसङ्घका महासभा, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, आर्थिक तथा सामाजिक परिषद्, जिम्मा जमानी परिषद् र सचिवालय राष्ट्रसङ्घका अङ्ग हुन् ।

अन्तर्राष्ट्रिय श्रम, खाद्य तथा कृषि, विश्व स्वास्थ्य, हुलाक, नागरिक उड्डयन, जलवायु, बौद्धिक सम्पति, सामुद्रिक, कृषि विकास कोष, औद्योगिक विकास र पर्यटन सङ्गठनलगायतका उक्त विश्वसंस्थाका १५ वटा विशिष्टीकृत संस्था छन् । संयुक्त राष्ट्रसङ्घका ती संस्थाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलबायु र हुलाकका क्षेत्रमा सहयोेग पुऱ्याउँदै आएका छन् ।

नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो । नेपाल त्यस बेलादेखि नै संयुक्त राष्ट्रसङ्घका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदैआएको छ । राष्ट्रसङ्घको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता छ दशकभन्दा बढीको छ । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । सन् १९५८ मा लेवनानमा पाँच सैनिक पर्यवक्षकको तैनाथबाट सेनाको राष्ट्रसङ्घ शान्ति सहायता अभियानसँगको सहकार्य सुरु भएको हो । पहिलो नेपाली युनिट पुरानो गोरख गण सन् १९७४ मा इजिप्टमा तैनाथ भएको थियो ।

सेनाले इन्जिनियर, मेडिकल टोली र विशेष फौजको टुकडीजस्ता विशिष्ट क्षमताको फौज पठाएर राष्ट्रसङ्घको शान्ति कार्यमा महत्त्वपूर्ण योगदान दिइरहेको छ । नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसङ्घलगायतका निकायबाट उच्च प्रशंसा हुँदैआएको छ । शान्ति कार्यमा खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी लिँदै आएको छ ।

विश्व शान्ति स्थापना कार्यमा संलग्न हुने सिलसिलामा हालसम्म ७२ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने अन्य ६६ जना घाइते भएका छन् । शान्ति सैनिक खटाउने मुलुक सूचीमा नेपाल हाल दोस्रो ठूलो वरियतामा भएको राष्ट्र हो । हाल विश्वका १३ वटा मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय २६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल नेपालका एक सय ९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन् । त्यसमध्ये पाँच सय ८६ महिला शान्ति सैनिक रहेको प्रवक्ता भण्डारीले बताए ।

अघिल्लो वर्ष ‘युएन-डे’ का अवसरमा कात्तिक ५ गते विशेष कार्यक्रम तथा ६ गते ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि एकता’ विषयक गोष्ठी आयोजना गरिएको थियो ।

शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको विकास तथा नवीनतम प्रविधिको प्रयोग गर्ने उद्देश्यले राष्ट्रसङ्घ सचिवालय सहयोग परिचालन विभाग र सूचना तथा सचार प्रविधि कार्यालयद्वारा शान्ति स्थापना कार्यमा सहकार्य विषय यहाँ सङ्गोष्ठी गरियो । ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक सातौँ संस्करणको उक्त गोष्ठि गत जेठ ३० देखि असार १ गतेसम्म भएको थियो ।

वर्तमान विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरुप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्ने हेतुले नेपालले उक्त कार्यक्रम गरेको हो ।