झाँक्रीको झाँको र एनआरएनको रुवाइ !

झाँक्रीको झाँको र एनआरएनको रुवाइ !


के हामी साँच्चै नेपालप्रति आभारी र चिन्तित छौँ ? यो अति महत्वपूर्ण प्रश्न वा पक्ष हो । अपवादबाहेक एनआरएनहरू नितान्त व्यक्तिगत स्वार्थ पूरा गर्न (रहर/बाध्यताका अनेकौँ बहाना हुन सक्छन्) आफ्नो अनुकुल भएन भन्दै देशबाट पलायन भएकै हुन् । अब सम्बन्धित देशमा त्यहाँको नियम, कानुन, संविधान इमान्दारिपूर्वक पालन गर्नेछु भनेर ‘शपथ’ खाइसकेपछि फेरि दोहोरो नागरिकताको रोइलो आफैमा अनौठो लाग्छ ।
✍ शेखर ढुङ्गेल

‘एनआरएन’ले छातीमा हात राखेर स्विकार्नु पर्दछ कि हिजो यो देश, यो ब्यवस्था, यो वाद, यो दल, यो सरकार, यी नेता, यी आफन्त वा परिवार कोही पनि ‘आफ्नो अनुकुल नभएको’ मानसिकता बोकेर चप्पल ठटाउँदै देश छोडेकै हो । र, आज तिनै असफल नालायक नेता/दलको जुत्ता पालिस गर्न तिनै दल र नेतृत्वहरूको झुण्डहरूको दलीय झोला बोकेर दास झैँ ढोका-ढोका चहार्नु मुर्खता थियो/हो । त्यही कमजोरीको कारण कहिले पण्डित कहिले झाँक्रीहरूको आक्रोश/क्रोध निस्कने गर्छ । हो के सिक्यौ त एनआरएन अमेरिका बेलायत जापान आदि देश पुगेर ? त्यहाँ त कोही नेताको ढोका-ढोका र अफिसमा कुर्न/चाकडी गर्न जाँदैन त ? एनआरएनले नेता र दलिय दासत्वपूर्ण मानसिकता कहिले त्याग्ने र पण्डित झाँक्रीहरूको झापड खान छोड्ने ?

एनआरएनको यो २०वर्षे कालमा जब केही धनाढ्य एनआरएनहरूले झ्यालबाट नेतृत्व हडप्न दलीय आड खोज्ने मात्र नभइ नेताहरूलाई रकम समेत बुझाएर निर्वाचित हुने मनोविज्ञान विकास गरे दलका नेतालाई किनेर आफ्नो पक्षमा लबिङ गर्न/गराउन थाले । सन् २०१५ को निर्वाचनमा झ्यालबाट पसेर प्रचण्ड सुशील कोइराला शेरबहादुर र ओलीलाई ब्रिफकेस बुझाइ राजनैतिक लबिङ गरि प्रतिष्पर्धीमध्ये एकको खल्ती भरिदिएपछि नेतृत्व लिन सफल भएको दृष्टान्तलाई पछिका नेतृत्वले अनुशरण गरे र एनआरएनलाई दलहरूको चलखेल र दुहुनु गाई बनाउन नेतृत्व वर्ग प्रेरित भयो । त्यसपछि कसैले नेतृव लिन दलीय नेतृत्वलाई घर किन्दिए त कसैले निर्वाचनखर्च जुटाइदिएको समाचार सार्वजनिक भएकै हुन् । गत निर्वाचनमा पनि गगन थापा, रामकुमारी झाँक्रीलगायत दर्जनौँ कथित नेतृत्वहरूको साँझ-बिहान होटेलको कोत कोठामा दौडधुप रहेको कारण एनआरएनको भन्दा दलीय र दलभित्रको झुण्डको प्रतिष्ठा प्राथमिकतामा पर्न गयो र, लज्जास्पद रुपमा ३/३ अध्यक्ष बनाइयो, जुन आफैमा अपरिपक्वताको उदाहरण थियो ।

एनआरएनको कार्यक्रममा दलका नेताहरूको भिड लाग्न थाल्यो, तत्पश्चात दलीय सिन्डिकेट चलाएर र कब्जा गरेर दलको नेताको ढोका कुरेर, पैसा खर्च गरेरमात्र नेतृत्वमा पुग्न सकिन्छ भन्ने मान्यता वा विश्वास बलियो भयो । तब विश्वभर रहेका एनआरएनहरूमा जरैदेखि दल र झुण्डहरूमा विभक्त हुने रोग लाग्यो । सन् २०२१पछि दुई चिरा भएको यो संस्था अब कति टुक्रा हुने हो- हेर्दै जानुपर्छ । नेपालको राजनीतिजस्तै यो संस्थामा बढ्दै गएको विकृति र विसँगतिको चर्चा लामो हुन्छ, अहिलेलाई दोहोरो नागरिकताको प्रसङ्ग र झाँक्रीको आक्रोशित अभिव्यक्ति एवम् एनआरएनको रुवाइमा सीमित रहेर चर्चा गरौँ ।

पङ्क्तिकारले सुरुदेखि नै लेख्दै आएको छ कि एनआरआई (आप्रवासी भारतीय) र भारत सरकारको नीतिबाट पनि सिक्नुपर्ने हुन्छ । अर्थात्, १. राजनीति गर्न बन्देज, २. मतदान गर्न बन्देज, ३. सरकारी जागिर र भत्ता/सुविधाबाट बन्देज गरी पारदर्शिता अपनाएर भएको नागरिकताकै निरन्तरता हुनुपर्छ, जसले विदेशमा जन्मेका नेपाली पुस्ताले समेत नेपालसँगको औपचारिक वा प्राकृतिक सम्बन्ध र हैसियत निरन्तर राख्न सहायक हुनेछ । एनआरएन कार्डकै हैसियत राख्ने धार्मिक सांस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता नामको यो फरक प्रकारको कार्डले आप्रवासी नेपालीको आउने पुस्तालाई नेपालसँगको सम्बन्धबाट अलग्याउने छ । जसको कारण भविष्यमा नेपालभित्र नेपाली अल्पमतमा पर्ने छन् भने छिमेकी देशहरूका आप्रवासीको बाहुल्यता रहने छ । त्यसबेला देशको अस्तित्व जोखिममा पर्छ, काँध थाप्ने कसले ?

यस्तो प्रकारको नागरिकता नामको कार्ड वितरण गर्नुभन्दा अगाडि सरकारले यसको ब्यवहारिक तथा औचित्य पक्षको विश्वब्यापी प्रचलन वा मान्यता अध्ययन गर्नु पर्दैन ? उदाहरणको लागि आर्थिक अधिकार भन्नाले उद्योग ब्यवसाय आयात निर्यात रियलस्टेट आदि हुन सक्छ । नेपाली नागरिकसँग साझेदारी ब्यवसाय हुन सक्छ, तसर्थ अधिकार प्रयोग हुन दिनुभन्दा अगाडि सम्बन्धित दुई देश (नेपाल र एनआरएनको बसोबास भाको देश) दुवैतर्फ करको दायरामा ल्याउन तथ्याङ्क आदानप्रदान र पारदर्शिताको लागि करसम्बन्धी सम्झौता अनिवार्य हुनुपर्छ ।

नेपालले दोहोरो नागरिकता प्रदान गरे पनि यूरोपका दर्जनभन्दा बढी देश र जापानलगायत धेरै देशमा दोहोरो नागरिकताको प्रावधान नै छैन भने डेनमार्क, अस्ट्रिया, जर्मनीलगायत देशमा कति नेपाली छन् ? जुन देशमा नेपालको वा अर्को देशको नागरिकता नत्यागी त्यहाँको नागरिकता पाउन सकिन्न । ती देशको स्थायी बसोबास गर्ने नेपालीहरूले कसरी नेपालको दोहोरो नागरिकता लिने ? जर्मनीमा त त्यहीँ जन्मेको नागरिकले लगातार १० वर्ष देशबाहिर बसे त्यो देशको नागरिकतासमेत खारेज हुने कानुन छ । विश्वमा जम्मा ४९ देशले मात्र दोहोरो नागरिकतालाई मान्यता दिएको अवस्था छ, अन्य देशले किन दिएनन् ? अध्ययन खोइ ? मनन खोइ ? नेपालले भने यसको आर्थिक (कर) पाटोको सुनिश्चितता नगरी हचुवाको भरमा आर्थिक अधिकार दिने निर्णय गरेको छ । उदाहरणको लागि कुनै अमेरिकन राहदानी भएको आप्रवासी नेपालीले नेपालमा अर्बौको लगानी गर्छु भन्यो भने उसको अमेरिकामा कर तिरेको आम्दानीको सूचना र जानकारी सम्बन्धित नेपाली निकायले कसरी प्राप्त गर्न सक्छ ? अमेरिकासँग दोहोरो करसम्बन्धि सम्झौता भएको छैन, यस्तै नियम (सम्झौता) यूरोपेली देशसँग पनि हुनुपर्छ । हाम्रो बेइमानी प्रवृत्ति हेरौँ- भर्खरै मात्र अमेरिकन नेपालीले नेपालमा कुनै ब्यवसाय अर्बौंको लगानीमा किनेको खबर आयो । उनले भनेको अमेरिकन ब्यवसायिक कम्पनी सन् २०२२ को अन्तिममा मात्र दर्ता भएको देखिन्छ । त्यो कम्पनीले अर्बौं लगानी गर्ने हैसियत कसरी बनायो ? कुन बैंक वा वित्तीय संस्थामार्फत खरिद गरेको ब्यवसायको भुक्तानी भयो ? नेपाल सरकारको सम्बन्धित निकायले कसरी सूचना प्राप्त गर्न सक्छ ? बिना अमेरिकन सम्बन्धित संस्थाको आधिकारिक जानकारी ? अनि उसले नेपालमा आर्जन गरेकोमध्ये नेपाल र अमेरिकालाई समेत कर तिर्नुपर्छ त्यसको प्राविधिक पाटो खोइ ?

दोहोरो नागरिकता र राजनैतिक अधिकारको नकारात्मक पक्षको उदाहरणको लागि टाढा जानु पर्दैन, छिमेकी देश पाकिस्तानको अवस्था अध्ययन गर्नुपर्ने हुन्छ । पाकिस्तानले आप्रवासी पाकिस्तानीलाई दोहोरो मात्र होइन केही १५ देशको लागि तेस्रो राहदानी (नागरिकता) समेतको सुविधा दिएको छ जसको कारण भुट्टो नवाज सरिफलगायत लाखौँले भ्रष्टाचार गरेको सम्पति अर्को देशमा पलायन गर्ने र आफू पनि पलायन हुने गरेको देखिन्छ । स्मरण रहोस्, पाकिस्तान दक्षिण एसियामा एक नम्बर र विश्वमै अति भ्रष्टाचार हुने देशमध्ये माथिल्लो श्रेणीमा पर्छ । हाम्रो देश पनि पाकिस्तानभन्दा कम छैन भ्रष्टाचारको लागि, अनि नेपालमा पनि राजनैतिक अधिकारसहितको दोहोरो नागरिकता दिने हो भने नेताहरूले लुटेको कालो सम्पति सेतो बनाउने मात्र होइन सहजै लुटेको सम्पति बाहिरिने हुन्छ । यसै पनि अहिले नै केही एनआरएनहरू नेपालका नेता र प्रशासकहरूको कालो धन सेतो बनाउन दुरुपयोग भइ नै रहेका छन् । राज्य संयन्त्र असफल वा कोल्याप्स भएको जस्तो अवस्थामा एनआरएनको लगानीको नाममा संचालित ब्यवसायहरूको आधिकारिक स्रोत र मार्गदेखि बेखबर छन् । एनआरएनहरू दुरुपयोग भइराखेका वा सहभागी भएका सैयौँ उदाहरण छन् ।

हामी कति इमानदार छौँ ? के हामी साँच्चिकै नेपालप्रति आभारी र चिन्तित छौँ ? एनआरएनहरू कति पारदर्शी छन् ? यो अति महत्वपूर्ण प्रश्न वा पक्ष हो । अपवादबाहेक एनआरएनहरू नितान्त व्यक्तिगत स्वार्थ पूरा गर्न (रहर/बाध्यताका अनेकौँ बहाना हुन सक्छन्) आफ्नो अनुकुल भएन भन्दै देशबाट पलायन भएकै हुन् । अब सम्बन्धित देशमा त्यहाँको नियम, कानुन, संविधान इमान्दारिपूर्वक पालन गर्नेछु भनेर ‘शपथ’ खाइसकेपछि फेरि दोहोरो नागरिकताको रोइलो आफैमा अनौठो लाग्छ । स्मरण रहोस्, एनआरएनए संस्थामा अति न्यून संख्यामा मात्र आबद्धता छ र, जसको ठुलो हिस्सा नेपालका राजनैतिक दलका हिमायती तथा ढोके प्रवृत्तिका मात्र देखिन्छन् । संस्थाभित्र विकृतिको जड कारण पनि दलिय मनोविज्ञान नै हो ।

एनआरएनलाई गुणात्मक सुधार गरी नेपालमा बौद्धिक र अर्थ सम्पतिको लागि स्वागत गर्ने हो भने पुनः एक पटक २० वर्षपछाडि फर्कनुपर्छ, जुन बेलाको लक्ष्य/उद्देश्य विशुद्ध रूपमा पलायन भएका बौद्धिक सम्पतिलाई कसरी देशले सदुपयोग गर्ने भन्ने नै थियो । तसर्थ एनआरएनको विधान संशोधन गरि विदेशी राहदानी लिएकालाई मात्र एनआरएनको दर्जा दिने प्रावधान राख्नुपर्छ । सम्बन्धित देशको नेपाली दूतावासले अनिवार्य दर्ता गर्नुपर्ने नियम बनाइ विवरण संकलन गर्नुपर्छ । उसको आर्थिक सामाजिक हैसियतको पूर्वजानकारी सरकारलाई हुनुपर्छ । अनि मात्र गुणात्मक बौद्धिक एनआरएनको उपस्थिति हुन सक्छ ।

रामकुमारी झाँक्रीले आक्रोशपूर्ण तरिकाले आफ्नो शैक्षिक योग्यता बताइराख्दा ती प्रमाणपत्रहरूले उनलाई गिज्याइरहेको हेक्का उनले राख्न सकिनन् । पढेको बुझेको बौद्धिक व्यक्तित्व त हमेसा सभ्य, शालिन र नम्र पो हुन्छ । कठै ! उनको बौद्धिक हैसियत !! समाजसेवा होइन, त्याग होइन, काम होइन, ढुंगा हान्ने कला भएको नेताको स्तर यहाँ भन्दा माथि पुग्ने सम्भावना पनि छैन । अचम्म त के भने नेपालका दलहरू प्रवासमा भातृसंस्था खोल्न प्रेरित हुन्छन्/गर्छन् । दलहरूले प्रवाश हेर्न या सम्पर्क गर्न विभाग नै स्थापना गरेका छन् । नेताहरू विदेश आउँदा तिनै भाँडा माझ्ने ट्याक्सी चलाउनेकोमा सुत्छन्, उसकै खान्छन्, उसैसँग घुम्छन् र, तिनीहरूबाटै कोसेली बोकेर फर्कन्छन् । प्रवासका आफ्ना दले/झोले भाँडा माझ्ने, ट्याक्सी चलाउने आउँदा आफ्नो भान्सा र सुत्ने कोठासम्म स्वागत गर्छन् अनि फोटो खिचाउने गर्छन् । फेरि किन तेरो खुसीले गएको होस् के सिकिस् ? तलाईं यो-त्यो अधिकार दिन्छु/दिन्न पनि भन्नु ? हप्काउनु हेप्नु अपमान गर्नु ? कठै ! नरम, शालिन र सभ्य तरिकाले पनि त बोल्न सकिन्थ्यो ? अर्कोलाई के सिकिस् भन्दैगर्दा आफू उदाहरण बन्न सकेको भए बुद्धिमानी हुन्थ्यो । गम्भीर कुरो त के भने दल र प्रवास हेर्ने दल र दलीय झुण्डका नेताहरूले प्रवासमा रहेका हज्जारौँ त्यस्ता नेपालीको सम्पर्क र सूचनाभन्दा टाढा छन् जो चुपचाप मातृभूमि र प्रवासमा सक्दो र गहन सेवा पुऱ्याइरहेका छन् । प्रवासमा रहेको त्यो बौद्धिक व्यक्तित्वहरू एनआरएनमा राजनैतिक चलखेल बढेपछि टाढा भएका छन् र आउन पनि चाहन्नन् । एनआरएनको अधिवेशनमा बहुत न्यून प्रतिशत उपस्थिति (प्रनिधित्व ) जुन ७५ प्रतिशत मतदान गर्न मात्र हवाइजहाज होटेल र खानाखर्च समेत ब्यहोरेर ओसारिएकाहरू छन् ती दलिय सम्बन्ध/सम्पर्क भन्दा टाढाको कोही छैनन् । के उद्देश्यले जसरी पनि नेतृत्व कब्जा गर्ने या गराउने खेलमा एनआरएन र दलका नेतृत्व लाग्छन् ? रहस्यमय पनि छैन । सार्वजनिक भएको गोप्यता नै हो- सम्बन्धित दल र झुण्डको नेतृत्वले आर्थिक सहयोग र उपहार ग्रहण गर्ने ।

अवैध काम या कालो धन सेतो बनाउनेदेखि अदृश्य रुपमा एनआरएनको नाममा आयमुलक ब्यबसायमा लगानी गर्ने/गराउने र आफ्नो समुहको वा विश्वासको एनआरएन नेतृत्वलाई प्रयोग गर्ने र प्रवासमा पनि आफ्नो दल र झुण्डको सेवकहरूको प्रभाव बिस्तार गर्ने त्यसैले झाँक्रीहरूको अगाडि कुनै बौद्धिक र सक्षम एनआरएन थिएनन् बल्कि विभिन्न दलका कार्यकर्ता थिए । उनीहरूलाई हप्काउनु दप्काउनु झाँको झार्नु स्वाभाविक नै हो र, भाँडा माझ्ने, ट्याक्सी चलाउने भन्दामाथिको पेशामा लाखौँ (प्राध्यापक, डाक्टर, ब्यवसायी, वैज्ञानिकहरू विभिन्न देशमा सम्मानित र मर्यादित अवस्थामा पुगेर नेपालको प्रतिष्ठा बढाएका छन्) प्रवासी नेपाली रहेको पत्तो नहुनु झाँक्रीको गल्ती होइन, बरु ढोकामा कुर्न जानेहरूको घेरा तोड्न नसक्ने गरि उनीहरूलाई घेरेर राख्नेहरूको गल्ती हो । अब आउने मार्चमा एनआरएनको अर्को झुण्डको अधिवेशन हुँदैछ, फेरि रमाइलो देखिनेछ तर एनआरएनको गरिमा वा बर्चस्व भने स्खलित हुँदै अर्थहीन र झगडाको घरमात्र बन्ने निश्चित छ ।