आर्थिक मन्दीले जनतालाई सास्ती, जनप्रतिनिधि भन्नेहरूलाई मोजमस्ती !

आर्थिक मन्दीले जनतालाई सास्ती, जनप्रतिनिधि भन्नेहरूलाई मोजमस्ती !


राज्यबाट पाउने सेवासुविधाबाट एक रुपैयाँ पनि नलिने भनेर आश्वासन दिने यिनीहरू नै हुन् । तर, यिनीहरूले केचाहिँ छोडे ? तलब लिएका छन्, सरकारी गाडी चढेका छन्, घरभाडा बुझेका छन्, स्वकीय सचिव राखेका छन् । राज्यबाट पाउनुपर्ने सबै सेवासुविधा लिएका छन् । यिनीहरूलाई विदेशीबाट हात थापेर ल्याएको पैसाले सेवासुविधा लिन लाज लागेन !
✍ अनुशा थापा

दशैं नेपालीको महान् चाड । दशैं लाग्नेबित्तिकै अधिकांश आफ्नो थातथलो फर्किन्छन् । काठमाडौं उपत्यकाबाट मात्रै वर्षेनि २५ देखि २८ लाख सर्वसाधारण आफ्नो जन्मथलो फर्किने गरेका छन् । तर, यसपालिको दशैंमा यो संख्यामा कमी आएको छ । हालसम्म झण्डै १५ लाखले मात्रै उपत्यका छोडेका छन् । यो कुराले दुईटा संकेत गरेको छ । पहिलो- कतिपय महँगी, बेरोजगारीका कारण पहिल्यै गाउँ फर्किए । दोस्रो- कतिपय पैसा नभएपछि गाउँ नै गएनन् । काम गरेको ठाउँमा तलब नपाएकाहरू दशैं मान्न गाउँघर फर्किएनन् ।

अधिकांश निजी कार्यालयले यो वर्ष पेश्की कटौती गरेको छ । जसोतसो तलब दिएपनि पेश्की दिएनन् । कतिपय संस्थाले त तलब नै दिएनन् । आर्थिक मन्दीका कारण तलब र पेश्की दिन नसकेको भन्दै साहुहरू पन्छिएका छन् । अधिकांश कार्यालयले आर्थिक मन्दी भनेर पेश्की कटौती गरेको छर्लङ्ग छ ।

तलब र पेश्की नपाएकोहरूको दशैं खल्लो भएको छ । गाउँघर त जान पाएनन्, यहाँ बसेर पनि दशैं मान्न नसकेको अवस्था छ । न एकजोर लुगा किन्न सके न एक छाक मिठो मसिना नै खान पाए ! चाडबाड आए/नआएको केही फरक परेको छैन । सर्वसाधारण आर्थिक मन्दीबाट गुज्रिरहँदा जनप्रतिनिधिहरूले तलब पनि लिए, पेश्की पनि लिए । वडाध्यक्ष, मेयर, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिदेखि लिएर भूपूसम्मले तलब र पेश्की पाए ।

देशलाई मन्दीले गाँज्यो । जनता मन्दीमा छटपटिए । तर, राज्यसञ्चालक र सरकारी कर्मचारीहरूलाई मन्दीको असर परेन । आश्चर्य लाग्ने कुरा त के छ भने जसले कर तिर्छ, उसलाई मन्दीले असर पाऱ्यो । ऊ घर फर्किन सकेन । दशैं मनाउन उसले सकेको छैन । देशको सेवा गर्छु, सार्वजनिक काम गर्छु भन्नेले चाहिँ तलब र पेश्की दुवै पाए । राज्यको ढुकुटी रित्तिसकेको छ भन्ने कुरा सबैलाई थाहा छ ।

तैपनि, सरकारले तलब र पेश्की दियो, कसरी ? विदेशीसँग हात थापेर । अन्य मुलुकबाट ऋण ल्याएर सरकारले तलब र पेश्की दिएको हो । जनताको आवाज हुँ भनेर कराउँदै हिँड्ने सांसदहरू रवि लामिछाने र ज्ञानेन्द्र शाहीको पनि असली रुप बाहिर आएको छ । के-के गर्छ भनेर चितवन निर्वाचन क्षेत्र नम्बर २ का जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई चुनाव जिताए । शाही पनि जुम्लाबाट निर्वाचित भएर आए । चुनावको बेलामा यिनीहरूले जनताको दुःखमा साथ दिन्छौं भनेर ठूल्ठूला कुरा गरेका थिए । तर, अन्य राजनीतिक दलका नेता र यिनीहरूमा के नै फरक देखियो र ? सरकारी गाडी चढे, तलबभत्ता बुझे । दशैं पेश्की पनि लिए । जनताले दशैं मनाउन सकेका छन् कि छैनन्, यिनीहरूले फर्किएर हेरे ? अहँ.. हेरेनन् ।

जनतालाई झुक्काउने काम भएको छ । रास्वपाका २१ जना सांसदले अब जनतासँग माफी माग्नुपर्छ । नैतिकता छ भने पद त्याग्नुपर्छ । हिजो चुनावअघि बोलेका कुरा त पूरा गर्नुपऱ्यो नि । उनीहरूले भोट माग्ने बेलामा सरकारी सेवासुविधा लिँदैनौं, आफ्नो घरको खाएर जनताको सेवा गछौं, देशविदेश घुम्दैनौं, जनताको सुःखदुःखमा साथ दिन्छौं भन्ने त उनीहरू नै थिए ।

राज्यबाट पाउने सेवासुविधाबाट एक रुपैयाँ पनि नलिने भनेर आश्वासन दिने यिनीहरू नै हुन् । तर, यिनीहरूले केचाहिँ छोडे ? तलब लिएका छन्, सरकारी गाडी चढेका छन्, घरभाडा बुझेका छन्, स्वकीय सचिव राखेका छन् । राप्रपाका सांसदहरू राष्ट्रियताको ठूल्ठूला कुरा गर्छन् । १४ जना राप्रपाका सांसदले राज्यबाट पाउनुपर्ने सबै सेवासुविधा लिएका छन् । देशको महिमा गाउने यिनीहरूलाई विदेशीबाट हात थापेर ल्याएको पैसाले सेवासुविधा लिन लाज लागेन ?

मुलुक र जनताको नाममा खान आएकाहरूको असली रुप देखिहालियो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको मुखमा जतिबेला पनि देश र जनताको नाम झुण्डिराखेको हुन्छ । तर, उनलाई देश र जनताको कति माया रहेछ भन्ने त पुष्टि भइसकेको छ । देश धितो राखेर ल्याएको पैसाबाट उनले पनि सेवासुविधा लिएकै छन् । अनि यो ‘गोहीको आँशु झारेर’ जनतालाई कतिञ्जेल झुक्काउने ?

यिनीहरूले दिउँसै रात पारेर देश लुछेर खाएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि एक नम्बरका ‘ड्रयाम्याटिक’ नेता हुन् । आफूलाई त्यागी नेता देखाउनका लागि उनले केसम्म गरेनन् ? कहिले टेम्पो चढे त कहिले माइक्रोबसबाट लडे । कहिले एउटै कोठामा २१ वर्ष बसेको भनेर चर्चामा आए । उनको यो ‘स्टन्टबाजी’ पनि सांसद नभएसम्मका लागि रहेको भन्ने पुष्टि भइसकेको छ । उनले पनि राज्यबाट पाउनुपर्ने सबै सेवासुविधा लिएका छन् ।

नेमकिपाबाट सांसद प्रेम सुवाल जहिले पनि सदनमा उभिएर विरोध मात्रै गरिरहेका हुन्छन् । विरोध गर्नमा उनी अग्रसर छन् । त्यसैगरी विदेशीबाट ऋण ल्याएको पैसाबाट तलबभत्ता र सेवासुविधा लिँदिनँ भन्नलाई अग्रसर भइदिए हुनेथियो । सरकारबाट पाउनुपर्नेमध्ये एक रुपैयाँ पनि छोडेका होइनन् । मधेशी दलहरू पनि त्यस्तै । नागरिक उन्मुक्ति पार्टी पनि त्यही लिष्टमा जोडिन्छ । जुनसुकै पार्टीका सांसद हुन्, सबै एउटै ‘ड्याङका मुला’ हुन् । सबैको सिद्धान्त र विचार एउटै छ, ‘देशलाई लुटेर खाने ।’ देश सकियोस् तर तलबभत्ता र सेवासुविधाचाँहि पाउनुपऱ्यो ।

माओवादीको त झनै कुरै नगरौँ । खसीको टाउको देखाएर बाख्राको मासु बेच्यो भन्ने माओवादी नै हो । देश राजा, कांग्रेस र एमालेले सकायो । जनतामाथि शोषण गऱ्यो । देश विदेशीलाई बेच्यो भनेर हतियार उठाउने माओवादी पनि आज उही लिष्टमा समावेश भएको छ । देश र जनताका लागि के–के न गर्छौं भनेर माओवादीले १७ हजार नेपाली माऱ्यो ।

देशमा परिवर्तन खोज्ने माओवादीबाट जनताले के परिवर्तन पाए ? माओवादीका सांसद र अन्य पार्टीका सांसदमा के फरक छ ? अहिले मुलुकको प्रधानमन्त्री माओवादीका अध्यक्ष हुन् । उनले तलबभत्ता, सेवासुविधा र पेश्की त्याग्न सके ? माओवादीले जनताका लागि होइन, आफ्नो व्यक्तिगत स्वार्थका लागि हतियार उठाएको थियो । माओवादीको पछाडि लाग्दा जनता ‘बलिको बोका’ मात्रै भए ।

त्यत्रा नेपालीको रगत चुहाएर माओवादीले मोजमस्ती गरेको छ । एमालेमा कोचाहिँ राम्रो सिद्धान्त र विचार भएको नेता छ ? मदन भण्डारी र मनमोहन अधिकारी बितिहाले । पार्टीअध्यक्ष केपी शर्मा ओलीको कुरै नगरौँ । एमालेमा नेता होइन्, गुण्डाहरूको रजगज छ । एमालेमा नेताको विचारधारा भएको एउटा व्यक्ति पनि छैन । दलालीले चलाएको पार्टी कुन ? भनेर सोध्यो भने एमालेको नाम आउँछ ।

कांग्रेस त पहिल्यैदेखि धनाढ्यहरूको पार्टी । देश र जनताका लागि काम गर्ने कृष्णप्रसाद भट्टराई र प्रदीप गिरी गइहाले । अहिले कांग्रेसमा जनताको हितमा काम गर्ने र देश जोगाउने कोही पनि छैनन् । पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजुको इशारामा चलेका छन् । डा. शेखर कोइराला भन्नलाई कांग्रेस हुन् तर सत्ताको लागि एमालेको शरणमा पुगेका छन् । पदमा लोभिएकाहरूलाई देश र जनताको कुनै मतलब नै छैन ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल बैंकका पूर्व कर्मचारी हुन् । बैंकका कर्मचारीको स्वभावबाट सबै परिचित नै छन् । कहाँबाट नाफा हुन्छ ? कसरी ठगेर खान पाइन्छ भन्नेतिर बैंकका कर्मचारीहरूले दिमाग दौडाइरहेका हुन्छन् । अब उनीबाट त झन् के आश गर्नु ? देशमा यत्तिका सांसद छन् । सरकारलाई घच्घचाउनुपर्ने सांसदहरू आफैं लुटेर खान पल्केपछि कसरी देश उँभो लाग्छ ? २४ खर्ब विदेशी ऋण लागिसकेको छ । यस्तै पारा रह्यो भने नेपाली हौँ भन्न पनि नपाइएला ।