पूर्व श्री ५ ज्ञानेन्द्र शाहले कसैले कसैप्रति निषेध र निन्दा नगर्ने, सबैले सबैको आस्थाउपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनुपर्ने बताउनुभएको छ । विजया दशमीको अवसरमा समस्त नेपालीलाई शुभकामना सन्देश दिँदै उहाँले धर्ममा नम्रता हुनुपर्ने तथा अभाव र भेदभाव नेपालीपन नभएको औंल्याउनुभएको छ ।
बडादशैँको शुभकामना सन्देशमा पूर्व श्री ५ ले भन्नुभएको छ- ‘डेढ दशकयताका अवधिमा नेपाली उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एक तिहाई जनसंख्या देशबाहिर छ । विदेशिएका र देशमै रहे/बसेका दुवैथरीमा विछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन् । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ ।’
देश र जनतामाथि अब कुनै प्रकारको घात हुन नहुने भन्दै उहाँले श्री नवदुर्गा भवानीले हामी सबैलाई राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरुन् भन्ने कामना गर्नुभएको छ ।
यस्तो छ पूर्व श्री ५ को शुभकामना सन्देशको पूर्णपाठ-
प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,
नेपालीहरूको महान् राष्ट्रिय पर्व बडा दशैं हाम्रा घर आँगनमा आइपुगेको छ । ‘असत’माथि ‘सत्’को विजय दर्शाउने यो पर्वले हामीलाई सही, सत्य देवीशक्तिको सम्वद्र्धन गर्न प्रेरणा प्रदान गर्दछ । देश तथा विदेशमा रहे-बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना ब्यक्त गर्दछौँ ।
हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे-जुनभित्र रहेपनि अन्ततः हामी सबै नेपाली हौँ । यो साझा फुलबारीलाई सजाउनु, सिंगार्नु अनि यसको माली बनेर यो सुन्दर बगैंचाको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो ।
हामी सबै स्वतन्त्र सार्वभौम नेपाल राष्ट्रका होनहार सन्तति हौँ भन्ने हेक्का हामीमा रहनै पर्दछ । कसैले कसैप्रति निषेध र निन्दा नगर्ने, सबैले सबैको आस्थाउपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनै पर्दछ । धर्ममा नम्रता, संसारमा जस्तै महिमाको बाटो हो । अभाव र भेदभाव नेपालीपन होइन । सदभावविनाको राष्ट्र परिकल्पना पनि गर्न सकिँदैन ।
डेढ दशकयताका अवधिमा नेपाली उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एक तिहाई जनसंख्या देशबाहिर छ । विदेशिएका र देशमै रहे–बसेका दुवैथरीमा विछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन् । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ ।
लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गऱ्यो न सुधार आयो । हाम्रो देश झन्-झन् खराबीतिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, शहर, लेक, बेसी, कुना, कन्दरा सबैतिर सुनिन्छ ।
व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित छन् । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमंगका साथ चाडबाड मनाउन पाउनु त कता कता.. साँझबिहानको जीवनयापन पनि कष्टकर बन्दै गएको त छैन !?
जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्दछ । देश र जनतामाथि अब कुनै प्रकारको घात हुनु हुँदैन- हाम्रो यही चाहना हो ।
श्री नवदुर्गा भवानीले हामी सबैलाई राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरुन् । जय नेपाल ।
प्रतिक्रिया