बढ्यो सुनको माग : दैनिक २ हजार १५० तोला खपत

बढ्यो सुनको माग : दैनिक २ हजार १५० तोला खपत


  • सुरेन्द्र सुवेदी, काठमाडौं

मध्यदशैँ हुनलाग्दा सुनको खपत वृद्धि भएको छ । अहिले दैनिकजसो २५ किलो अर्थात् २ हजार १ सय ५० तोला सुन बिक्री हुनेगरेको छ । दशैंअघि सुन दैनिक १० किलो पनि खपत भएको थिएन ।

सुन व्यवसायीहरूको मागअनुसार सरकारले सुनको कोटा वृद्धि गरेर दैनिक पाउने १० किलोबाट बढाएर २० किलो पुऱ्याएको छ । पहिला बिक्री नभएको सुन अहिले धमाधम बिक्री हुन थालेको हो । यो क्रम तिहार र छठसम्म रहने सुन व्यवसायीहरूको विश्वास छ ।

हाल सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँहाराहारीमा किनबेच हुने गरेको छ । बजार मूल्यअनुसार उपभोक्ताले दैनिक २३ करोड रुपैयाँबढीको सुनमा लगानी गरिरहेको देखिन्छ । यो लगानी श्रृजनशीलतामा नभएकोले प्रतिफल भने पाइन्न । चाहेको समयमा बिक्री हुने यो धातु भर-अभरमा प्रयोगमा ल्याउन सकिने भएकोले नै उपभोक्ताहरूमा सुन जम्मा गरेर राख्ने प्रवृत्ति छ ।

सुनको कोटा वृद्धिसँगै अब यसको तस्करीमा केही कमी आउने आँकलन गरिएको छ । विगतमा दैनिक १० किलो उपलब्ध हुँदा माग बढी भएर तस्करी मौलाएको दाबी गर्नेहरूको संख्या ठूलो थियो । नेपालीका महान् पर्वहरू दशैँ, तिहार र छठ सकिएपछि सुनको माग घट्छ । त्यसपछि कोटामा प्राप्त २० किलो सुन खपत भइसक्दैन । सुन स्टक रहने अवस्था देखिन्छ । नेपाली बजारमा सुनको मौजाद रहँदा देशभित्र भने अवैध रूपमा किनबेच नहुनसक्छ ।

नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर भारततर्फ सुन तस्करी हुने गरिरहेको छ । नेपालमा तस्करी गर्दै भित्र्याएको सुन खुला सीमाका कारण निर्वाध रूपमा भारत पुर्याउन तस्करलाई सहज भइरहेको छ । खुला सीमा, गोजीमै राखेर पनि लान सकिने र चेक जाँच गर्ने सुरक्षाकर्मी दक्ष नहुँदा पनि सुन तस्करी मौलाएको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

पछिल्लो समय दोलखा र सिन्धुपाल्चोकका पहाडी जंगलहुँदै भरिया प्रयोग गरेर सुन नेपाल भित्रने गरेको छ । दोलखाबाट मात्र केहीअघि ११ किलो सुन बरामद भइसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय परिसरबाट बरामद भएको ६१ किलो सुन प्रकरणपछि तस्करहरूले रुट परिवर्तन गरेर दोलखा, रसुवा, सिन्चुपाल्चोक जिल्लाका खुला सीमाबाट सुन भित्र्याउने गरेका हुन् ।