भोटखोलाका ६४० जनालाई चीन प्रवेश अनुमतिपत्र

भोटखोलाका ६४० जनालाई चीन प्रवेश अनुमतिपत्र


चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्न संखुवासभाको भोटखोला गाउँपालिका र संखुवासभा जिल्ला प्रशासनले ६ सय ४० जनालाई सीमा प्रवेश अुनमतिपत्र वितरण गरेको छ ।

संखुवासभाको सीमावर्ति भोटखोला गाउँपालिकाको पहलमा स्थानीय १ र २ नम्बर वडाका बासिन्दालाई उपभोग्य सामान किनबेच गर्न तिब्बत प्रवेशका लागि परिचयपत्र उपलब्ध गराएको पालिका प्रमुख वाङछेदर लामाले बताए ।

भोटखोलाका किमाथांका, रिदाक, छुम्सुर, थुदाम, गुम्बा, लिङगम, च्याम्ताङ हटिया, हुङगुङसमेतका स्थानका बासिन्दाको उपभोग्य सामान किनबेच केन्द्र तिब्बतको डेन्दाङ र चाङगा बजार हो । किमाथांका नाकाबाट आवतजावत गर्नलाई सहज बनाउनको स्थानीय सरकारको हैसियतले गर्नु पर्ने सबै तयारी पूरा गरेको भोटखोला गाउँपालिका प्रमुखले बताए छन् ।

अब दशैैँपछि भोटखोला ३, ४ र ५ वडाका बासिन्दालाई पनि चीन प्रवेशको लागि प्रवेशपत्र वितरण गरिने पालिकाले जनाएको छ । चीन प्रवेश परिचयपत्र पाउने स्थानीयले चीनको ३० किलोमिटर क्षेत्रमा पुग्न पाउँछन् ।

भोटखोलाका बासिन्दा सदरमुकाम खाँदबारी आउन ७ दिनसम्म हिँड्नुपर्ने भएकोले उनीहरुको क्रयविक्रय केन्द्र चीनको डेन्दाङ र चाङ्गा नै हो ।