वाद, वाद-विवाद र अराजकतावाद

वाद, वाद-विवाद र अराजकतावाद


दोष हाम्रो हो । भाटा हान्नुपर्नेहरूलाई भोट हालेपछि हुने यस्तै हो । मान्छे काट्ने, सुन तस्कर गर्ने, मान्छे बेच्ने, धर्म बेच्नेहरूलाई सरकारमा पुऱ्याएपछि हुने दुर्दशा यही हो । यो देशमा सिस्टमले चलेको भनेको लुट मात्र हो । लुट्नको लागि उनीहरू जस्तो सुकै संविधान, नियम कानुन पनि बनाउन पछिपर्दैनन् ।
✍ दीपकराज जोशी

नेपाली राजनीतिको वृत्तचित्रमा अराजकतावादको निकै छलफल हुने गरेको छ । राजनीतिशास्त्रमा ४० वटा भन्दा बढी वादहरू छन् । संसारका विभिन्न मुलुकमा विभिन्न वादको आधारमा सरकार बनाउने प्रचलन छ । सबै वादको एउटैमात्र लक्ष्य देश र जनताको समृद्धि हो । तर परिवर्तनका परिवर्तन हुँदा पनि जनता किन सुखी हुँदैनन् ? देश किन समृद्ध हुँदैन ? यो भने सोचनीय विषय हो । अराजकतावादले व्यक्तिको कल्याणका साथै समाजमा बस्ने सबैको कल्याण र समान हितको पूर्ण ख्याल राख्नुपर्छ भन्ने सिद्धान्तमा विश्वास गर्दछ । मानिसमा डर, भोक र द्वन्द्वका तत्त्व नभएर प्रेम, सहानुभूति र स्वतन्त्रताका तत्त्व रहुन् भन्ने कुरामा विश्वास गर्छ ।

अराजकतावादीका अनुसार अहिलेको राजनैतिक व्यवस्थाले असल नागरिकलाई पापको बाटोमा ल्याएर अपराध गर्न सिकाउँछ र, त्यसपछि अपराधी भएको आरोपमा सजाय दिन्छ । अराजकतावादीको लक्ष्य भनेको वर्गवादी व्यवस्थालाई पूर्ण रूपमा नष्ट गरी साझा परिवारको (आश्रम) रूपमा जीवन बिताउने सहकारी समाजको स्थापना गर्नु हो । यस समाजका प्रत्येक सदस्य आपसी सद्भाव, सहयोग र प्रेमको सिद्धान्तमा बाँधिएर समाजमा एउटा व्यक्ति सबैका लागि र सबै एउटा व्यक्तिका लागि बाँच्नेछन् । यस समाजमा धर्म, वर्ण, लिङ्ग, सम्पत्ति र जातको आधारमा उच्च-नीचको भेदभाव रहने छैन र आजको समाजमा पाइने साना-ठुला पर्खालहरू सदाका लागि भत्कनेछन् । यस समाजमा वर्ग र व्यक्तिको अस्तित्व नहुनाले आपसी द्वन्द्व र सङ्घर्ष अन्त्य भएर स्वतन्त्रता, समानता र सहकार्यमा आधारित वर्गहीन र राज्यविहीन समाजको स्थापना हुनेछ ।

अब माथिको कुरा पढेपछि कुरा सुन्दा त अराजकवाद पनि राम्रो लाग्छ । वास्तवमा कुनै पनि वाद आफैँमा राम्रो वा नराम्रो हुँदैन । त्यसको प्रयोग कसरी र कस्तो व्यक्तिले गर्छ भन्नेमा भर पर्छ । नेताले देश चलायो भने आफ्नो पार्टी र गुटको भलाइ मात्र सोच्दछ । तर राजनेताले देश चलायो भने समग्र देश र आउने पुस्ताको बारेमा सोच्दछ । हाम्रो देशमा चाहिनेभन्दा बढी नाममात्रैका नेता भए तर राजनेता अहिलेसम्म भएनन् ।

वि.सं. २०४७ देखि वि.सं. २०८० सम्म मुलुकमा संसद् छलेर २७१ वटा अध्यादेश जारी भए । प्रजातान्त्रिक शासन व्यवस्थामा संसद् छलेर राजपाट चलाउने यो जालझेलमा ११ पटक त अध्यादेशमार्फत मुलुकको बजेट समेत आयो । अध्यादेशले देश चल्ने हो भने व्यवस्थापिका र कार्यपालिका किन चाहियो ? यो कस्तो दलीय व्यवस्था हो । २०४६ सालदेखि आजसम्म आइपुग्दा ३४ वर्षमा ३० जना प्रधानमन्त्री भए । नेपाली जनताले के पाए ? एकथरी बोल्न पाइयो भनेर घमण्ड गर्छन् । पेटमा लात मारेर अनावश्यक बोल्न पाउने प्रजातन्त्र किन चाहियो ? केका लागि ?अनि बोल्न पाउनु मात्रैले हाम्रो स्वतन्त्रता निर्धारण गर्छ ? यो अर्को एउटा गम्भीर प्रश्न हो ।

राजनीति लडाइँका विभिन्न कालखण्डमा खुकुरी हान्नुलाई कुनै नौलो कुरा मान्नु हुँदैन । इतिहासको कुनै कालखण्डमा नेपालमा खुकुरी दल नै थियो । सो समयमा भरत शमशेर, वेनीबहादुर कार्की, रणवीर सुब्बा आदिको नेतृत्वमा खुकुरी दल सुरु भएको थियो । पछि गएर सोही दल गोरखा दल बन्यो । त्यो दलले तत्कालीन गृहमन्त्री बीपी कोइरालालाई मार्ने षड्यन्त्र रचेर गृहमन्त्री निवासमा आक्रमण ग¥यो । जुन समयमा आफ्नै सुरक्षाका लागि बीपीले गोली चलाउँदा खुकुरी दलका दुई कार्यकर्ताको मृत्यु पनि भएको थियो । बीपी गृहमन्त्री हुँदा उक्त दललाई प्रतिबन्ध लगाइएको थियो । पछि गएर बीपी कोइरालाले गृहमन्त्रीबाट राजीनामा दिनुप¥यो । राजा महेन्द्रले ‘कु’ गरेपछि त्यो अराजक खुकुरी दल काङ्ग्रेसमा विलय भयो ।

राम्रो कामका लागि गैरकानुनी कामको पनि औचित्य हुन्छ भन्ने बीपीको नेतृत्वमा कुनै बेलाका खुकुरी दलका नेता भरत सम्शेरको आर्थिक सहयोगमा तीन पटक सशस्त्र सङ्घर्षमा उत्रिएका थिए   । उक्त आन्दोलनको क्रममा हरिपुर काण्डदेखि लिएर विराटनगर बमकाण्ड, बैंकको पैसा लिएर उडेको विमान अपहरण भएको थियो । हजारौँ नवयुवकहरूले आफ्नो प्राणको बाजी राखेर पञ्चायती व्यवस्थाको विरुद्ध सङ्घर्षमा उत्रिएका थिए । त्यसको झन्डै २३ वर्षपछि माओवादीले पनि सशस्त्र सङ्घर्षबाट सरकार परिवर्तन गर्नुपर्छ भनेर सङ्घर्ष सुरु गऱ्यो । सोही १०वर्षे जनयुद्धको समयमा थुप्रै घटना घटे । जस्तो कि अनाहकमा १७ हजार मान्छे मारिए । बैंक लुटिए । जनमानसमा आतङ्क फैलियो । तर यदि हामी बीपी कोइरालाले गरेको आन्दोलन जायज थियो भनेर स्वीकार गर्न सक्छौँ भने माओवादीले गरेको आन्दोलन जायज थिएन भनेर कुन मुखले भन्न सक्छौँ ? यो केवल राजनैतिक आडमा गरिने कटाक्ष मात्रै हो । नभए युद्धमा के भयो भनेर गिन्ती गर्नु मूर्खतासिवाय केही होइन ।

हुन त हामी सनातन धर्म मान्ने जनताको बाहुल्यता रहेको देशमा छौँ । जसमा धर्मले नै भन्छ कि मन वचन कर्मले कसैलाई पनि दुःख दिनु हुन्न । तर, दुःखको कुरा शास्त्रमा लेखिएको कुरालाई चटक्कै बिर्सिएर त्यही शास्त्रको धज्जी उडाउनेहरूको भिड छ । राणाकालमा आफ्नै भाइ भारदारलाई मारेर सत्तामा पुग्ने चलन हामीले इतिहासमा पढेकै हौँ । कोत पर्व, भण्डारखाल पर्व, नेपाली काङ्ग्रेसको सशस्त्र क्रान्ति, पञ्चायती व्यवस्थाको बर्बरपूर्ण स्थिति, माओवादीको सशस्त्र जनयुद्ध आदि सबै अराजकतावादमा आधारित आन्दोलन थिए । यस्ता आन्दोलन र क्रान्तिमा कहिलेकाहीँ निर्दोषहरूले पनि आफ्नो ज्यान गुमाउँछन् । मकैबारीमा पेष्टीसाइड, इन्सेक्टिसाइड छर्किएपछि मकैलाई नोक्सान नगर्ने किराहरू पनि मर्छन् । नमर्नको लागि अर्गानिक खेती गर्नुप¥यो । फेरि क्रान्ति अर्गानिक खेतीजस्तो पनि हुँदैन ।

हुन त यो नेपाललाई शान्तिक्षेत्र घोषित गर्नुपर्छ भन्ने राजा वीरेन्द्रको शाखा सन्तानलाई मारिएको देश हो । मदन भण्डारीलाई खोलामा खसाएर मारेको देश हो । शान्तिको पाठ पढाउने शिक्षक मुक्तिनाथ अधिकारी, भजन-कीर्तन गर्दै शान्तिको सन्देश छर्दै हिँड्ने चर्चित पुराणवाचक पण्डित नारायणप्रसाद पोखरेलहरूलाई मारेको देश हो यो । डिउटीमा बसेका प्रहरी, स-साना नाबालकलाई दिउँसै मार्ने रेशम चौधरीहरूलाई उन्मुक्ति दिने देश हो । यति विघ्न अराजकतालाई पचाउँदै आएको यो मुलुकमा हाम्रा मेयरसापको अभिव्यक्तिले यत्रो खैलाबैला किन ? अझै पनि मेयर बालेनको अभिव्यक्तिलाई अराजक भन्न किन लाज लाग्दैन यिनलाई ? यो शान्ति फैलाउने बुद्धको देश हो र पनि अशान्ति फैलाउने बुद्धि नभएका अराजकहरूले शासन गर्दै आएको देश हो । विश्वभरिमा अहिंसाको सन्देश फैलाउने बुद्धले आफ्नै देशमा पढाएको अहिंसाको पाठ यो देशका जनताले अनुसरण गर्न सकेनन् । इतिहास पल्टाएर हेर्ने हो भने हाम्रो देशले जहिले पनि अराजकवादमा विश्वास गरेको भेटिन्छ ।

अहिले भएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मन्त्री, प्रधानन्यायाधीश, सभामुख बस्ने निवास सबै पञ्चायती व्यवस्थामा बनेको हो । त्यो बेलामा यी सबै संरचना त्यसबेलाका शासकहरूले नबनाएको भए ललिता निवास जस्तै ती जग्गाहरू पनि नक्कली मोही बनाएर बेचेर खाने रहेछन् ।

बालेनको आक्रोश बालेनको मात्र नभएर समस्त राजनैतिक पार्टीबाट फाइदा नलिएका देशभक्त नागरिकहरूको हो । भलै ठाडो छ तर उनले प्रयोग गरेको शब्द समयसापेक्ष छ । उनले प्रयोग गरेका भाषालाई अराजक भन्नको लागि आफू सच्चिनुपर्छ । बालेनको यो राजनैतिक लडाइँ हो । राजनैतिक परिवर्तनको लागि कसैले ढुङ्गा उठाए, कसैले स्कुल जलाए, कसैले बन्दुक उठाए । बिचरा बालनले त केवल कलम उठाएका हुन् । उनले के भने भन्दा पनि ३३ वर्षको अराजक राजनीति र विकृतिको मारबाट थिचिएर आएको एउटा युवाले गरेको अभिव्यक्तिलाई विरोधको आवाजको अर्थमा लिइनुपर्छ । अहिले भइरहेको अराजक राजनीति र विकृतिको विरोधमा अझ साँच्चै भन्ने हो भने बालेनले त समानान्तर सरकार बनाउनुपर्छ । केन्द्रीय सरकार, प्रदेश सरकारलाईलाई चुनौती दिनुपर्छ । यसलाई नै जनताको सरकार भनिन्छ । यसो गरे मात्र अर्को क्रान्तिको सुरुवात हुनेछ ।

गगन थापाले केही दिनअगाडि अहिलेका गृहमन्त्रीलाई संसद् भवनभित्र ‘के काठमाडौँ हिँडडुल गर्न सुरक्षित छ ?’ भनेर प्रश्न गरेका थिए । अहिलेका युवा नेता गगन थापा कुनै बेला आफ्नै कलेजको मुटुको रोग लागेको प्राचार्यलाई फोन गरेर धम्काउनुपर्छ भनेर विद्यार्थीलाई पाठ सिकाउँथे । के त्यो बेला ती प्राचार्यलाई काठमाडौंमा खुल्ला हिँड्ने वातावरण थियो ? यो प्रश्नको उत्तर थापाजीलाई सोध्नुहोला । हाम्रो नेपाली राजनीति अर्काको आङमा जुम्रा देख्ने र आफ्नो आङमा भैँसी हिँडेको नदेख्ने सोचबाट ग्रसित छ । यो देशका मान्छे विदेश पलायन होइन यहाँ त बिस्तारै देश नै पलायन हुँदै छ । यो पलायनको मुख्य जिम्मेवारी ३४ वर्षको खराब राजनीति नै हो । राजनीति पनि विचित्रको हुन्छ आज कानुन र संविधानमा प्रतिबन्ध लगाइएका कुराहरू भोलि तिनै कुराहरू कानुन संविधानमा लेखिन्छन् । हिजोका अराजक कुराहरू आज कानुन बन्न पुग्छन् ।

अरू व्यवस्थामा जस्तै पञ्चायती व्यवस्थामामा पनि कमी-कमजोरीहरू थिए । पृथ्वीराजमार्गमा पर्ने मुग्लिङदेखि पोखरासम्मको ९० किलोमिटर बाटो तय गर्न आजकाल ६ घण्टाभन्दा बढी लाग्छ । एउटा गाडी बिग्रेर बाटो ५ घण्टा जाम हुँदा जाम खोल्न नसक्ने सरकारले तपाईंको भलाइ हुने काम गर्छ भनेर कसरी विश्वास गर्ने ? मेरो सरकारले यो ग¥यो त्यो ग¥यो भनेर यिनै निकम्माहरू देश विकास र समृद्धिको भाषण गर्दै हिँड्छन् । स्मरण रहोस्, यो पृथ्वी राजमार्ग २०२४ सालमा सुरु भएर २०३१ सालमा सम्पन्न भएको थियो । त्यस्तै महेन्द्र राजमार्ग २०२३ सालमा सुरु भएर २०२८ मा सम्पन्न भएको थियो । यसबाट नै प्रस्ट हुन्छ उनीहरूको दूरदर्शिता ?

दोष यिनीहरूको होइन दोष हाम्रो हो । भाटा हान्नुपर्नेहरूलाई भोट हालेपछि हुने यस्तै हो । मान्छे काट्ने, सुन तस्कर गर्ने, मान्छे बेच्ने, धर्म बेच्नेहरूलाई सरकारमा पुऱ्याएपछि हुने दुर्दशा यही हो । यो देशमा सिस्टमले चलेको भनेको लुट मात्र हो । लुट्नको लागि उनीहरू जस्तो सुकै संविधान, नियम कानुन पनि बनाउन पछिपर्दैनन् ।

बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि बनाउन दिँदैन भने जस्तै यी नालायकहरूले देश लुट्नको लागि छलफल गर्ने संसद् भवन पनि बनाएका छैनन् । स्मरण रहोस् अहिले भएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मन्त्री, प्रधानन्यायाधीश, सभामुख बस्ने निवास सबै पञ्चायती व्यवस्थामा बनेको हो । त्यो बेलामा यी सबै संरचना त्यसबेलाका शासकहरूले नबनाएको भए ललिता निवास जस्ता ती जग्गाहरू पनि नक्कली मोही बनाएर बेचेर खाने रहेछन् । २७ किलोमिटर लामो रिङरोड २०३० सालमा सुरु गरेर २०३४ सालमा नै सम्पन्न भएको थियो । संसारमै बिजुलीबाट चल्ने बस बिरलै भेटिन्थ्यो । २०३२ सालमा ट्रलीबस चलाइएको थियो । अहिलेको सरकार भन्दा त्यो बेला को सरकार को दूरदर्शिता कस्तो थियो भन्ने कुरा यसैबाट प्रस्ट हुन्छ । बाहिरी चक्रपथको १३ वर्षअघि डिपिआर तयार गरिएको थियो, तर अहिलेसम्म करोडौँ खर्च भए पनि काम अघि बढेको छैन । पञ्चायती व्यवस्था खराब भन्नेहरूले २०३४ सालयता रिङ रोड जस्तो अर्को ठुलो कुन चाहिँ प्रोजेक्ट गरे ?

फेरि देशले एउटा नयाँ सशस्त्र क्रान्ति खोजिरहेको छ । हुन त म हिंसामा विश्वास नगर्ने मान्छे हो तर आज यो समाजमा हिंसाबाट नै सही गन्तव्यमा पुग्न सकिने कुरामा म विश्वस्त भएको छु । यो कलियुगमा कलम भन्दा तरबार बलियो हुँदोरहेछ । हुन त प्रजातन्त्र लाई अहिलेसम्म सबै भन्दा राम्रो व्यवस्था मानिन्छ तर वास्तविक प्रजातन्त्र जहिले पनि असफल भएको छ किनकि यो मानव प्रकृति विरुद्ध छ । एक मानिसले अर्को मान्छे वा एक वर्गले अर्को वर्गले शासन गर्ने कुरा मानव प्रकृतिविरोधी हो । जहाँ एकले अर्कालाई नियन्त्रण गर्छ त्यहाँ सधैँ उत्पीडन हुन्छ ।

लोकतन्त्र पनि चुनावबाट उत्पादन भएको व्यवस्था हो । सबै व्यवस्थाहरू क्रान्तिबाट नै आउने गर्छन् । चाहे त्यो जङ्गलबाट प्रयोग गरिएको गोली होस् या सडकमा हानिएको गोली होस् । फरक यत्ति हो बन्दुक र गोलीको लड़ाईमा मान्छे मर्छन्, चुनाव पनि एउटा यस्तो द्वन्द्व हो जसमा तुरुन्तै हत्या भने हुँदैन तर कागजको गोली (मतपत्र) प्रयोग गरेर जनता लागि बिस्तारै मार्ने काम गरिन्छ ।

महेन्द्र यादवलाई खुकुरी हान्दा ३ हात ३ बित्ता बुर्लुक्क उफ्रेर संसदमा यो अराजक काम कहिले सम्म ? के हामी काठमान्डुमा घरबाहिर हिँडडुल गर्न नमिल्ने हो भन्दै घोक्रो सुकाएर कराउने गगन थापा र उनी जस्ता अरू छद्मभेषी युवा नेताहरूले २०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदाहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएको कुरामा चुइँक्क पनि कतै बोल्ने आँट गरेनन् । गरुन् पनि कसरी ? उनीहरूको घाँटीमा गणतन्त्रको गाँड झुन्डिएको छ ।

अर्कोतिर नेपाली नागरिकलाई गैरनागरिक बनाइ अमेरिका पठाउने काममा संलग्न भएका बालकृष्ण खाणलाई सजाय सुनाउने काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई रुकुमकोट जिल्ला अदालतमा सरुवा गरिएको छ (कुनै असामान्य कारण नपरी दुई वर्षभन्दा कम अवधिमा न्यायाधीशको सरुवा हुँदैन । अब उनले बालकृष्ण खाँड लगायतका व्यक्ति हरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएर सरकारको नजरमा असामान्य काम गरेपछि सरकारले उनलाई रुकुमकोट सरुवा गरेर पुरस्कृत गऱ्यो) । रातो पासपोर्ट चोरेर बेच्ने सांसद नै कानुनमन्त्री भएपछि, यो भन्दा ठुलो भद्दा मजाक अरू के नै हुनसक्छ मेरो देशमा ?

‘नश्यन्ती अनायका, विनश्यन्ती बहुनायक’ अर्थात् ‘नेता भएन भने पनि समाज नासिन्छ र धेरै नेता भए भने समाजले झन् विनाश भोग्नु पर्छ’ यो विनाश हुनुको मुख्य कारण नेताहरू आफूले अँगालेको वाद अनुसार नचल्नु नै हो । समाजलाई अगाडि बढाउन वा पछाडि धकेल्न सरकारको ठुलो हात हुन्छ । सरकार कुनै एउटा वादले चलेको हुन्छ । जब वाद सही ठाउँमा सही तरिकाले काम गर्दैन तब त्यसले वादविवाद निम्त्याउँछ । त्यही वादविवादले अराजकवाद निम्त्याउँछ । अहिले नेपालमा भएको यही हो ।