नशालु पदार्थ सेवन गराएर ठगी : एक अर्ब बढीको जग्गा रोक्का

नशालु पदार्थ सेवन गराएर ठगी : एक अर्ब बढीको जग्गा रोक्का


घटना र विचार, काठमाडौं

नशालु पदार्थ सेवन गराई लाखौँ रकम लेनदेनको झुटो कागज गराएर रकम असुल गर्न खोजेको एउटा गिरोहबाट पीडित बनेका एक व्यक्तिले न्यायको आशामा अदालत धाएको ९ वर्ष पुगेको छ ।

पीडितले जिल्लाहुँदै उच्च र सर्वोच्च अदालतमा धाएको ९ वर्ष बितिसक्दा पनि मुद्धाको टुङ्गो लाग्न सकेको छैन भने अदालत धाउँदाधाउँदै यतिका वर्षसम्म पनि विचाराधीन अवस्थामै मुद्धा थन्किदा हैरानी व्यहोर्नुका साथै न्याय पाउने आश मर्न थालेको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ११ का ४९ वर्षीय दीपक खत्रीले आफूमाथि जालसाजी भएको भन्दै २०७५ सालमा सर्वोच्च अदालतमा दायर गरेको मुद्धाको अझै किनारा लाग्न सकेको छैन । यही प्रकरणमा उनी २०७१ सालदेखि अदालत धाइरहेका छन् ।

काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट समेत आफूमाथि भएको जालसाजी सदर भएपछि आफू पीडित बनेको भन्दै सोही ठेगानामा बस्ने ५३ वर्षीया मायादेवी खत्रीको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका खत्री आफूले पाएको हैरानीमा अझैसम्म न्याय पाउने आशमा छन् ।
मायादेवीले आफूलाई साथीको कोठामा खाना खान बोलाएको र खानामा नशालु पद्धार्थ मिसाएर खुवाइ आफूलाई बेहोस तुल्याएको, अनि बेहोस भएको अवस्थामा कागजमा सहीछाप गराइ मोटो रकम आफूले लिएको भनी जालसाजी गरेर फसाएको आरोप उनले लगाएका छन् । मायादेवीले कीर्ते कागजमा सहीछाप गराउँदा यो गिरोहका आधा दर्जनबढी युवा रहेको पीडित खत्रीको भनाइ छ ।

आफूले उनबाट पाँच वर्षअगाडि नै घरको तला थप्ने भनी ३५ लाख लिएको भनी झुटो कागज गराएको आरोप उनको छ । आफ्नो घरको सबै लेनदेन व्यवहार बाबुले सम्हाल्ने भएकोले आफूले घरको तला थप्न वा कुनै पनि प्रयोजनका लागि ऋण सापटी लिनुपर्ने अवस्था नभएको खत्री बताउँछन् । आरोप लगाउने मायादेवीसँग त्यतिका रकम ऋण सापटी दिने हैसियतसमेत नभएको भन्ने जिकिर गर्दै आएका दीपकले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट मुद्धा हारेका छन् ।

यही एउटा कपाली तमसुकका भरमा उनले अदालती हैरानी मात्र खेप्नु परेको छैन उनको आफ्नो घरजग्गासमेत रोक्का भएको छ । आफ्नो जग्गाजमिन रोक्का हुनुका साथै, सामाजिक बदनामी तथा मानसिक पीडा परेका कारण सर्वोच्चको ढोका ढकढक्याएका दीपकले सर्वोच्च अदालतबाट आफ्नो मुद्धाको निस्सा पाए पनि पेशी तोकिने र स्थगित हुने बाहेक अरु केही उपलब्धि हासिल गर्न नसकेको गुनासो गरे ।