हस्तकला मेला २०८० : ६० लाख कारोबार, साठी लाखबाट अवलोकन

हस्तकला मेला २०८० : ६० लाख कारोबार, साठी लाखबाट अवलोकन


नेपाल हस्तकला महासंघले २०औं हस्तकला मेलाको तयारी गरेको छ । राजधानीमा हुने मेला र हस्तकला प्रतियोगितामा ६० लाख रुपैयाँ कारोबार हुने प्रक्षेपण महासंघको छ । मेलामा १० लाख जनाले अवलोकन गर्ने महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताए ।

उद्योग मन्त्रालय, हस्तकला महासंघ, उद्योग वाणिज्य महासंघ, काठमाडौं, ललितपुर महानगरपालिकासमेतको सहभागितामा मेला आयोजना हुन लागेको हो । आगामी मंसिर ७ गतेदेखि ११ गतेसम्म अन्नपूर्ण होटलमा मेला र प्रतियोगिता आयोजना हुनेछ । मेलामा १ सय ५० स्टल रहनेछन् । धातु, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेशा, बाँसका सामानसमेत स्टलमा प्रदर्शन र बिक्रीका लागि राखिनेछन् ।

मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेशका हस्तकलाकर्मीहरु पनि सहभागी हुने भएका छन् । मेलामा पौमा र छ्वाली कलाको प्रतियोगिता हुनेछ । मेला संयोजक विक्रमसिंह महर्जनका अनुसार वार्षिक २४ अर्ब रुपैयाँ हस्तकलाका सामान बिक्री हुने गरिरहेकोमा यो मेलाले थप योगदान दिनेछ ।

हस्तकला भवन थापाथलीमा भएको पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्षहरु सनम शाक्य, नवीन शाक्यसमेतले करिव १ करोड रुपैयाँ खर्च हुने मेलाबाट स्टल भाडा, विभिन्न संघ र संस्थाको सहयोगमा खर्च व्यवस्थापन हुने जानकारी दिए । पुराना हस्तकलाका व्यवसायी, कालिगढदेखि उत्कृष्ठ हस्तकला व्यवसायीहरुलाई सम्मान गरिने कार्यक्रम छ ।

हाल हस्तकलाका सामान बिदेशमा १२ अर्ब रुपैयाँको निकाशी र नेपालमा पनि १२ अर्ब रुपैयाँको किनबेच भइरहेको छ । हस्तकलामा ११ लाख जना व्यवसायीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएको अध्यक्ष शाक्यको भनाइ छ ।

मेलाले हस्तकला क्षेत्रमा भएका सीप, कला र प्रविधिको जानकारी गराउने, स्वदेशमै युवाहरुलाई रोजगार बन्न उत्प्रेरणा दिने, बिदेशमा हस्तकलासम्वन्धी नयाँनयाँ प्रविधिको जानकारी लिन सकिनेजस्ता उपलब्धी हुने महासंघ जनाउँछ ।